close

जुत्ता पालिस गरेर अघाएको मन

जुत्ता पालिस गरेर अघाएको मन

Trulli
ADVERTISEMENT

नेपाली समाजमा श्रमलाई अझै पनि हेयको दृष्टिले हेर्ने चलन हटिसकेको छैन । श्रमलाई सानोठूलो छुट्याउने समाजको गलत मानसिकताले निर्धक्क भएर पौरख गर्नेहरू खाडी मुलुक पलायन भइरहेका छन् ।


स्वदेशमा काम गर्न हिच्किच्याउने तर परदेशमा जस्तोसुकै काम गर्न तयार रहने मानसिकताको विकासलाई हाम्रै समाजले मलजल गरिरहेको छ । तर, समाज र व्यक्तिले गर्ने चियोचर्चाभन्दा पनि जीवनलाई गुडाउन आफ्नो परिश्रमलाई निरन्तरता दिनुपर्छ भन्ने मान्यता बोक्ने पनि हाम्रै समाजमा छन् । 

 

यस्तै, एक प्रतिनिधि पात्र हुन्, महोत्तरीका बिजिली महरा । पुराना, मक्किएका, च्यातिएका जुत्ता पालिस गरेर टिलिक्क टल्काउनु उनको दैनिकी पेसा हो । बटुवाले आफ्ना अगाडि जुत्ता तेस्र्याए मात्र महराले पालिस गरिदिएर केही पैसा कमाउँछन् । देख्नेहरूले लख काट्छन्, यसले दिनभरमा कति कमाउँछ होला ।

 

महरालाई अरूले फुरुंग्याएको र दया देखाएको पटक्कै मन पर्दैन । उनी भन्छन्, ‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाइ गर्न पनि पछि पर्दैनन् ।’


महराले परिवारको भरणपोषण र छोराछोरीको शिक्षादीक्षाका लागि जुत्ता पालिसबाटै मनग्ये आम्दानी गर्छन् । जुत्ता टल्काएर उनले मासिक कमाइ २० हजार रुपैयाँभन्दा बढी गोजीमा हाल्छन् । महरालाई आफ्नो काम र कमाइमा सन्तुष्टि छ, मन अघाएको छ, यही पेसामा । कोही कसैले गिज्याए, होच्याए पनि आफ्नो काममा निरन्तर अगाडि बढिरहेका छन्, उनी । 

 

कैयौँ पटक पेसै त्यागेर अरूजस्तै खाडीमा भासिन मन नलागेको पनि होइन । महराले भने, ‘कामलाई हेय दृष्टिले हेर्नेहरूको संकीर्ण मानसिकताले काम गर्न असहज हुन्छ । तर, आफू जिउन स्वदेश कि विदेश रोज्ने भन्ने विषय पौरख गर्ने व्यक्तिमै निर्भर हुन्छ । त्यसैले मैले काम गर्न लाज मानिनँ ।’

 

बिहानै जुत्ता पालिस सामग्री जोहो गरेर आउनु, बेलुकीसम्म सुकिलामुकिलाहरूको प्रतीक्षामा बस्दा सुरु-सुरुमा दिक्क लागे पनि अहिले बानी परेको महरा सुनाउँछन् ।


‘मासिक ३० हजार रुपैयाँ कमाउन कैयौँ नेपाली मेनपावरका दलालसँग ठगिएका छन् । स्वदेशमै कमाउने बाटा भए पनि काम गर्न विदेश धाउनुपर्ने संस्कार परिवर्तन हुन सकेन’, महरा भन्छन्, ‘पढे-लेखेकाहरूको विवेक भ्रष्ट बन्दा कहिलेकाहीँ नपढेरै ठीक गरेछुजस्तो लाग्छ ।’

 

महराको गाउँमा पनि कैयौँ दक्ष/अदक्ष युवा पलायन भएका छन । पहिलाको तुलनामा स्थानीय तहमा केही विकास पनि भएको छ । 

 

नेपालमा सडक निर्माणमा काम गर्नेहरूको अभाव, घर बनाउने ठाउँमा कामदार अभाव, होटल व्यवसायीलाई कामदार अभाव, सिकर्मी, डकर्मीको सधैँ हाहाकार देखिँदै आए पनि बेरोजगार भयौँ भन्दै विदेश भासिनेप्रति महरा रोष प्रकट गर्छन् ।


महराका ४ छोरा र १ छोरी छन् । कान्छो छोरा सुनिल सेठ्ठी महरा १२ कक्षा पढ्दै छन् । ठूलो छोरा विदेशको चक्कर लगाएर अहिले घरमै छन् । माइलो र साइँलोले बाबुको बिँडो थामेका छन् । एउटी छोरीको बिहे भइसक्यो ।

महराजस्तै अरु महराहरू पनि दिनभरि सडक कुनामा बस्छन् । कहिलेकाहीँ नगरबाट आएको नगर प्रहरीले बाटामा किन बसेको भन्दै दुःख दिने गरेको उनीहरूको सामूहिक गुनासो छ ।


फुटपाथमा व्यापार गर्नेलाई स्थानीय सरकारले भेदभाव गर्ने र सटर लिएर भाडामा बस्नेलाइ काखी च्यापेको देख्दा दुःख लाग्ने महरा सुनाउँछन् । फुटपाथबाटै रोजीरोटी चलेकाले नगरले नै व्यवस्थापन गरिदिए गरिखान सहज हुने उनको बुझाइ छ ।


‘बर्दिबासका मुख्य सडक छेउको एउटा सटर भाडामा २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । २० हजार रुपैयाँ मासिक कमाउनेले कसरी भाडा तिर्नु ?’ महराको प्रतिप्रश्न छ ।