close

बिरामी आउन छाडेपछि प्रादेशिक आइसोलेसन सेन्टर बन्द 

बिरामी आउन छाडेपछि प्रादेशिक आइसोलेसन सेन्टर बन्द 

Trulli
ADVERTISEMENT

धनुषा - प्रदेश २ को प्रादेशिक आइसोलेसन सेन्टर बन्द भएको छ । आइसोलेसनमा बिरामी आउन छाडेपछि शनिबारदेखि बन्द गरिएको हो । नगराइन नगरपालिकाको गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान सेन्टरमा निर्माण भएको आइसोलेसन सेन्टर शनिबार खाली गरिएको हो । 


सेन्टरमा खटिएको नेपाली सेनाको टोली र स्वास्थ्यकर्मीको टिमसमेत हटाइएको छ ।

 

१४ चैतदेखि मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्रमा सुरु गरिएको क्वारेन्टाइन सेन्टर १७ जेठसम्म चलेको थियो । त्यसपछि १८ जेठदेखि १७ असारसम्म खाली राखिएको थियो । १८ असार १८ पछि क्वारेन्टाइन सेन्टरलाई आइसोलेसनमा परिणत गरिएको थियो ।


१८ भदौपछि कोरोनाका बिरामी आउन छाडेपछि आइसोलेसन सेन्टर बन्द गरिएको सेन्टरका संयोजक सन्तोष ठाकुरले जानकारी दिए ।

 

सेन्टरमा विवाद 

 

९ महिनाको भाडासमेत नदिएर आइसोलेसन सेन्टरमा रहेका सबै सामान सेना लगाएर लैजान खोजिएको र रोक्न खोज्दा कुटपिटको प्रयास गरिएको सञ्चालक सदस्यहरूले आरोप लगाएका छन् ।

 

आयुर्वेदसम्बन्धी उच्च शिक्षा दिँदै आएको मिथिला आयुर्वेद कलेजले कोरोना भाइरसको प्रकोप बढेपछि कलेजलाई बन्द गरेको थियो । सोही समय प्रदेश सरकारले प्रादेशिक क्वारेन्टाइन सेन्टर बनाउन कलेजले तिर्दै आएको भाडा तिर्ने सर्तमा सेन्टर निर्माण गरिएको कलेजका संस्थापक मनोज झाले बताए ।

 

झाका अनुसार क्वारेन्टाइन निर्माणपछि प्रादेशिक क्वारेन्टाइन सेन्टरका संयोजक सन्तोष ठाकुरको अगुवाइमा कलेजको फूलबारीमा लगाइएको बहुमूल्य आयुर्वेदिक जडीबुटीका रुख कटान गरिएको आरोप लगाएका छन् ।

 

कलेजका अर्का संस्थापक भूपनारायण झाका अनुसार कलेजमा भएको क्षतिपूर्ति तथा भाडाको हिसाबकिताबसमेत नगरी जबर्जस्ती आइसोलेसन सेन्टरमा राखिएका सामान लैजान खोज्दा रोकेपछि सेन्टरका संयोजक सन्तोष ठाकुरले हातपात गरेका छन् ।

 

सेन्टरका संयोजक ठाकुरले भने फूलबारीमा रहेका कुनै पनि आयुर्वेदका बिरुवा काटँछाँट नगरिएको दाबी गरे । ‘आइसोलेसन सेन्टरमा रहेको फूलबारीमा झाडी बढी भएपछि फूलका बिरुवालाई सञ्चालकसामु नै काँटछाँट गरिएको हो’, उनले भने ।


भाडा सम्बन्धमा आवश्यक प्रक्रिया पुर्‍याएर समाजिक विकास मन्त्रालयमा सम्पर्क गरिने उनले जानकारी दिए ।