close

हेल्लो प्राधिकरण ! अँध्यारोमा कहिलेसम्म राख्ने ?

हेल्लो प्राधिकरण ! अँध्यारोमा कहिलेसम्म राख्ने ?

Trulli
ADVERTISEMENT

जुम्ला - सिंजा गाउँपालिका- ६ जोडु गाउँकी शान्ता बुढा बालबच्चालाई पढाउनका लागि सदरमुकाम खलंगा आइन् । गाउँमा बिजुली नहुँदा बालबच्चालाई पठनपाठन गर्न सहज होस् भनेर उनी जुम्ला सदरमुकाम खलंगा आएकी हुन् । 


तर, यहाँ लामो समयदेखि बिजुलीको चर्को लोडसेडिङको मार खेप्नुपरेको उनले गुनासो गरिन् । ‘अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्र बिजुली आउँछ’, उनले भनिन्, ‘सहजताका लागि गाउँबाट शहर आइयो । यहाँ पनि यस्तै हालत छ । दियालोको भरमा रात काट्नुपरेको छ ।’ 


जुम्लाको सदरमुकाम खलङ्गा बजार अर्थात् चन्दननाथ नगरपालिकामा सातामा ९४ घण्टा लोडसेडिङ हुने गरेको छ । यहाँका नागरिकले चर्काे लोडसेडिङको मार खेप्दै आएका हुन् । घुघुत्ती साना जलविद्युत आयोजनाको दुवै मेसिनमा बिग्रेपछि चर्काे लोडसिडङको मार खेप्नुपरेको हो ।


नगरपालिकाबासी तीन सातादेखि अँध्यारोमा बस्न बाध्य छन् । यहाँका नागरिक अँध्यारोमा बस्न थालेको अहिले मात्र भने होइन । हप्ता, महिना हुँदै वर्ष दिनसम्म पनि अँध्यारो खेपिरहेका नागरिकलाई अहिलेको अँध्यारो नौलो लाग्न छाडिसकेको छ ।


घुघुती विद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलङ्गा बजारसहित सिंगो चन्दननाथ नगरपालिका तीन सातादेखि अन्धकार छ । वैकल्पिक व्यवस्थाका लागि ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा छ घण्टा मात्र चलाउने गरिएको छ ।


एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँको लगानीमा ३०० केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो । विद्युत गृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट संचालन हुन सकेन । त्यसयता खलङ्गा अन्धकार छ ।


२०४० सालमा घुघुत्तीमा उत्पादित विद्युत गृहको मेसिन जीर्ण भएपछि चार वर्षअघि तत्कालीन जिल्ला विकास समितिले भारतीय दूतावासको दुई करोड ६३ लाख ७७ हजार र थप तत्कालीन जिल्ला विकास समिति बाट थप रकम गरी तीन करोड नौ लाख रुपैयाँ बजेटबाट नयाँ मेसिन जडान भयो । डुप्लिकेट (नक्कली) नयाँ मेसिन जडान गरेको एक वर्ष नपुग्दै पटकपटक बिग्रिने गरेपछि यहाँका नागरिकले अँध्यारोमै बस्नुपरेको छ ।


दुईवटै टर्बाइन मेसिन बिग्रिएपछि विद्युत् आपूर्ति ठप्प भएको वितरण केन्द्रका निमित्त प्रमुख हेमन्त साहुले बताए । ‘एउटा मेसिनमा क्वाइल जलेर समस्या आएको छ’, उनले भने, ‘अर्कोमा बेरिङ भाँचिएको छ ।’ मेसिन मर्मतका लागि कार्य थालनी गरिएको छ ।


डिजेल प्लान्ट संचालनका लागि तेलको व्यवस्था नभएकाले प्राधिकरणसँग अनुरोध गरिएको निमित्त प्रमुख साहुले बताए । ‘मेसिन मर्मत हुन धेरै समय लाग्ने भएकाले तत्कालका लागि डिजेल प्लान्ट संचालन गर्न माग गरेका छौँ,’ उनले भने, ‘तर, अहिले दैनिक छ घण्टा मात्र डिजेल प्लान्ट संचालनमा छ ।’


नागरिक समाजमा अगुवा राजबहादुर महतका अनुसार ‘भारतीय कम्पनीले गुणस्तरहीन र नक्कली मेसिन जडान गरेपछि हामीले दुःख पाइरहेका छौँ । उनले भने, ‘एक त लोडसेडिङको चर्को मार छ, त्यसमा पनि महिनौँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ ।’ उनका अनुसार नयाँ मेसिन जडान भएपछि प्रत्येक महिना बिग्रिरहेको छ ।


बुधबार जिल्लामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले अवरुद्ध बिजुली आपूर्ति गर्नका लागि दैनिक छ घण्टाबाट १२ घण्टा डिजेल प्लान्ट संचालन गर्न विद्युत प्राधिकरण जुम्लासँग पहल गर्ने निर्णय भएको छ । त्यसैगरी जुम्ला ल्याउन लागिएको ३३ केभी मेसिन छिटो पुर्‍याउन ध्यानाकर्षण गराउने निर्णय भएको जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले बताए ।


जवानदीबाट पाँच किलोवाट बिजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन भइसकेको र आर्थिक वर्ष २०७२÷२०७३ मा सरकारको नीति तथा कार्यक्रममा परेको हो । तर, सरकारले कार्यान्वयन नगरपछि सर्वाेच्च अदालतमा रिट परेको पूर्वसांसद ललितजंग शाहीले बताए । 


उनले भने, ‘रिट परेपछि सर्वाेच्च अदालतले पाँच मेगावाट बिजुली उत्पादनको काम गर्नु÷गराउनू भनी परमादेशसहितको आदेश गर्दा पनि सरकारले कार्यान्वयन गरेन । यस विषयमा पनि ऊर्जा मन्त्रालय, विद्युत विकास विभागको गम्भीर ध्यानाकर्षण गराउने पनि बैठकमा निर्णय भएको छ ।’

 
कनका सुन्दरी गाउँपालिकाको मालिकाबोटाबाट गाउँपालिकाको मुकाम गोठीज्यूला बिजुली ल्याउनका लागि टेण्डर भएको लामो समयसम्म पनि काम थालनी नभएकाले तत्काल कार्यसंचालन गर्न विद्युत प्राधिकरण जुम्लालाई ध्यानाकर्षण गर्ने निर्णय भएको छ ।


यसैबीच विद्युत तथा संचार सेवा आपूर्ति संघर्ष समितिले नियमित २४ घण्टा बिजुली आपूर्ति गर्न माग गरेको छ । जुम्लाका लागि ११ केभी र ३३ केभी राष्ट्रिय प्रसारण लाइन सम्झौता अवधिभित्रै काम सम्पन्न गर्न विद्युत प्राधिकरण जुम्लाको ध्यानार्षण गरिएको समितिका संयोजक राजबहादुर महतले बताए । नगरपालिकाभित्र चार हजार २७१ घरधुरी र २० हजार ८८४ जनसंख्या छ ।


बिजुली नहुँदा संचार गृह प्रभावित


लामो समयदेखि बिजुली आपूर्ति नहुँदा यहाँका संचार गृह प्रभावित भएका छन् । खलङ्गामा संचालित संचार गृह रेडियो, छापा र सरकारी तथा गैरसरकारी कार्यालयका काम प्रभावित भएका हुन् ।

 
नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतका अनुसार तीन सातादेखि उपभोक्ता बिजुलीविहीन छन् । संचार गृह बन्द छन् । मोवाइलसमेत चार्ज गर्न नपाएर एकअर्कामा खबर आदानप्रदान बन्द भएको छ ।