close

विकासकाे दुर्दशा : ठेक्का लागेकाे ६ वर्षसम्म बन्दैन स्वास्थ्य चौकी

स्वास्थ्य चौकी भवन अलपत्र पारेर ठेकेदार बेपत्ता

विकासकाे दुर्दशा : ठेक्का लागेकाे ६ वर्षसम्म बन्दैन स्वास्थ्य चौकी

स्वास्थ्य चौकी भवन अलपत्र पारेर ठेकेदार बेपत्ता

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ठेकेदारको लापरवाहीका कारण ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ हाङ्पाङ र वडा नम्बर ४ चाँगेमा निर्माण गरिने भनिएका स्वास्थ्य चौकी भवन अलपत्र परेका छन् । स्वास्थ्य चौकी भवन दुई वर्षभित्र सक्नुपर्ने ठेक्का सम्झौता भए पनि ६ वर्षसम्म जग पुर्नेबाहेक अरू काम लथालिंग अवस्थामा छाडिएका हुन् ।

 

दुवै योजनाको सम्झौता २५ कात्तिक २०७१ सालमा भएको थियो । हिमालयन बिल्डर्स प्रालि जोरपाटी काठमाडौँ र कविर कन्स्ट्रक्सन प्रालि काठमाडौँ जेभीले ठेक्का पारेका थिए । हाङ्पाङ स्वास्थ्य चौकी भवनको एक करोड ९१ लाख र चाँगे स्वास्थ्य चौकीको २ करोड दुई लाख रुपैयाँको ठेक्का थियो । कम्पनीका सञ्चालक किशोर शेर्पाले निर्माणको अख्तियारी तेह्रथुमका तेजबहादुर कार्कीलाई दिएका थिए ।


कार्कीले तेह्रथुम इसिबुका डिल्ली फम्बोलाई निर्माण रेखदेख तथा कामदार परिचालनको जिम्मा दिएका थिए । तर, अहिले कार्की र फम्बो दुवै निर्माण स्थलमा भेटिँदैनन् ।


आफ्नै गाउँपालिकाभित्रका योजना अलपत्र पारेपछि अरू निर्माण व्यवसायीलाई भने धक लागिरहेको छ । निर्माण व्यवसायी दीपेन पोमु योजना जिम्मा लिएर अलपत्र पारिदिँदा समयमै काम सक्नुपर्छ भन्ने अरू ठेकेदारलाई पनि एउटै आँखाले हेरिन थालेकामा चिन्ता व्यक्त गर्छन् । 


चाँगेका गोपाल प्रसाईंले गत असारदेखि भवन निर्माण क्षेत्रमा निर्माण व्यवसायीलाई देखेका छैनन् । ‘ठेक्का लिएर काम नगरेपछि सरकारी सम्पत्तिको दुरुपयोग त भयो नै, भवन पनि अलपत्र परे’, प्रसाईंले भने ।

 

पर्यटनमन्त्री योगेशकुमार भट्टराई र सोही निर्वाचन क्षेत्रबाट निर्वाचित प्रदेशसभा सांसद टंक आङ्बुहाङसहितका जनप्रतिनिधिलाई यसबारे जानकारी गराइसकिएको उनले बताए । ‘मन्त्री भट्टराई र आङ्बुहाङले अब उनीहरूबाट भएन, ठेक्का तोड्नुपर्छ भन्नुभएको छ’, प्रसाईंले भने ।


हालसम्म दुवै योजनाको चार पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक चाँगेको १० जेठ २०७७ र हाम्पाङको ३० वैशाखसम्मका लागि म्याद थपिएको थियो । भवन अलपत्र पार्ने मात्र होइन, दुवै भवनका लागि बालुवा, सिमेन्ट, ढुंगा र काठपातलगायत निर्माण सामग्री ढुवानी गर्दाको रकमसमेत स्थानीयले पाएका छैनन् । 


आफूले २४ लाख रुपैयाँ भुक्तानी नपाएको स्थानीय अर्जुन आङ्बुहाङले बताए । ठेकेदारले आङ्बुहाङसहित अन्य स्थानीयको विभिन्न शीर्षकका रकम बुझाउन बाँकी रहेको प्रसाईंले बताए । अधकल्चो पारेर छाडेको भवन जीर्ण बन्दै गएको उनले सुनाए । बर्थिङ सेन्टरसहितको सेवा प्रदान गरिरहेको चाँगे स्वास्थ्य चौकीले भने अहिले साँघुरो भवनबाट सेवा प्रदान गरिरहेको छ । 

 

ठेकेदारले २०७३ अन्त्यतिर काम छाडेका हुन् । हाङपाङ स्वास्थ्य चौकी भवनको ८० प्रतिशत र चाँगेको ६५ प्रतिशत भौतिक प्रगति भएको तर योजना पूरा नभएको सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग सघन सहरी तथा भवन निर्माण आयोजना झापाले जनाएको छ । 


आयोजना प्रमुख राजेन्द्र खतिवडाले कम्पनीलाई ३ पटकसम्म काम सम्पन्न नगरे कालोसूचीमा राख्ने सूचना प्रकाशित गरिएको बताए । ‘हामीले पटक-पटक ठेकेदारलाई ताकेता गरेका छौँ । १७ लाख रुपैयाँ जमानत रकम बैंकबाट खिची राजस्व दाखिला पनि गरेका छौँ,’ आयोजना प्रमुख खतिवडाले भने । निर्माण कम्पनीले चाँगेको ४२ प्रतिशत र हाङपाङको ४६ प्रतिशत रकम भुक्तानी लिन बाँकी रहेको देखिएको छ ।