close

तीन पालिका जोड्ने सडक मर्मत गलकोटको प्राथमिकता

तीन पालिका जोड्ने सडक मर्मत गलकोटको प्राथमिकता

Trulli
ADVERTISEMENT

बाग्लुङ- गलकोट नगरपालिकाको वडा नं.- ७ मल्मबाट पाण्डवखानी हुँदै बडिगाड गाउँपालिकाको रणसिंह किटेनी जोड्ने सडक छ । हिउँदमा चल्ने यो सडक वर्षामा सधैँ समस्याग्रस्त हुन्छ । ठाउँठाउँमा सडक मर्मत गर्नुपर्ने अवस्था छ । 


कठिन सडकमा चल्ने सवारी साधनमा यात्रुहरूले कष्टपूर्ण यात्रा गर्छन् । गलकोट नगरपालिकाबाट बडिगाड हुँदै ढोरपाटन नगरपालिका पुग्ने यस सडकमा हरेक वर्ष लाखौँ रुपैयाँ बजेट बिनियोजन हुन्छ तर काम भने उस्तै ।


समयमा कार्यान्वयन नहुने, बजेट फ्रिज हुने समस्या भोग्दै आएको यस सडकलाई गलकोट नगरपालिकाले चालू आर्थिक वर्षमा भने प्राथमिकताका साथ मर्मत गर्ने भएको छ । ‘प्रदेशको बजेट पर्छ, फ्रिज भएको खबर आउँछ, डुप्लिकेसन नहोस् भनेर हामीले बजेट राखेका थिएनौँ’, नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘यस वर्ष मर्मत गरेर बाह्रै महिना चल्ने बनाउँछौँ ।’


तीन पालिका जोड्ने सडक भएकाले गलकोट नगरले यस सडकलाई रणनीतिक सडकमा समावेश गरेको छ । चालू आर्थिक वर्षमा सडक विभागले उपलब्ध गराउने १५ लाख रुपैयाँ खर्चेर यो सडक मर्मत गर्ने तयारी भएको हो । 


‘नगर कार्यपालिकाको ४३औँ बैठकले प्राथमिकतामा राखेर यो सडकको काम पहिला गर्ने निर्णय गरेको छ’, गैरेले भने, ‘स्थानीयको सहजताका लागि सडकको प्राथमिकीकरण गरेका हौँ ।’ यो सडक मर्मत भएपछि गलकोटको मल्म, पाण्डवखानी, बडिगाडको रणसिंह किटेनी र ढोरपाटनका अधिकांश वडालाई सहज हुनेछ ।


यो आर्थिक वर्षमा मल्मदेखि पाण्डवखानीको सिद्धथानसम्मको सडक स्तरोन्नति हुने नगरपालिकाले जनाएको छ । ग्रामीण पर्यटन र स्थानीय उत्पादनको ओहोरदोहोरमा समेत यस सडकले सहयोग पु¥याउने गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताए ।


नगरपालिकाले यस वर्षका समपुरक तथा विशेष अनुदानका कार्यक्रमसमेत तदारुकताका साथ संचालनमा ल्याउने निर्णय गरेको छ । संघीय समपूरक र विशेष अनुदानका लागि आयोजना तथा कार्यक्रमहरू नगरपालिकाभित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएका योजनाहरू प्राथमिकतामा राखिएको छ ।


सडक, स्वास्थ्य चौकी, वडा कार्यालय भवन तथा झोलुङ्गे पुलहरू निर्माणको कामलाई अघि बढाउने निर्णय भएको भण्डारीले बताए । नगरपालिकामा आयोजना बैंक स्थापना गरेर दिगो विकासका लागि पहल थालिएको भण्डारीको भनाइ छ ।