close

 ३ वर्षपछि बल्ल बन्यो नगरपालिकाको भवन

 ३ वर्षपछि बल्ल बन्यो नगरपालिकाको भवन

Trulli
ADVERTISEMENT

खोटाङ- स्थानीय तह कार्यान्वयनमा आएको तीन वर्षपछि खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बल्ल आफ्नै भवन निर्माण गरेको छ । हालसम्म दिक्तेल बजारमा भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको नगरपालिकाले जिल्ला प्रशासन कार्यालयको जग्गामा चार तल्ले भवन निर्माण गरेको हो ।

 

नगरपालिका र संघीय मामिला मन्त्रालयको गरी ८९ लाख ६१ हजार रुपैयाँमा निर्माण गरिएको सभाहलसहितको भवन बिहीबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका हुन् । नगरपालिकाले आफ्नो नवनिर्मित भवनबाट सेवा सुरु गरेको छ । तत्कालीन जिल्ला प्राविधिक कार्यालयको निर्माणाधीन भवनलाई नै नगरपालिकाले कार्यालय बनाएको हो ।

 

१९ कोठे भवन नगरपालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत लगानीमा निर्माण गरिएको हो । भवन निर्माण भइरहेका बेला राज्य पुनर्संरचनाका क्रममा प्राविधिक कार्यालय हटेपछि नगरपालिकाले सोही भवनलाई आफ्नो कार्यालयका रूपमा निर्माण गर्न अनुमति पाएको हो ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश १ सरकार, नगरसभा र कार्यपालिकाको निर्णय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिबाट भोगचलनको अधिकार प्राप्त भएपछि प्रशासनको जग्गामा भवन निर्माण गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए । 

 

निर्माण कम्पनी शिवखिम्ती कन्स्ट्रक्सन प्रालिले सम्झौता मितिभन्दा दुई महिनाअगावै भवन निर्माण गरेर नगरपालिकालाई भवन हस्तान्तरण गरेको हो । आफ्नो भवन नहुँदा नगरपालिकाले वार्षिक १६ लाख ८५ हजार रुपैयाँ भाडामै खर्च गर्दै आएको थियो । ‘नयाँ भवनबाट स्वास्थ्यबाहेकका सेवा प्रवाह हुनेछन्’, नगरप्रमुख रिजालले भने ।

 

नगरपालिकाको भवन आसपासमा छुट्टै १५ लाख रुपैयाँ खर्च गरेर सिँढी, सेवाग्राही बस्ने गोलाघर र दुई कोठे एक तल्ले भवन निर्माण गरिएको छ । प्राविधिक कार्यालय हटाइएपछि जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । 

 

नगरपालिकाको भवन उद्घाटनका क्रममा पूर्वसभासद् दुर्गाजयन्ती राई, जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेवी खत्री, नगरपालिकाकी उपप्रमुख विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललगायत उपस्थित थिए । 

 

६ स्थानीय तहको आफ्नै भवन

 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आफ्नै भवन बनाउने स्थानीय तहको संख्या छ पुगेको छ । १३ मंसिर २०७४ को स्थानीय तह निर्वाचनपछि कार्यान्वयनमा आएको स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, रावाबेँसी गाउँपालिका, खोटेहाङ गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आफ्नै भवन बनाइसकेका छन् ।

 

हाल केपिलासगढी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, ऐँसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो भवन बनाइरहेका छन् । दुई वर्षअघि मात्र प्रि-फ्याब भवन बनाएको दिप्रुङ चुइचुम्माले पुनः पक्की भवन निर्माण सुरु गरिसकेको छ । 

 

ऐँसेलुखर्कले हाल भाडामा लिएको घरबाट सेवा संचालन गरिरहेको छ । साविकको गाविस कार्यालयमै राखिएको केपिलासगढीले भवन निर्माण सुरु गरिसकेको छ । साकेला गाउँपालिकाले हाल कृषि तथा पशु सेवा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ ।