close

भूकम्प गएकाे ५ वर्षमा भक्तपुरका ४० प्रतिशत मात्र निजी आवास पुनर्निर्माण

भूकम्प गएकाे ५ वर्षमा भक्तपुरका ४० प्रतिशत मात्र निजी आवास पुनर्निर्माण

Trulli
ADVERTISEMENT

भक्तपुर - भक्तपुरको चाँगुनारायण नगरपालिकाका राम श्रेष्ठ (नाम परिवर्तन) ले ५ वटा वसन्त अस्थायी टहरामै बिताए ।२०७२ को विनाशकारी भूकम्पबाट उनको घर पूर्ण क्षति भयो । घर नभत्किए पनि चर्किएर बस्नै भएन । अहिले घरलाई गोठमा परिणत गराएका छन् । आफू बस्ने छानोलाई बाख्रा, कुखुरा अनि भैँसीको महल बनाएका छन् । 

 

चाँगुनारायणका ईश्वरी भण्डारीको जीवनचर्या पनि उस्तै छ । भूकम्प गएको ५ वर्ष बितिसक्यो । उनले पनि ओत लाग्ने ठाउँ बनाउन सकेका छैनन् । तीन तले घरलाई एक तलेमा परिणत गरी बाख्रा पाल्न योग्य बनाएका छन् ।

 

कहिले पैसा अभाव त कहिले आफ्नै समस्याका कारण घर बनाउन नसकेको गुनासो पोख्छन्, श्रेष्ठ । ‘भूकम्प गएको ५ वर्ष भइसक्यो । यो ५ वर्ष दाजुभाइको अंशबन्डा गर्नमै बित्यो,’ उनले भने, ‘भिन्दाभिन्दै भएका हामी २५ भाइ छौँ । ५ पुस्तासम्म हाम्रो कानुनी रूपमा अंशबन्डा भएको थिएन । सबै दाजुभाइलाई मिलाउँदै जग्गाधनीपूर्जा निकाल्नै ४ वर्ष लाग्यो ।’

 

दसैँपछि मात्र लालपूर्जा हात परे पनि फेरि दाजुभाइमा आन्तरिक किचलो सुरु भएकाले कहिले घर बनाउने हो, टुंगो नभएको उनले बताए । 

 

अरू ठाउँमा जग्गा भए पनि मोही तल्सिनको भएकाले घर बनाउन नमिलेको उनी बताउँछन् । उनले भने, ‘आफ्नो जग्गामा दाजुभाइको आन्तरिक किचलो छ । मोही तल्सिनको जग्गामा पनि मुद्दा परेको छ ।’ 

 

केही भाइले मात्रै घर बनाएका र केहीले भर्खरै सुरु गरेको उनले सुनाए । दाजुभाइको किचलोका कारण सरकारले दिने भनेको पैसासमेत पाउने÷नपाउने टुंगो नरहेको उनको भनाइ छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आगामी वैशाख मसान्तसम्म सम्पूर्ण पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीहरूले निजी आवास पुनर्निर्माण तेस्रो तथा अन्तिम किस्ता लिइसक्नुपर्नेछ । यसका लागि वैशाख मसान्तसम्म कम्तीमा छाना छाउनेसम्मको काम गरी सम्बन्धित स्थानीय तहमा निवेदन दिनुपर्नेछ ।


यसैगरी पहिलो किस्ताका लागि पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीले २०७७ मंसिर मसान्तसम्म अनुदान सम्झौता गर्ने र १५ पुससम्म पहिलो किस्ता रकम लिनुपर्नेछ । 

पहिलो किस्ता लिएका सबै पुनर्निर्माण लाभग्राहीहरूले निजी आवास बनाउन दोस्रो किस्ता रकम लिन २०७७ माघ मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । 

भक्तपुरमा हालसम्म पुनर्निर्माण लाभग्राही तर्फबाट ११ हजार ३ सय ७४ जनाले मात्र तेस्रो किस्ता पाएका छन्, जुन लाभग्राही संख्याको ४० प्रतिशत मात्र हो । यसैगरी प्रबलीकरण लाभग्राहीबाट ३ जनाले मात्रै दोस्रो किस्ता लिएका छन्, जुन प्रबलीकरण लाभग्राही संख्याको शून्य दशमलव ४४ प्रतिशत मात्र हो । 


राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ जिल्ला आयोजना भक्तपुरका अनुसार २०७२ को भूकम्पबाट २९ हजार २ सय ६३ घरधुरीमा पूर्ण रूपमा क्षति भएको थियो ।

 

तीमध्ये पुनर्निर्माण लाभग्राहीको संख्या २८ हजार ५ सय ८०, अनुदान सम्झौता संख्या २४ हजार ८ सय ८८ घर रहेका थिए । प्रथम किस्ता प्राप्त गर्ने २४ हजार ८ सय २८, दोस्रो किस्ता प्राप्त गर्ने ११ हजार ७ सय ९९, तेस्रो किस्ता प्राप्त गर्ने ११ हजार तीन सय ७४ थिए ।

 

प्राधिकरणको तथ्यांकअनुसार यहाँका चार पालिकामध्ये तेस्रो किस्ता लिनेको संख्या भक्तपुर नगरपालिकामा कम छ । यहाँ कुल लाभग्राही संख्यामध्ये २८ प्रतिशतले मात्र तेस्रो किस्ता लिएका छन् । 
 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ जिल्ला आयोजना भक्तपुरका सूचना व्यवस्थापन विशेषज्ञ भोजराज भट्टका अनुसार नगरभित्रका स्थानीयमा वैकल्पिक व्यवस्थापन भएकाले अनुदान लिनेको संख्या कम भएको हो । 

 

‘धेरैजसो जग्गाको विषयमा दाजुभाइबीच आन्तरिक किचलो छ । उनीहरूबीच जग्गाको समस्या छ,’ उनले भने, ‘नक्सा पास भई घर बनाएकामा पछि नक्सा पासको समस्या, आर्थिक अवस्था कमजोरले समेत धेरैले घर बनाउन सकेका छैनन् । उनीहरू पहिलेको घरलाई मर्मत गरी बस्दै आएका छन् ।’


भूमिहीन एवं जोखिमयुक्त बस्तीमा बसोबास गरेका लाभग्राहीले आफ्नो इच्छाअनुसार सुरक्षित स्थानमा बसोबास गर्ने चाहे सुरक्षित जग्गा खरिद निवेदन लिने, जग्गा खरिदका लागि अनुदान दिइने भए पनि यस किसिमका कुनै निवेदन नआएको विशेषज्ञ भट्ट सुनाउँछन् ।