close

अस्तव्यस्त सूर्यविनायकका सडक

अस्तव्यस्त सूर्यविनायकका सडक

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाका अधिकांश सडक अस्तव्यस्त भएका छन् । यहाँका सडकमा कतै ढल निकासको काम भइरहेको छ, कतै बाटो पिच र कतै ग्राभेल बिछ्याइँदै छ ।

 

सडकमा निर्माण सामग्री ढुंगा, बालुवासमेत जथाभावी राखिएको छ । कुनै सडक विस्तारमा स्थानीयको सहभागिता छ भने कतै टेन्डरमार्फत सडक विस्तारको काम भइरहेको छ । 

 

नगरपालिकाका योजना शाखाप्रमुख जनक न्यौपानेका अनुसार सानो बजेटबाट सञ्चालन गरिएको आयोजनामा उपभोक्ता समिति गठन गरी स्थानीयको सहभागितामा सडक विस्तार भएका छन् । ठूलो योजनामा टेन्डरमार्फत सडक विस्तार कार्य भइरहेको छ । 

 

‘गत आर्थिक वर्ष २०७६/७७ मा मात्रै ४.९ सडक कालोपत्रे गर्न सफल भएका थियौँ,’ न्यौपानेले भने, ‘उक्त वर्षमा २.१ किलोमिटर सडक ढलान, ११ किलोमिटर ढल बिछ्याउने, १९ किलोमिटर सडक ग्राभेलिङ, ५ वटा मोटरेबल पक्की पुल निर्माण र २ वटा टस पुल निर्माण गर्न नगरपालिका सफल भएको थियो ।’ 

 

उनका अनुसार यो वर्षमा सडक विस्तार कार्य भएका छन् । तर, कति सडक विस्तार भए, यकिन छैन । यो वर्षको कार्य आगामी प्रतिवेदनमा उल्लेख गरिनेछ । 

 

नगरपालिकाले सडक, ढल तथा पुल निर्माणका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट बजेट विनियोजन गरेको थियो । नगरले टोलस्तरीय, वडास्तरीय र नगरस्तरीय गरी तीन तहमा विभाजन गरी सडक विस्तार सुरु गरेको छ । 

 

सडक विस्तार भए पनि समयमा पूरा नहुँदा स्थानीयले हिउँदमा धुलो र बर्खामा हिलोको समस्या भोग्नु परेको गुनासो गरेका छन् । 

 

स्थानीय राम थापाका अनुसार स्थानीय सरकारले सडक विस्तार गरे पनि तत्कालै नबनाएकाले जनतालो दुःख भोग्नु परेको हो । उनले भने, ‘सडक बनाउन ६ महिनादेखि दुई वर्षसम्म लगाउँछन् । यसले गर्दा स्थानीयलाई समस्या भएको छ ।’