close

चन्दननाथ र काठमाडौँ महानगरले गाँसे भगिनी साइनो 

चन्दननाथ र काठमाडौँ महानगरले गाँसे भगिनी साइनो 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाले भगिनी साइनो स्थापना गरेका छन् । काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्य जुम्ला आएर चन्दननाथ नगरप्रमुख कान्तिका सेजुवालबीच औपचारिक रूपमा समझदारीपत्रमा हस्ताक्षर गरी भगिनी साइनो स्थापनाको घोषणा गरेका हुन् । 

 

समझदारीपत्रमा हस्ताक्षर गर्दै महानगरप्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रवद्र्धनमा सहकार्य गरिने जानकारी दिए ।

 

उनले भने, ‘काठमाडौँमा धेरै मूर्त तथा अमूर्त संस्कृति, सम्पदा छन् । मानव निर्मित सम्पदाले धनी काठमाडौँ सांस्कृतिक सहर र कर्णालीको दुर्गम नगरपालिका चन्दनथानबीच भगिनी सम्बन्ध स्थापना गर्नु आफैँमा सकारात्मक छ ।’

 

आपसी सहकार्य, ठोस योजना तथा नतिजामुखी क्रियाकलाप सञ्चालनका लागि साझेदारी गर्न भगिनी साइनो स्थापना गरिएको उनले बताए ।


शाक्यले यसअघि काठमाडौँ महानगरले विश्वका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरेको स्मरण गराउँदै संघीयतालाई सार्थक र थप बलियो बनाउन पछिल्लो समय स्वदेशकै नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रयास अघि बढाएको जानकारी दिए ।

 

महानगरले यसअघि नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँका १० वटा नगर, भक्तपुरको मध्यपुर थिमि र रामग्राम नगरपालिकासँग साझेदारी गरिसकेको छ । भगिनी सम्बन्ध स्थापनाले जुम्लामा उत्पादित बहुमूल्य जडीबुटी, स्याउ, सिमी, ओखरलगायतका प्रांगारिक कृषि उत्पादनको बजारीकरण, व्यवस्थापनलगायतमा सहकार्य गर्न सकिने शाक्यले बताए । 

 

उनले भने, ‘रारा, सेफोक्सुन्डोजस्ता ताल जाने बाटोमै रहेको चन्दननाथसँग धार्मिक पर्यटनसँग समेत जोडेर मुलुकको अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ ।’  चन्दनाथ नगरप्रमुख कान्तिका सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकामा खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘भगिनी साइनोले यहाँको विकास निर्माणमा टेवा पुग्नेछ ।’

 

भगिनी सम्बन्ध स्थापनालगत्तै काठमाडौँ महानगरले चन्दननाथलाई डेढ करोड रुपैयाँ सहयोग गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।