close

जन्ती बिनै राम-सीता विवाह !

जन्ती बिनै राम-सीता विवाह !

Trulli
ADVERTISEMENT

धनुषा - प्रत्येक वर्ष मनाइँदै आएको रामजानकी विवाह महोत्सव यस वर्ष कोरोना संक्रमणका कारण भव्यतासाथ नमनाउने जानकी मन्दिर व्यवस्थापनले जानकारी दिएका छन् । 


नाम मात्रका लागि औपचारिकता निर्वाह गर्न विवाह पञ्चमी हुने मन्दिरका महन्थ राम तपेश्वरदास वैष्णवले बताए । यस पटक भारत वा अन्य कुनै अर्को मुलुकबाट अतिथि वा पहुनालाई आमन्त्रण पनि नगरिएको महन्थ दासले जानकारी दिए । 


मंसिर शुक्लपक्ष पञ्चमी तिथिका दिन जनकपुरधाममा लाखौँ तीर्थयात्रीको सहभागितामा मनाइँदै आएको विवाह पञ्चमी महोत्सव यस पटक परम्परा निर्वाह गर्ने किसिमले मात्र मनाइने भएको छ ।


सप्ताहव्यापी रूपमा २९ मंसिरदेखि ५ पुससम्म यस पटक पनि मनाउन लागेको विवाह पञ्चमी महोत्वस मूल समारोह समितिका अध्यक्ष एवं जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।


कोरोना महामारीका कारण सामान्य रूपमा मनाउने आयोजकले इच्छा जाहेर गरेकाले परम्परालाई निरन्तरता मात्र दिनका लागि स्थानीय प्रशासनले पनि आग्रह गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए ।


जानकी मन्दिरका महन्थ दासले कोरोना महामारी भएका कारणले सामान्य रूपमा नै मनाउने गरी तयारी थालेको जानकारी दिए ।

 

विगतका वर्षहरूमा भव्य रूपमा कार्यक्रम हुने गरेको थियो । भारतको अयोध्याबाट सयौँ साधु, सन्त र श्रद्धालुहरू जन्तीका रूपमा आउने गरेका थिए । तर, यसपटक भने जन्तीका लागि आमन्त्रण नै गरिएको छैन ।


कोरोनाका कारण जनकपुरधामको सबैभन्दा ठूलो धार्मिक तथा सांस्कृति महोत्सवको रूपमा रहेको रामजानकी विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतबाट तीर्थयात्री आउने सम्भावना छैन । नेपाल-भारतको अन्तर्राष्ट्रिय सीमानाका कोरोना महामारीका कारण बन्द रहेका छन् ।


परम्परालाई निर्वाह गर्नका लागि मात्र २९ मंसिरमा नगर दर्शन, ३० गते फूलबारी लीला, १ पुसमा धनुषयज्ञ, २ गते स्वयंवर, ३ गते तिलकोत्सव एवं मटकोर, ४ गते विवाहोत्सव र ५ गते रामकलेवा गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए ।


यता, विवाह पञ्चमी महोत्सवमा भीडभाड हुन नदिनका लागि सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाउने गरी तयारी गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले जानकारी दिए ।