close

माघदेखि चल्ने जनकपुरको रेलः एक किलोमिटरको भाडा १५ रुपैयाँ !

माघदेखि चल्ने जनकपुरको रेलः एक किलोमिटरको भाडा १५ रुपैयाँ !

Trulli
ADVERTISEMENT

धनुषा- लामो समयदेखि थन्किएको जनकपुर-जयनगर रेलवे सेवा माघ महिनाभित्र संचालनमा आउने रेलवे कम्पनीले बताउँदै गर्दा स्थानीय भने विभागप्रति पटक्कै विश्वास गर्दैनन् ।  


लामो समयदेखि रेल संचालनमा आउने बताइँदै आएको भए पनि विभिन्न कारण देखाउँदै रेल संचालन भने हुन सकेको छैन । भारतबाट २ वटा रेल खरिद गरिएको ४ महिना भइसक्दा पनि अहिले धनुषाको इनर्वास्थित नेपाली स्टेसनमा थन्क्याएर राखिएको छ ।


रेल अगामी माघ महिनाभित्र जसरी पनि संचालनका ल्याउने नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले दाबी गरेका छन् । तर, जनकपुरका स्थानीय भने माघभित्रै रेल संचालन हुनेमा ढुक्क छैनन् ।

 

महाप्रबन्धक भट्टराई भने आवश्यक पर्ने जनशक्ति व्यवस्थापनको विषय सुनिश्चित भइसकेकाले माघ महिनाभित्रै रेल संचालनमा आउने दावी गर्छन् । रेल संचालनका लागि प्राविधिकतर्फका २६ जना कर्मचारी भारतबाट ल्याइने र बाँकी करिव सय जना कर्मचारी नेपालतर्फबाट राखेर संचालनमा ल्याउने अन्तिम तयारी भइरहेको उनले बताए ।


प्राविधिक कर्मचारीका लागि भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकको बताउँदै उनले भने, ‘जिटुजी प्रक्रियामा भारतीय पक्षसँग प्याकेजमा सहमति भइसकेको छ, त्यसलाई मुर्त रूप दिन उक्त प्याकेज सहितको प्रस्ताव मन्त्रिपरिषदमा पठाइसकेका छौ ।’


रेल इन्जिनको सर्भिसिङ, रेलवे लिकको मर्मत र रेल दुर्घटनाको जिम्मेवारी भारतीय पक्षले नै लिने तथा नेपालका प्राविधिक कर्मचारीलाई रेलवेसम्बन्धी तालिम दिनेलगायतका विषय प्याकेजमा समावेस गरिएको उनले बताए ।


नेपालको तर्फबाट ५० जना प्रशासनिक कर्मचारी सडक विभागसँग माग गरेको उनले बताए । त्यसका लागि सडक विभाग पनि सकारात्मक रहेको उनको भनाइ छ । सामान्य प्रविधिक कर्मचारीका लागि विगतमा रेलवेका काम गरेका पुराना इच्छुक करिव ५० जना कर्मचारीलाई ६ महिनाका लागि करारमा नियुक्त गरेर तत्काल रेल संचालन गरिने महाप्रबन्धक भट्टराईले बताए ।


भारतीय पक्षसँग भएको सहमति र नेपालको तर्फबाट आवश्यक पर्ने कर्मचारी भर्नासम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा स्वीकृतिका लागि पठाइसकेको उल्लेख गर्दै उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद्बा‍ट त्यो निर्णय भएलगतै रेल संचालनको काम सुरु हुन्छ । अब रेल संचालनका लागि कुनै समस्या हुँदैन ।’


रेलवे लिककाे चोरी भएको क्लिपर तथा क्षति भएका भौतिक संरचनाको मर्मत सम्भारको काम लगभग पूरा भइसकेको उनी बताउँछन् । रेल संचालनका लागि आवश्यक पर्ने अन्य टिकट, सफ्टवेयरसमेत तयार भइसकेको उनले दाबी गरे ।


महाप्रबन्धक भट्टराईका अनुसार जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको भाडा जनरल बोगीमा ७० रुपैयाँ र एसी बोगीमा ३०० रुपैयाँसम्म तोकिएको छ । त्यसैगरी प्रतिकिलोमिटर बढीमा १५ रुपैयाँ जनरल बोगीमा र एसीमा जनरलभन्दा ५ गुणा बढी भाडा तोकिएको उनले बताए ।

 

प्रतिकिलोमिटर १५ रुपैयाँ भाडा !


एक स्टेसनबाट अर्को स्टेसनमा झरेको खण्डमा प्रतिकिलोमिटर १५ रुपैयाँको दरले भाडा लाग्नेछ । दुई वा दुईभन्दा बढी स्टेसनसम्म यात्रा गरे त्योभन्दा कम भाडा लाग्ने उनले बताए । कुर्थादेखि जयनगरसम्म जयनगर, इनर्वा, खजुरी, वैदही र कुर्था गरी ५ वटा स्टेसन राखिएको छ ।


जनकपुर, मैनाथपुर र परवाहामा हल्ट छ । स्टेसनमा एकभन्दा बढी रेलवे लिक बनाएकाले त्यहाँ रेलको क्रसिङ गरिनेछ । हल्ट भएको स्थानमा रेल केही समयका लागि विश्राम अर्थात् त्यहाँ यात्रु ओसारपसार मात्र हुनेछ ।


स्टेसन र हल्ट भएका स्थानमा रेलको टिकट काटिनेछ । अनलाइनमार्फत पनि टिकट बुक गर्न सकिने महाप्रबन्धक भट्टराईले बताए । जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटर यात्रा गर्न २ देखि ३ घन्टा लाग्ने रेललाई ब्रोडगेज सेवा सुरु भएपछि एक घन्टामा उक्त दूरी तय गरिने जनकपुर-जयनगर रेल्वेका साइट इन्चार्ज विनोद ओझाले बताए ।

 

मौखिक परीक्षाको माध्यमले नै करारमा ६ महिनाका लागि कर्मचारी भर्ना गर्न आह्वान गरिएको विज्ञापनमा ३२ हजारभन्दा बढीले आवेदन दिएका छन् । तर, लोकसेवा आयोगले नै कर्मचारी छनोट गर्ने जिम्मेवारी पाएपछि त्यो प्रक्रिया पूरा गर्न नै लामो समय लाग्ने भएकाले तत्काल भारतीय प्राविधिक कर्मचारी, सडक विभाग र रेलवेका काम गरेका पुराना अनुभवी कर्मचारीकै सहयोग लिएर रेल संचालनको तयारी भइरहेको उनले बताए ।


स्थायी कर्मचारीका लागि लोकसेवा आयोगले पुनः विज्ञापन गरे पनि अहिले करारका लागि आवेदन दिएकाहरूलाई पनि उक्त विज्ञापनमा समावेस गरिने उनले बताए ।


'अहिले करारमा लागि आवेदन दिएकाहरूलाई पुनः आवेदन दिनुपर्दैन', उनले भने, ‘उनीहरूले दिएको आवेदन हामीले नै लोकसेवा आयोगमा बुझाउँछौँ र त्यही अधारमा लोकसेवाले उनीहरूसँग पनि परीक्षा लिन्छ ।’


कम्पनीले डिजेल इलेक्ट्रिक मल्टिपल युनिट भएका रेल डिजेल र विद्युत दुवैबाट चल्ने विश्वमै नयाँ मोडेलका रूपमा तयार गरिएको रेल प्रतिघन्टा ११० किलोमिटरको गतिमा चल्न सक्ने बताएको छ ।

 

एउटै इन्जिन भए पनि दुवैतर्फबाट चलाउन सकिने रेलको एउटा बोगी (डब्बा)मा ७० सिट छन् । प्रतिकिलोमिटर २ लिटर डिजेल खपत हुने रेलमा आवश्यकताअनुसार थप चारवटा बोगीसम्म जोड्न सकिने इन्जिनियर ओझाले बताए ।