close

विषयगत शिक्षक नपाएपछि कालीकोटतिर लागे विद्यार्थी 

विषयगत शिक्षक नपाएपछि कालीकोटतिर लागे विद्यार्थी 

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको जगन्नाथ गाउँपालिका वडा नं.- ५ मा रहेको देवलकोट माध्यमिक विद्यालयमा हालसम्म पनि विषयगत शिक्षक पूर्ति हुन सकेको छैन । माध्यमिक तहसम्म पढाइ संचालन भएको उक्त विद्यालयमा शैक्षिक सत्र अन्त्य हुन लाग्दासम्म पनि विषयगत शिक्षकको व्यवस्थापन नभएको अभिभावकको गुनासो छ । 2626


कोरोना भाइरस संक्रमणका कारण गत ११ चैतदेखि मुलुकभर लकडाउनको घोषणा भएपश्चात बन्द रहेको सो विद्यालय हाल संचालनमा आए पनि नियमित पठनपाठन हुन नसकेको स्थानीय राजन बिष्टले बताए । शिक्षक अभावका कारण विद्यालयमा पठनपाठन सुचारु नहुँदा सो विद्यालयमा अध्ययनरत रहेका विद्यार्थी छिमेकी जिल्ला कालीकोटमा अध्ययनका लागि गएका उनले बताए । 


विद्यालयमा गणित, अंग्रेजी र विज्ञान विषयका शिक्षकको अभावका कारण विद्यालयमा अध्यनरत ६० जना विद्यार्थी अहिले कालीकोटको पचाल झरना गाउँपालिकाको जनप्रिय माध्यमिक विद्यालयमा अध्ययनका लागि गएका बिष्टको भनाइ छ ।


विद्यालय संचालनमा आएको करिव तीन महिना बितिसक्दा पनि शिक्षकको व्यवस्थापन नहुँदा विद्यार्थीको पढाइ प्रभावित भएको छ । माध्यमिक तहसम्म पढाइ संचालन भएको उक्त विद्यालयमा दैनिक तीन जना शिक्षक मात्र विद्यालयमा उपस्थित हुने गरेका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पारस बिष्टले बताए । 


आफ्नो विद्यालयमा पढाइ नभएको भन्दै अध्ययनका लागि कालीकोटका विद्यालय धाउनुपरेको भन्दै बिष्टले बिहान ४ बजे जाने र साँझ ६ बजे पढेर घर फर्किने गरेको बताए । करिव ३ घण्टाको पैदल हिँडेर साथीहरूसँग बिहानको खाना खाएर दिउँसोका लागि नास्ता बोकेर कालीकोटका विद्यालय जाने गरेको उनको भनाइ छ ।


यता, जगन्नाथ गाउँपालिका वडा नं.- ५ का वडा अध्यक्ष प्रकाश शाहीले भने विद्यालयले अहिलेसम्म विज्ञान शिक्षक नपाएको स्वीकार गरे । दुर्गमका कारण शिक्षक व्यवस्थापनमा कठिनाइ भएको बताउँदै उनले अन्य शिक्षक भए पनि बीएस्सी शिक्षक नभएको बताए ।

 

राज्यले पनि लाइसेन्स प्राप्त शिक्षकको व्यवस्थापन गर्नुपर्ने प्रावधान बनाएका कारण स्थानीय तहमा शिक्षकको पदपूर्तिमा कठिनाइ भएको शाहीले बताए । ५०-६० हजार रुपैयाँ तलबको व्यवस्थापन गर्छाैं भन्दा पनि शिक्षक पाउन मुस्किल भएको बताउँदै उनले भएका शिक्षक पनि दुर्गम ठाउँमा बस्न नमानेको बताए ।


तत्काल शिक्षक व्यवस्थापनका लागि आफूले विद्यालय व्यवस्थापन समितिको बैठक राखेर छलफल गर्ने बताउँदै अबको एक हप्ताभित्र विद्यालयले शिक्षक पाउने दाबी गरे । विद्यालयमा बीएस्सी शिक्षकको पदपूर्ति गर्न नसके पनि आईएस्सी शिक्षकको व्यवस्थापन गरेर पढाइ संचालन गरिने उनले बताए ।

 

विद्यालयमा विषयगत शिक्षकको अभाव भएको लामो समय बितिसक्दा पनि स्थानीय सरकार र विद्यालय व्यवस्थापन समिति पनि मौन देखिएको स्थानीयले आरोप लगाएका छन् । केही समय कोरोनाले विद्यालयको पढाइ प्रभावित भएको र केही समय शिक्षक व्यवस्थापनमा ढिलाइ हुँदा परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई झन् समस्या हुने देखिएको छ ।