close

कर्णाली सरकारले ल्यायो किसानका ऋणको ब्याज तिरिदिने योजना

कर्णाली सरकारले ल्यायो किसानका ऋणको ब्याज तिरिदिने योजना

Trulli
ADVERTISEMENT

सुर्खेत- कर्णाली प्रदेश सरकारले किसानको ऋण तिरिदिने योजना ल्याएको छ । साना किसानहरूले विभिन्न सहकारीहरूबाट लिएको ऋणको ब्याज प्रदेश सरकारले तिरिदिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।


मन्त्रालयले पत्रकार सम्मेलन गरी साना किसानका लागि ल्याएको नयाँ योजना सार्वजनिक गरेको हो । सम्मेलनमा प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीका अनुसार प्रदेश सरकार मातहतका ३१४ वटा सहकारीले साना किसानलाई ऋण दिने र ऋणको ११ प्रतिशत ब्याज प्रदेश सरकारले तिरिदिने भएको हो ।


परम्परागत खेतीबाट किसानलाई व्यावसायिकतर्फ उन्मुख गर्न यस्तो कार्यक्रम ल्याएको मन्त्री केसीको भनाइ छ । ब्याज अनुदान पाउने किसानले उत्पादन, प्रशोधन र बजारीकरण शीर्षकमा काम गरेको हुनुपर्ने कार्यविधि निर्माण गरिएको मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले जानकारी दिए ।


न्यूनतम ५० हजारदेखि अधिकतम ५ लाख रुपैयाँसम्मको ऋणमा कृषि विकास कार्यालयले ब्याज र सेवा शुल्क तिरिदिने गरी व्यवस्था मिलाइएको सचिव मिश्रले जानकारी दिए ।


मन्त्रालयले यसअघि मझौला कृषकका लागि ब्याज अनुदान दिन भन्दै कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंकसँग समझदारी गरिसकेको छ । चालू आर्थिक वर्षमा ब्याज अनुदान कार्यक्रमका लागि ७ करोड रुपैयाँ छुट्याइएको छ ।