close

यसरी बन्दै छ देशकै लामो चक्रपथ !

यसरी बन्दै छ देशकै लामो चक्रपथ !

Trulli
ADVERTISEMENT

रूपन्देही- सैनामैनामा नेपालकै सबैभन्दा लामो ५४ किलोमिटर चक्रपथ आयोजनाको कार्य धमाधम हुँदै छ । 


सैनामैना नगरपालिकाकोे वडा नं. १ देखि ११ सम्म मुख्य राजमार्गदेखि करिव २० किलोमिटर उत्तरतर्फ र दक्षिणतर्फ सात किलोमिटर चक्रपथको मंगलबार बिहान स्थलगत निरीक्षण गर्दै संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले सैनामैना चक्रपथको आयोजना निर्माणका लागि सरकारले बजेटको प्रबन्ध मिलाउने प्रतिबद्धता व्यक्त गरे ।


उनले भने, ‘संघीय सरकार र प्रदेश सरकारबीच छलफल गरी बजेटको प्रबन्ध मिलाउँछौँ । बजेटको पाटोमा तपाईंहरू चिन्ता कम गर्नुस् । कार्यान्वयनको पाटोमा ध्यान दिनुस् र तोकिएको समयमा आयोजना सम्पन्न गर्ने किसिमले काम गर्नुस् ।’ 

 

सैनामैना चक्रपथ नगरको शहरीकरणका निम्ति र आमनागरिकलाई यातायात सुविधा पुर्‍याउनका लागि एउटा अत्यन्तै महत्त्वपूर्ण विकासको आयोजनाको रूपमा रहेको मन्त्री पौडेलले बताए । मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयको भूमिका र जागरुकता आवश्यक रहेको उल्लेख गरे ।

 
स्थलगत निरीक्षणका क्रममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेशसभा सदस्य भूमिश्वर ढकाल, कमला विश्वकर्मा, सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्की, उपप्रमुख बिना राना, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलगायत सहभागी थिए । नगरप्रमुख कार्कीले अर्थमन्त्री पौडेललाई सैनामैना चक्रपथका विषयमा विस्तृत जानकारी गराएका थिए । 

 

कुल ५७ करोड १२ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ । नगरपालिकाको वडा नं.- ११ मा पर्ने क्षेत्रको चक्रपथ सडकको दुई किलोमिटर सडक कालोपत्रे भएको छ । सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र १३० वटा कल्भर्ट र आठपुल निर्माण हुनेछन् ।


यसमा सुखौरा पुल, तुल्बुलिया पुल, कञ्चन खोला पुल र पहिला खोल पुल, प्रदेश सरकारबाट बजेट विनियोजन गरेर ४४ करोड ५० लाख रुपैयाँको ठेक्का प्रक्रिया भएर सम्झौताको क्रममा रहेका छन् । त्यस्तै, इंगुरिया खोला, घमाह खोला र सुकौली खोला अध्ययनको सिलसिलामा छन् । बन्द्रा खोला क र ख अवस्थामा रहेको हुँदा थप अध्ययन गरिँदै छ । 


१७ जेठ २०७४ मा ठेक्का सम्झौता भएको उक्त चक्रपथ सडकको ७ मंसिर २०७८ सम्ममा पूरा हुने लक्ष्य लिइएको छ ।