close

तिलोत्तमामा चाँडै रेल गुड्छ, तपाईंलाई निम्तो है !

तिलोत्तमामा चाँडै रेल गुड्छ, तपाईंलाई निम्तो है !

Trulli
ADVERTISEMENT

रूपन्देहीको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले साढे ३ वर्षको कार्यकालमा नगरपालिकामा खानेपानी समस्या, सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेख्य सुधार गरेका छन् । नगरप्रमुख घिमिरेले शिक्षाबाट कुनै पनि बालबालिका बञ्चित नहोऊन् र आर्थिक अभावले माथिल्लो कक्षासम्म अध्ययन गर्न नरोकिऊन् भनेर आफ्नो तलबबाट समेत विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । नगरको समृद्धि र विकासका लागि भइरहेका प्रयासबारे नगरप्रमुख वासुदेव घिमिरेसँग रूपन्देहीका पालिकाखबरदाता चन्द्रकान्त खनालले गरेको कुराकानीः


तपाईं विजयी भएर आएको साढे ३ वर्षमा के कति विकास निर्माणका कामहरू भए ?


तिलोत्तमा नगरपालिका नयाँ नगरपालिका हो । साविकका ७ वटा गाविस मिलेर यो नगरपालिका निर्माण भएकाले हामीले नगरपालिकाको रूपमा प्रारम्भिक चरणबाट काम थालेका हौँ । ‘समुन्नत, सुरक्षित र वातावरणमैत्री सुन्दर शहरः सुशासनयुक्त, पर्यटकीय र समृद्ध तिलोत्तमा नगर’ भन्ने दीर्घकालीन सोचका साथ ५ वर्षको आवधिक योजना र १५ वर्षको रणनीतिक योजना निर्माण गरी समग्र विकास निर्माणका कामहरू अघि बढाइएको छ ।


नगरपालिकामै बैंक काउण्टर स्थापना गरी क्यासलेस नगरपालिका बनाइएको छ भने पेपरलेस नगरपालिकाको अवधारणाअनुसार अघि बढिएको छ । स्थानीय सरकारको रूपमा हामीले स्थानीय कानुन निर्माणदेखि पहिलो पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउने, काठमाडौंबाहिर पहिलो लगानी सम्मेलन गर्ने, सुशासन, प्रवद्र्धनात्मक अभियानलगायत सबै प्रकारका कामहरू एकसाथ अघि बढाएका छौँ । नगरवासीलाई सबैभन्दा नजिकको अभिभावकीय सरकारको अनुभूति दिनेगरी हामीले कार्यसम्पादन गर्दै आएका छौँ । 


भौतिक र शैक्षिक क्षेत्रमा यसबीच के कस्ता काम गर्नुभयो त ?

 

भौतिक क्षेत्रको रूपमा कुरा गर्नुपर्दा हामीले सडक कालोपत्रे, ग्राभेलदेखि आफ्नै सुविधा सम्पन्न प्रमुख प्रशासकीय भवन निर्माणसम्मका काम गरेका छौँ । १७ वडाका आफ्नै वडा कार्यालय भवन यही वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी काम अघि बढेको छ ।


नगरपालिकाको आफ्नै सुविधा सम्पन्न सभाहल तथा अतिथिगृह निर्माण गरिएको छ । पर्यापर्यटनको प्रवद्र्धनसँगै नगरपालिकाको आन्तरिक आय बढाउन शंकरनगर वनबाटिकामा बहुउद्देश्यीय भ्यू टावर निर्माण गरिएको छ ।


मोटरेबल पुल निर्माण, कल्भर्ट निर्माण, ह्युमपाइप व्यवस्थापन, सिँचाइ कुलो, ढल तथा नाली निर्माण, तटबन्धनलगायतका काम गरिएको छ । नगरको स्रोतबाट नयाँ विद्युतीकरण तथा पुराना पोल विस्थापन, ट्रान्समिटर जडानका काम पनि भएका छन् । 


शिक्षाको सन्दर्भमा कुरा गर्दा हामीले सामुदायिक विद्यालयका बालविकास केन्द्र र कक्षा १ देखि ५ सम्मका लक्षित वर्गका २ हजार ५६७ विद्यार्थीलाई हरेक दिन २५ रुपैँयाँ बराबरको दिवा खाजाको व्यवस्था गरेका छौँ । 


जंकफुडलाई निरुत्साहित गरी घरमै बनेका स्वास्थ्यवद्र्धक खाजा प्रयोगलाई प्रोत्साहन गर्न कक्षा १ देखि ५ सम्मका सबै बालबालिकाहरूलाई टिफिन क्यारी प्रदान गरिनुका साथै सबै सामुदायिक विद्यालयहरूमा एकै प्रकारको रंगरोगन गरिएको छ । 


मावि तह संचालन रहेका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी, दरबन्दी कम रहेका विद्यालयमा नगरपालिकाको शिक्षक अनुदान कोटामा १४ जना शिक्षक नियुक्त गरी सहयोग, बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताहरूलाई नगरपालिकाबाट मासिक ३ हजार रुपैयाँ प्रोत्साहन भत्ता थप गरिएको छ । 


नगरप्रमुख छात्रवृत्ति कोषबाट हरेक वर्ष सबै सामुदायिक विद्यालयका १/१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिँदै आइएको छ भने सामुदायिक विद्यालयका छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गरिएको छ । यातायात संचालनका लागि १० विद्यालयहरूलाई १०/१० लाख रुपैयाँ अनुदान प्रदान गरिएको छ ।


सबै विद्यालयमा आकर्षक बाल विकास कक्षा व्यवस्थापन गरिएको छ भने स्थानीय पाठ्यक्रम  कार्यान्वयन गरिनुका साथै तिलोत्तमा सिटी कलेज, प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गरिएको छ । समग्रमा भन्नुपर्दा, सबै सामुदायिक विद्यालयलाई निजी विद्यालय सरहको हैसियतामा पु¥याउँदै सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको थप आकर्षण बढाउने गरी काम गरिएको छ । 


स्वास्थ्य र आर्थिक समृद्धिका लागि के कस्ता योजनाहरू कार्यान्वयनमा ल्याउनुभएको छ ?


हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्था स्थापना गर्ने योजनाका साथ हालसम्म १६ वटा वडामा सरकारी स्वास्थ्य संस्था संचालन गरिएको छ । 


आनन्दवन स्वास्थ्य चौकीलाई अस्पतालको रूपमा विकास गर्न अस्पताल भवन शिलान्यास भएको छ । नगरमा स्थायी बसोवास भएका व्यक्तिहरूले रक्तसंचार सेवा केन्द्रबाट रगतको सेवा लिएमा वार्षिक १५ पोका बराबरको शुल्क बिलअनुसार शोधभर्ना दिने व्यवस्था मिलाइएको छ । 


नगरका बर्थिङ सेन्टरमा सुत्केरी सेवा लिने महिलालाई १ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने गरिएको छ ।


गर्भवती महिलालाई नगरपालिकाको स्रोतबाट निःशुल्क क्याल्सियम चक्की वितरण गरिँदै आइएको छ । हरेक पटक गर्भ परीक्षण गराउँदा गर्भवतीलाई उपहार दिनेगरी गर्भवतीसँग उपमेयर कार्यक्रम कार्यान्वयन गरिएको छ । विद्यालयबाटै विद्यार्थीहरूलाई स्वास्थ्य सेवा दिनेगरी १२ वटा विद्यालयमा विद्यालयमा नर्स कार्यक्रम कार्यान्वयन गरिएको छ ।


आर्थिक समृद्धिका लागि हामीले तिलोत्तमा लगानी सम्मेलन सम्पन्न गर्‍यौँ । लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार लगानी आउने क्रम जारी छ । कोरोना महामारीका कारण केही काम प्रभावित भए पनि त्यसले पुनः गति लिँदै छ । 


लगानी सम्मेलनमा जनाइएको प्रतिबद्धताअनुसार दुग्ध प्रशोधन परियोजना, कोल्ड स्टोर परियोजना, तिलोत्तमा चक्रपथमा रेल संचालन परियोजनालगायत लगानीका धेरै परियोजनाहरू अघि बढेका छन् । 


निकै चाँढै हामी नगरवासीलाई रेलमा कुदाउँछौ । रेल हेर्न र यात्रा गर्न देशभरका मान्छे तिलोत्तमा आउँछन् । यसलाई निम्तो ने भनेपछि हुन्छ । यी परियोजनाहरू कार्यान्वयनमा आउँदा यहाँको आर्थिक गतिविधि स्वाभाविक रूपमा बढ्नेछ ।

 

यस्तै, नगरपालिकाले साना उद्योगहरू स्थापना गर्ने उद्देश्यले औद्योगिक ग्राम बनाउने काम पनि अघि बढाएको छ । यी सबै विषयहरू यहाँको आर्थिक विकास र समृद्धिका लागि केन्द्रित छन् । 


हामीले कृषि क्षेत्रको उत्थानका लागि अनुदानका कार्यक्रमलाई प्रभावकारी बनाउने, दूधमा अनुदान दिने, पशु बीमामा अनुदान दिने, कृषि उपकरणमा अनुदान दिने, बिउबीजनमा अनुदान दिने तमाम कार्यहरू गर्दै आएका छौँ । यी कार्यक्रमले यहाँको कृषि क्षेत्रको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको हाम्रो विश्वास छ । 


पर्यटन विकासका लागि कुनै सम्भावनाहरू छैनन् यहाँ ?


पर्यटन विकासका लागि हामीले केही कामहरू प्रारम्भ गरेका छौँ । यहाँका पर्यटकीय स्थानहरूको प्रचारप्रसार गर्ने, ती स्थानमा पूर्वाधार बनाउने, संघीय र प्रदेश सरकारलाई पूर्वाधार निर्माणमा सघाउन आग्रह गर्नेलगायतका काम हामीले गर्दै आएका छौँ । 


यस्तै, होमस्टे प्रवर्द्धन, सघन सरसफाइ, सडकमा बुद्धमूर्ति स्थापना, वनबाटिकामा बहुउद्देश्यीय भ्यू टावर निर्माणलगायतका कामहरू पर्यटन विकासका लागि गरिएका प्रयासहरू हुन् । नयाँ बन्ने घरहरूलाई निर्धारण गरिएको कलर कोड पनि पर्यटनसँग सम्बन्धित विषय हो भन्ने लाग्छ ।
 

बढ्दो बेरोजगारीलाई न्यूनीकरण गर्न कुनै योजनाहरू अगाडि सार्नुभएको छ ?


बेरोजगारीलाई न्यूनीकरण गर्नका लागि हामीले उद्यमशीलताको विकासका लागि युवाहरूलाई सीपमूलक तालिमको व्यवस्थादेखि उनीहरूलाई व्यवसायमा जोड्न विनाधितोमा ऋण दिनेसम्मका कामहरू गरेका छौँ । 


उद्यमशीलता प्रवद्र्धन गरेर युवाहरूलाई स्वरोजगार बनाउने र विदेश जाने क्रम रोक्नेमा हाम्रो ध्यान केन्द्रित छ । पछिल्लो समय कोरोना महामारीपछि बढेको बेरोजगारी समस्या न्यूनीकरण गर्न हामीहरूले मूलतः २ वटा परियोजना अघि सारेका छौँ । युवाहरूलाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन विनाधितोमा सहुलियतपूर्ण कर्जा दिन सुरु गरिएकामा अहिले व्यावसायिक आलु खेती प्रवर्द्धन परियोजनासमेत संचालन गरिएको छ ।


स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा ४ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेपछि युवाहरूमा आशाको संचार भएको हाम्रो अनुभव छ  । 
 

मूलतः विदेशबाट फर्किएका बेरोजगार युवाहरूलाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहनेहरू यस कर्जाबाट लाभान्वित हुने हाम्रो विश्वास छ । यस्तै, तिलोत्तमा नगरपालिकामा यस वर्षदेखि ६० बिघा क्षेत्रफलमा आलुको सामूहिक खेती सुरु गरिएको छ । कोरोना महामारीमा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन यो कार्यक्रम अघि बढाइएको हो ।


किसानलाई ज्ञान, सीप तथा प्रविधिमा सहयोग पुर्‍याउन नगरपालिका र यूएनडीपीको सहयोगमा प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारीले परियोजना संचालन गरेको छ । यसअघि घरपरिवारका लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यस वर्ष परियोजनाअन्तर्गत् ७ बिघासम्मको एउटै प्लटमा आलु खेती गरेका छन् । आलुबाहेक अन्य सिजनमा समेत सामूहिक र चक्लाबन्दी खेती गर्ने किसानलाई नगरपालिकाले सधैँ प्रोत्साहन गर्ने नीति लिएको छ । 


यस आर्थिक वर्षमा बजेट खर्चको अवस्था कस्तो रह्यो ?


तिलोत्तमा नगरपालिकाले बजेट खर्चलाई लक्ष्यअनुरूप नै गर्दै आएको छ । खासगरी आर्थिक वर्षको अन्त्यमा हतारहतार बजेट खर्च गर्दा विकास निर्माणको काम गुणस्तरीय नहुने गरेको पाइएपछि हामीले विकास निर्माणको भुक्तानी जेठ महिनाभित्रै गरिसक्ने अभ्यास थालेका थियौँ । तर, गत आर्थिक वर्षमा कोरोना महामारीका कारण त्यो प्रभावित भयो ।


कोरोना महामारीका कारण गत आर्थिक वर्षको बजेट कार्यान्वयनमा समस्या आएकामा भौतिक पूर्वाधार निर्माणलाई चालू आर्थिक वर्षमा निरन्तरता दिएर काम भएको छ । हामीकहाँ बजेट खर्च अत्यन्त सन्तुलित रूपमा हुने गरेको छ । 


चालू आर्थिक वर्षका लागि कति बजेट विनियोजन भएको छ ? बजेटले कुनकुन क्षेत्रलाई प्राथमिकता दिएको छ ?


तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेट स्वास्थ्य, कृषि, शिक्षा र पूर्वाधार विकासमा केन्द्रित गरेको छ । कोरोनाबाट उत्पन्न परिस्थितिलाई मध्यनजर गरी ल्याइएको चालू आर्थिक वर्षको बजेट १ अर्ब ८९ करोड २६ लाख ७२ हजार ५६४ रुपैयाँको छ ।


बजेटमा सामाजिक सुरक्षाको २५ करोड रुपैयाँ बाहेक चालूतर्फ ५२ करोड १ लाख २१ हजार ५६० अर्थात् ३१.६७ प्रतिशत र पूँजीगततर्फ १ अर्ब १२ करोड २५ लाख ५१ हजार ४ रुपैयाँ अर्थात् ६८.३३ प्रतिशत रकम खर्च प्रस्ताव गरिएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको बजेटको आकार ३५ करोड रुपैयाँले बढी हो ।


बजेटमा आम्दानीका स्रोतको रूपमा आन्तरिक राजस्व ५७ करोड ९२ लाख, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २३ करोड ३४ लाख, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट ३ करोड, गत वर्षको मौज्दातबाट १ करोड, लागत सहभागितामार्फत् ४ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य निर्धारण गरिएको छ । 

 

बजेटमा शिक्षामा ३५ करोड ६८ लाख, स्वास्थ्यमा १३ करोड ६० लाख, कृषि, पशुपालन र सिँचाइमा ९ करोड ७६ लाख विनियोजन गरिएको छ । उद्योग तथा वाणिज्य क्षेत्रका लागि ६ करोड ७५ लाख, भवन, शहरी विकास र पूर्वाधारका लागि ४४ करोड ५८ लाख, युवा साझेदारी कार्यक्रम तथा खेलकुद मैदान पूर्वाधारका लागि २ करोड २२ लाख, लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि २ करोड २२ लाख रुपैयाा विनियोजन गरिएको छ । 


तिलोत्तमा नगरपालिकामा सुशासनको अवस्था कस्तो छ ? 


हामीले नगरका सबै निर्णय, बजेट कार्यान्वयन सबैलाई पारदर्शी बनाउने गरेका छौँ । हरेक कार्यपालिका बैठकका निर्णयहरू सार्वजनिक गर्ने, समयसमयमा सार्वजनिक सुनुवाइ गर्ने, नगरवासीका गुनासाहरू सुन्ने र सम्बोधन गर्नेलगायतका कामहरू हामीले सुशासन प्रवद्र्धनका लागि गर्दै आएका छौँ ।

 

कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्ध नि ?

 

हामीकहाँ कर्मचारी र जनप्रतिनिधिहरूको सम्बन्ध अत्यन्त सुमधुर छ । कर्मचारी र जनप्रतिनिधि दुवैको काम, लक्ष्य र उद्देश्य भनेकै जनताको सेवा गर्ने, विकास निर्माण गर्ने, समृद्धि ल्याउने भएकाले यसमा कुनै अलमल वा अर्थोक केही छैन । 


तिलोत्तमाले गरेका अभ्यास अरूका लागि पनि अनुकरणीय छन् । यो अवस्थामा तपाईं स्थानीय तहको समृद्धिका लागि के कस्ता कुरा आवश्यक देख्नुहुन्छ ?


स्थानीय तहको समृद्धिका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा नेतृत्वको इच्छाशक्ति नै हो । हिजो जे गरियो, त्यही तरिकाले आज काम गर्दा समृद्धि आउन सक्दैन । फरक शैली र व्यवहारले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । 


अरूको कुरा सुन्ने, अरूका सुझाव लिने गरियो भने फरक तरिकाले काम गर्न सकिन्छ । तिलोत्तमा नगरपालिकामा हामीहरूले सधैँ नगरवासीलाई माथि राखेर काम गर्ने गरेका छौँ । नगरवासीको सहयोग, सुझाव, सहकार्यले नै हामीले केही फरक काम र अभ्यास गर्न सकेका हौँ ।


हाम्रो मुलुकमा विकास भनेर सडक कालोपत्रेलाई मात्र भन्ने आमप्रवृत्ति छ । समाजिक विकास सबैभन्दा ठूलो विषय हो भन्ने मलाई लाग्छ । भौतिक पूर्वाधारलाई टिकाई राख्न पनि मानिसमा सामाजिक विकास अपरिहार्य छ । यसलाई नेतृत्वले बुझ्न सकेमा समृद्धिलाई अलिक छिटो नजिक ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ ।