close

२ वर्षदेखि अलपत्र छ प्रधानमन्त्री ओलीले शिलान्यास गरेको नमुना सदरमुकाम (भिडियो खबर)

२ वर्षदेखि अलपत्र छ प्रधानमन्त्री ओलीले शिलान्यास गरेको नमुना सदरमुकाम (भिडियो खबर)

ADVERTISEMENT

नवलपरासी पूर्व- प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डै २ वर्षअघि शिलान्यास गरेको नवलपुरको नमुना सदरमुकाममा शिल्यान्यासको २ वर्ष बितिसक्दा पनि अझै भौतिक पूर्वाधार निर्माण सुरु हुन सकेको छैन । 


कावासोती नगरपालिका- ३ मा रहेको ज्योतिकुञ्ज सामुदायिक वनभित्र रहेको १८६ विघा चौर र वन क्षेत्रलाई नमुना सदरमुकाम बनाउनका लागि नेपाल सरकारको नाममा लालपुर्जा ल्याइएको थियो ।

 

तर, अहिले उक्त क्षेत्रमा शिलान्यासको झण्डै २ वर्ष बितिसक्दा पनि नमुना सदरमुकामको स्तम्भबाहेक अरू कुनै भौतिक पूर्वाधार निर्माण हुन सकेको छैन । 


एकातिर नवलपुर जिल्लामा रहेको जिल्ला स्तरका कार्यालयको नाममा लालपुर्जा नहुनु र अर्कोतिर वन कार्यालयले अझै यो क्षेत्र वनकै हो भन्नुले भौतिक पूर्वाधार निर्माणको काम सुरु हुन सकेको छैन ।

 

नवलपुर नयाँ जिल्ला भएसँगै अहिले कावासोती नगरपालिका र यस आसपासको क्षेत्रमा ३ दर्जनभन्दा बढी जिल्ला स्तरका सरकारी कार्यालय स्थापना भइसकेका छन् । 

 

तीमध्ये मालपोत कार्यालय र नापी कार्यालय, डिभिजन वन कार्यालय, विद्युत प्राधिकरण, नेपाल टेलिकम, जिल्ला अस्पताल आफ्नै भवनमा रहे पनि अन्य कार्यालयहरू भने भाडामा बस्न बाध्य छन् । 


यता, नमुना सदरमुकाममा एकीकृत भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको भए पनि जुन गतिमा काम अगाडि बढ्नुपर्ने हो, त्यो ढंगले अगाडि बढ्न नसकेको जिल्ला समन्वय समितिको भनाइ छ ।

 

छिटोभन्दा छिटो काम अगाडि बढाउन यसका लागि सम्बन्धित निकायमा पहल भइरहेको समेत समितिको दाबी छ । 


एकीकृत रूपमा एकै ठाउँमा जिल्लास्थित सरकारी कार्यालयहरू हुँदा सेवाग्राहीहरूले एकै ठाउँबाट सबै काम पूरा गर्न पाउने र छिटो छरितोसमेत हुने भनेर नमुना सदरमुकामको अवधारणा अगाडि सारिएको हो ।

 

तर, अहिले सम्बन्धित कार्यालय निर्माणका लागि मन्त्रालयबाट बजेट विनियोजन भए पनि कार्यालयको नाममा लालपुर्जा नहुँदा कार्यालय भवन निर्माण प्रक्रिया अगाडि बढाउँदा बजेट फ्रिजसमेत भएर जाने गरेको छ ।  


अहिले आफ्नै भवन नभएर भाडामा बस्नुपरेका सबै सरकारी कार्यालयमा सम्बन्धित मन्त्रालयले बजेट विनियोजन गरेर पठाएको छ । तर, बजेट आए पनि सम्बन्धित कार्यालयको नाममा लालपुर्जा नहुँदा काम भने अगाडि बढ्न सकेको छैन । 


त्यसो त नमुना सदरमुकाम निर्माणका लागि काम भने अगाडि नबढेको होइन तर देखिने गरी पूर्वाधार निर्माणको काम भने सुरुवातसम्म हुन सकेको छैन ।

 

नमुना सदरमुकाम निर्माण स्थलका लागि लालपुर्जा प्राप्त गर्ने, ईआईई÷एआईई गर्नेलगायतका काम भने भएका छन् । पटकपटक यस विषयमा कागजी प्रक्रियासमेत अगाडि बढेको छ । 


जिल्लास्थित सुरक्षा निकायदेखि सेवाग्राही कार्यालय सबै एकै ठाउँमा एकीकृत रूपमा भवन निर्माण गर्ने गरी अगाडि सारिएको यो योजना सम्पन्न भए नवलपुर जिल्लाको सदरमुकाम पक्कै नमुना सदरमुकाम बन्ने थियो ।