close

सबै पालिकामा अतिथिगृह बनाउन जुट्यो प्रदेश १ सरकार

सबै पालिकामा अतिथिगृह बनाउन जुट्यो प्रदेश १ सरकार

Trulli
ADVERTISEMENT

पाँचथर– स्थानीय तहको केन्द्र भएका ठाउँमा चहलपहल बढेसँगै होटललगायत सुविधाबाट वञ्चित नागरिकलाई बास बसाउन प्रदेश १ सरकारले सरकारी आवासगृह निर्माण योजना अगाडि बढाएको छ ।


प्रदेश सरकारले गाउँपालिका केन्द्रमा सरकारी आवासगृह बनाउने योजना अघि बढाएपछि नमुनाको रूपमा पाँचथरको मिक्लाजुङ गाउँपालिका र कुम्मायक गाउँपालिकामा सरकारी अतिथि गृहको काम अघि बढेको हो ।


गाउँपालिका केन्द्रमा विभिन्न काम लिएर आउनेलाई सस्तो शुल्कमा बस्ने, गाउँपालिका स्तरमा सरकारी तथा गैरसरकारी तालिम, गोष्ठी गर्न उपयुक्त हुने गरी अतिथिगृह निर्माण अघि बढाइएको छ ।


गाउँपालिका केन्द्रमा बढ्न थालेको चहलपहललाई दृष्टिगत गरेर नमुनाको रूपमा अतिथिगृह बनाउने काम अघि बढेको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।


‘खर्च कटौती गरेर न्यून खर्चमा सबै खाले कार्यक्रम आयोजना गर्ने, बासस्थान व्यस्थापन गर्ने गरी नमुनाको रूपमा पाँचथरका २ ठाँउमा यस्ता भवन बनाउन लागिएको हो’, मन्त्री आङ्बोले भने, ‘सरकारी खर्च घटाउँदै लैजाने उद्देश्यले यो काम अघि बढाएका हौँ ।’


२ स्थानमा बनाउन लागिएको सरकारी अतिथिगृह सञ्चालनपछि उपलब्धिमूलक देखिए सबै स्थानीय तहमा निर्माण गर्ने योजना रहेको उनले जानकारी दिए ।


मिक्लाजुङको रविमा बनाइँदै गरेको भवन अन्तिम चरणमा पुगेको छ । कुम्मायकको यासोक बजारमा भने भवन निर्माण सुस्त गतिमा छ ।


भवन डिभिजन कार्यालय इलामका अनुसार ३ करोड ८५ लाख रुपैयाँको बजेटमा रविको सरकारी आवासीय भवन र ३ करोड ९८ लाखमा यासोकको भवन ठेक्का सम्झौता भएको थियो । स्थानीय तहले जग्गा खोजेपछि भवन निर्माणमा बजेट विनियोजित गरेर ठेक्का लगाइएको थियो ।


‘निःशुल्क जग्गा प्राप्त भएसँगै काम भइरहेको छ । स्थानीय तहले सञ्चालन गर्ने गरी भवन बनाइएको छ । विभिन्न कार्यक्रम तथा पर्यटकलाई राख्न पनि सहज हुने अपेक्षा छ’, मिक्लाजुङ गाउँपालिका अध्यक्ष अमरराज माखिमले भने । निर्माण सम्पन्न भएपछि यी भवन स्थानीय तहलाई हस्तान्तरण गरिनेछ ।