close

नमोबुद्धले युवालाई सहुलियतपूर्ण कर्जा प्रवाह दिने

नमोबुद्धले युवालाई सहुलियतपूर्ण कर्जा प्रवाह दिने

Trulli
ADVERTISEMENT

काभ्रे - नमोबुद्ध नगपालिकाभित्र रहेका युवाहरूलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे अन्तर्क्रिया  सम्पन्न भएको छ ।


नमोबुद्ध नगर युवा परिषद्को आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरूसँग बुधबार अन्तर्क्रिया सम्पन्न भएको हो । नगरप्रमुख एवं नगर युवा परिषद्का अध्यक्ष टीपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाभित्र शाखा रहेका पाँचवटा बैंकका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो ।


कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाहरूको उद्यमशीलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन बैंकका शाखा प्रमुखहरूलाई आग्रह गरे । सहुलितयपूर्ण कर्जा प्रवाह र त्यसको उपयोगिताबारे अनुगमन गर्ने तथा युवाहरूलाई वित्तीय साक्षरता, उद्यमशीलता र सीप विकासका तालिमहरू युवा परिषद्मार्फत आयोजना गर्ने प्रतिवद्धता उनले जनाए । उनले उद्यमशीलता र सीप विकासका लागि बैंक तथा वित्तीय संस्थासँग साझेदारीका लागि नगरपालिका तयार रहेको उनको भनाइ थियो ।


कार्यक्रममा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालले सहुलियतपूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरूले कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाहलाई थप सहज बनाउने प्रतिवद्धता व्यक्त गर्दै अनुगमनका निम्ति नगरपालिकाको विशेष भूमिका रहने अपेक्षा व्यक्त गरे । 


यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सहुलियतपूर्ण कर्जा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक समन्वय गर्ने बताए ।


कार्यक्रमबाट नमोबुद्ध नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरूका लागि सहुलियतपूर्ण रूपमा कर्जा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन साझा कार्यविधि तयार पारी सबै बैंकले कार्यान्वयन गर्ने निर्णय भएको छ ।


नगर युवा परिषद्का सदस्यहरूको शपथ ग्रहण


नमोबुद्ध नगर युवा परिषद्मा मनोनीत सदस्यहरूको शपथ ग्रहण बुधबार सम्पन्न भएको छ । नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख एवं परिषद्का अध्यक्ष टीपी शर्मा तिमल्सिनाले परिषद्का सदस्यहरूलाई शपथ गराएका थिए । 


नमोबुद्ध नगर युवा परिषद्को कार्यविधिअनुसार विभिन्न क्षेत्रबाट परिषद्को सदस्यमा १३ जना मनोनीत भएका छन् । शपथ गराउँदै नगरप्रमुख तिमल्सिनाले युवाहरूसँग साझेदारी गर्दै समृद्ध नगर निर्माणको अभियानमा लागिरहेको र आगामी दिनमा पनि युवाहरूको सहकार्य र खबरदारी जरुरी रहेको बताए । 


नगर युवा परिषद्कै पहलमा नमोबुद्धमा केन्द्रीयस्तरको युथ इनोभेसेन सेन्टर निर्माणको काम सुरु भएको जानकारी दिँदै तिमल्सिनाले बेथिति अन्त्यका लागि युवाहरूको भूमिका महत्त्वपूर्ण रहने बताए ।


कार्यक्रममा नमोबुद्ध नगरपालिका- ५ का वडा अध्यक्ष बुद्धसिंह तामाङ, वडा- १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, वडा- ११ का वडा अध्यक्ष कृष्णवहादुर तामाङ, युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनाललगायतले युवाहरूको सशक्तीकरणमा नगरपालिकाले सधैँ सक्रिय भूमिका खेल्ने प्रतिवद्धतासहित परिषद्का सदस्यहरूलाई शुभकामना व्यक्त गरे ।


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल, शिक्षा शाखा प्रमुख जनार्दन रिजाल, नमुना युवा संसदका प्रधानमन्त्री सञ्जीव न्यौपानेलगायतको उपस्थिति थियो ।