close

सेवाग्राहीका लागि चिया, पढ्न नसक्नेका लागि ध्वनिसहितको बडापत्र

सेवाग्राहीका लागि चिया, पढ्न नसक्नेका लागि ध्वनिसहितको बडापत्र

Trulli
ADVERTISEMENT

काभ्रे- नमोबुद्ध नगरपालिकामा सेवाग्राहीलाई लक्षित गर्दै ई-पेमेन्ट सेवा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख टीपी शर्मा तिमल्सिनाले ई-पेमेन्ट सेवाको सुरुवात गरेका हुन् ।


तिमल्सिनाले नगरपालिकाको राजस्व डिजिटल प्रणालीमार्फत भुक्तानी गरी ई-पेमेन्ट सेवा सुरु गरेका हुन् । अब सेवाग्राहीले घरमै बसी ई-सेवा तथा खल्ती एप प्रयोग गरेर राजस्व बुझाउन सकिने नगरप्रमुख तिमल्सिनाले बताए ।


यो सेवा सुरु भएसँगै नगरवासीले सम्पत्ति कर, घर वहाल करलगायतका कर एवं राजस्व तिर्नका लागि नगरपालिकासम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।


बुधबार नै वडा कार्यालयबाटै अनलाइनमार्फत राजस्व तिर्न सक्ने सेवा पनि सुरुवात गरिएको छ । नगरप्रमुख तिमल्सिनाले वडा नं.- ४ का वडा अध्यक्ष उद्धवप्रसाद काफ्लेलाई राजस्व रसिद हस्तान्तरण गर्दै सेवा सुरुवात गरे । अहिले वडा नं.- ४ बाट सुरु भएको यो सेवा क्रमशः ११ वटै वडामा पुर्‍याउने लक्ष्य राखिएको छ ।


नमोबुद्ध नगरपालिकाले नगरपालिकामा विविध कामले आउने सेवाग्राहीलाई चिया एवं तातोपानीको व्यवस्थासमेत गरेको छ । बुधबार नै नगरप्रमुख तिमल्सिनाले यो सेवाको समेत सुरुवात गरेका छन् ।


यसैगरी नगरपालिकामा महिला कर्मचारी एवं महिला सेवाग्राहीको सुविधाका लागि अटोमेटिक स्यानिटरी प्याड डिस्पेन्सरको समेत सुरुवात गरिएको छ । यो सेवाको सुरुवात बुधबार नै नगर उपप्रमुख रामदेवी तामाङले गरेकी छन् । नगरपालिका कार्यालयलाई थप महिलामैत्री बनाउने उद्देश्यसहित यो सेवाको सुरुवात गरिएको नगरपालिकाले जनाएको छ ।


यसैगरी नमोबुद्ध नगरपालिकाले बुधबारबाटै ध्वनिसहितको बडापत्रको पनि व्यवस्था गरेको छ । अब कार्यालय सुरु हुनेबेला राष्ट्रिय गान र नगरगानपछि कर्मचारी कार्यालय प्रवेश गर्नेछन् भने त्यसपछि बडापत्र पढ्न नसक्ने सेवाग्राहीलाई लक्षित गर्दै ध्वनिसहितको बडापत्र प्रसारण गर्ने व्यवस्था गरिएको छ ।


नेपाली भाषाका साथै तामाङ भाषामा पनि ध्वनिसहितको बडापत्रको व्यवस्था गरिएको छ । यसैगरी नगरपालिका परिसरमा बुधबारबाटै फ्रि वाईफाईको व्यवस्थासमेत गरिएको छ ।


बुधबार नगरपालिकामा आयोजित ई-पेमेन्टलगायतका सेवा सुरुवात कार्यक्रममा नगरप्रमुख तिमल्सिनाले डिजिटल नमोबुद्धको अवधारणालाई साकार पार्ने उद्देश्यसहित यो कार्यक्रमको थालनी गरिएको बताए । उनले भाडामा रहेको नगरपालिका कार्यालयलाई १४ महिनाभित्रै निर्माण गरेर आफ्नै भवनमा सारिएको, कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको, सबै वडा कार्यालयहरू निर्माणको कार्य तीब्र रूपमा अघि बढेको, सबै वडामा स्वास्थ्य संस्थाका भवन निर्माण गरिएको तथा नगरभित्रै उच्चशिक्षामा प्राविधिक शिक्षाको व्यवस्थापन गरिएको पनि बताए ।

 
यस्तै, उपप्रमुख तामाङले जनताको सेवा, सुविधाका लागि नगरपालिका प्रतिवद्ध रहेको भन्दै सोहीअनुसार भौतिक पूर्वाधार निर्माणका साथै प्रविधिको उच्चतम प्रयोग गर्न लागिएको बताइन् । उनले कर तिर्नका लागि सहज अवस्था बनाइएको भन्दै जनताको करबाट जनताकै सेवा गर्ने पनि जनाइन् । उनले कर तिर्नु जनताको दायित्व भएको भन्दै त्यसको सदुपयोग गर्नु जनप्रतिनिधि र कर्मचारीको कर्तव्य भएको बताइन् ।

 
यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सेवाग्राहीको सुविधाका लागि अधिकतम रूपमा नयाँ प्रविधिको उपयोग गर्न थालिएको बताए । अहिले यसको सुरुवात मात्र भएको भन्दै उनले आगामी दिनमा यसलाई थप परिस्कृत र निरन्तरता दिने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले अनलाइनमार्फत राजस्व तिर्न सक्ने व्यवस्था गर्नु राम्रो भए पनि आमजनताको पहुँचमा यसलाई पु¥याउनु चुनौतीपूर्ण रहेको बताए । उनले आमजनताको पहुँचमा इन्टरनेट सेवा पु¥याउन, अनलाइन सेवाको फाइदाबारे बुझाउन नगरपालिकालाई आग्रह पनि गरे ।


नगरप्रमुख तिमल्सिनाले आफूले उच्चशिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका दुई जना विद्यार्थीका लागि छात्रवृत्ति रकमसमेत प्रदान गरे । उनले नमोबुद्ध- ४ मा रहेको जनक उच्चमाविमा कक्षा १२ मा पढिरहेका शिवराज चिमौरिया र दिपेश गौतमका लागि छात्रवृत्तिबापतको चेक हस्तान्तरण गरेका हुन् ।


अघिल्लो वर्ष दुई जना विद्यार्थीका लागि कक्षा ११ मा पढ्न लाग्ने खर्च ६५ हजार रुपैयाँ प्रदान गरेका तिमल्सिनाले बुधबार थप ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । नगरप्रमुख तिमल्सिनाले हालसम्म सात जना बालबालिकाको शिक्षाका लागि अभिभावकत्व ग्रहण गरेका छन् । उनले आफ्नो व्यक्तिगत रकमबाट ती बालबालिकाको शिक्षाका लागि सहयोग गर्दै आएका छन् ।