close

थिमिका विद्यालय ४ माघदेखि संचालन हुने

थिमिका विद्यालय ४ माघदेखि संचालन हुने

Trulli
ADVERTISEMENT

भक्तपुर- कोरोना महामारीका कारण करिब १० महिनादेखि बन्द मध्यपुर थिमि नगरपालिकाका सबै विद्यालय आउँदो ४ माघदेखि खुल्ने भएका छन् ।

 

नगर शिक्षा, युवा तथा खेलकुद शाखाले सूचना जारी गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो । 


 
कोरोना महामारी रोकथामका लागि जारी भएको लकडाउनसँगै यहाँका सबै शैक्षिक संस्था बन्द भएका थिए । विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गर्दै आएका थिए ।

 

इन्टरनेटको सुविधा नभएको विद्यार्थीलाई सञ्चार माध्यमसँगै घरदैलो कार्यक्रममार्फत शिक्षण कार्य गर्दै आएको नगर शिक्षा शाखाले जनाएको छ । 

 

केही विद्यालयले भौतिक रूपमा कक्षा सञ्चालन गरेका थिए । नगर शिक्षा शाखा टोलीको अनुगमनसँगै कक्षा बन्द गर्न आदेश दिइएको थियो । 

 

नगरले विद्यालय सञ्चालन कार्यढाँचा, २०७७ अनुरूप स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । 

 

शिक्षा शाखा उपसचिव ज्ञानेन्द्र वनका अनुसार विद्यालय प्रवेश गर्नुपूर्व सबै विद्यार्थी तथा शिक्षकले अनिवार्य साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड पूरा गर्नुपर्नेछ । 


विद्यालय सञ्चालन गर्न नगरभित्रका सबै विद्यालयले कार्य योजना र शिक्षण योजना तयार गर्नुपर्नेछ ।

 

कुनै विद्यालय, वडा वा क्षेत्रमा कोरोना संक्रमितको संख्या वृद्धि भए नगरपालिकाले पुनः विद्यालय सञ्चालन बन्द गर्न सक्ने सूचनामा उल्लेख छ ।