close

झापा सडकआश्रित मानवरहित जिल्ला घोषणा

झापा सडकआश्रित मानवरहित जिल्ला घोषणा

Trulli
ADVERTISEMENT

झापा- जिल्लाका सातवटा स्थानीय तहका ७६ जना सडकआश्रित मानवलाई पुनर्स्थापना गरेसँगै झापा सहयोगापेक्षी सडकआश्रित मानवरहित जिल्ला घोषणा भएको छ । प्रदेश १ लाई नै सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने अभियानको पहिलो चरणमा बिहीबार झापा सडक मानवमुक्त जिल्ला घोषणा भएको हो ।


झापाका सम्पूर्ण पालिकाले आश्रमलाई सहयोगार्थ ३० हजार रुपैयाँका दरले रकम उपलब्ध गराएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए । झापाको मेचीनगर नगरपालिकाका २९, कनकाई नगरपालिकाका १५, दमक नगरपालिकाका १३, बिर्तामोड नगरपालिकाका सात, गौरीगंज गाउँपालिकाका पाँच, बुद्धशान्ति गाउँपालिकाका चार, भद्रपुर नगरपालिकाका तीन जना सडकआश्रित मानवको पुनस्र्थापना गरिएको हो । 


प्रदेश १ का झापा, मोरङ र सुनसरीको सडक पेटीमा रहँदै आएका मानिसको उद्धार कार्यक्रम सुरु गरिएकामा झापाको काम सकिएको छ । सरकारको सडक मानवमुक्त मुलुक घोषणा अभियानअन्तर्गत मानव सेवा आश्रमको सहयोगमा कार्यक्रम सुरु गरिएको हो ।


आश्रमले शारीरिक तथा मानसिक रूपमा अस्वस्थ भई खुला आकाशमुनि रात बिताउन बाध्य, घरबारविहीन, बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका सडक मानवको उद्धार गर्दै आएको छ । प्रदेश १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले सरकारले लिनुपर्ने सडकआश्रित मानवको अभिभावकत्व मानव सेवा आश्रमले लिएको भन्दै आश्रमको प्रशंसा गरिन् । 


मन्त्री गजमेरले आश्रमलाई प्रदेश १ ले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सरकारको नीति तथा कार्यक्रमका रहेको सडक मानवमुक्त मुलुक घोषणा गर्ने अभियानमा मानव सेवा आश्रम भरोसा बनेको गजमेरको भनाइ थियो ।