close

ललितपुर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम

ललितपुर नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम

Trulli
ADVERTISEMENT

ललितपुर-  ललितपुर महानगरपालिकाले आफ्ना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापनसम्बन्धी ज्ञान दिन र नगरको सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीलाई सघाउन तालिम दिएको छ । एक साता ‘इनडोर’ र एक साता ‘आउटडोर’ गरी दिइने उक्त तालिम १५ दिनको हुने महानगरपालिकाले जनाएको छ । 


महानगरका प्रमुख चिरीबाबु महर्जनले नगरभित्र बढेको सवारी चाप र दुर्घटनालाई न्यूनीकरण गर्न नगर प्रहरीलाई तालिम दिन सुरु गरेको बताए । ट्राफिक नियमका बारेमा जानकार नगर प्रहरी ड्युटीमा खटिँदा ट्राफिक प्रहरीलाई सहयोग पुग्ने उनको भनाइ छ । 


‘महानगरले गर्ने महत्त्वपूर्ण काममध्ये ट्राफिक  व्यवस्थापन र सवारी पार्किङ पनि एक हो’, प्रमुख महर्जनले भने, ‘पछिल्लो समय नगरमा बढेको सवारी साधनको संख्याको तुलनामा ट्राफिक  प्रहरीको संख्या कम देखिन्छ, त्यसैले उहाँहरूलाई सघाउन तालिम दिएका हौँ ।’ 


महानगरले महानगरीय ट्राफिक प्रहरी महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईसँग छलफल गरी २ जना ट्राफिक  प्रहरी प्रशिक्षकमार्फत तालिमको व्यवस्था मिलाएको हो । महानगरका नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले ट्राफिक व्यवस्थापनसम्बन्धी तालिम पाएपछि सडकमा देखिने सवारी व्यवस्थापनसम्बन्धी समस्या धेरै हल हुने बताए । 


तालिमको मुख्य उद्देश्य ट्राफिक प्रहरीसँग हातेमालो गर्दै अघि बढ्ने बताउँदै उनले भने, ‘उहाँलाई सहयोग गर्नु नगर प्रहरीलाई तालिम दिनुको मुख्य उद्देश्य हो ।’ महानगरको टोल र गल्लीमा पुगेर त्यहाँको ट्राफिक व्यवस्थापन गर्न तालिमप्राप्त नगर प्रहरी सक्षम हुने उनको धारणा थियो । 


हाँछेथुले महानगरभित्र कुनै पनि स्थानमा भएको सवारी जाम हटाउन ट्राफिक प्रहरीसँगै नगर प्रहरी पनि तयार हुने बताए । उनले भने, ‘अब ट्राफिक जाम भयो भने ट्राफिक प्रहरी सँगसँगै नगर प्रहरीलाई पनि कल गर्नुभयो भने हामी ट्राफिक  व्यवस्थापनका लागि तुरुन्तै  पुग्छौँ ।’ साथै महानगरवासीलाई परेको अप्ठ्यारो र समस्या फुकाउन नगर प्रहरी हरदम तयार रहेको बताए ।