close

बाग्लुङमा भूकम्प सुरक्षा दिवस : संरचना निर्माणमा कडाइ गर्न सुझाव

बाग्लुङमा भूकम्प सुरक्षा दिवस : संरचना निर्माणमा कडाइ गर्न सुझाव

Trulli
ADVERTISEMENT

बागलुङ- बाग्लुङमा शुक्रबार २३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नारासहित दिवस मनाइएको हो ।

 

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले भूकम्पसम्बन्धी जनचेतनामूलक कार्यक्रमलाई विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए ।

 

भूकम्प सुरक्षा हरेक नागरिकका लागि आवश्यकताको विषय भए पनि राज्यले यसप्रति ध्यान नदिएको उनीहरूको भनाइ थियो । ‘हामीले बनाउँदै गरेका संरचनामा जुन किसिमको भूकम्पीय सुरक्षा विधि अपनाएका छौँ ।

 

त्यसलाई अझ परिमार्जित गरेर लैजानुपर्छ,’ जिल्ला समन्वय समितिका सह-संयोजक विष्णु भुसालले भने, ‘आफ्नै सुरक्षाका लागि भूकम्पीय सुरक्षा विधि अपनाउनुपर्छ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।’


विद्यालय शिक्षा र सञ्चार माध्यमको अधिकतम प्रयोग गरेर गाउँ–गाउँमा भूकम्पीय सुरक्षाका विषयमा चेतना फैलाउनुपर्नेमा उनले जोड दिए । 


कार्यक्रममा बाग्लुङ कांग्रेस सचिव नवराज पौडेलले २०७२ को भूकम्पपछि भइरहेको पुनर्निर्माण व्यावहारिक नहुँदा सर्वसाधारणमा निरासा छाएको बताए । ‘ठूलो परिवारमा दुई कोठे घरको के काम ?’ पौडेलले भने, ‘कहाँ भान्छा बनाउनु, कहाँ सुत्नु, होचा घरमा अग्ला मान्छे नअट्ने समस्या छ ।’ 


उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले भूकम्पीय चेतनामूलक कार्यक्रम बस्ती तहमा पु¥याउनुपर्नेमा जोड दिए । पत्रकार महासंघका कोषाध्यक्ष विजय रानाले पुनर्निर्माण र आन्तरिक सुरक्षामा कमजोरी रहेको औँल्याए ।

 

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन बागलुङका अध्यक्ष तेजप्रसाद निउरेले सबै क्षेत्रको परिचालनबाट हरेक विपद्को सामना गर्न सक्ने समाज र संरचना तयार गर्नुपर्ने बताए ।

 

बागलुङमा भूकम्पको समय भत्किएका निजी आवासका २ हजार ४ सय ८२ लाभग्राही छन् । यीमध्ये २ हजार ३ सय १० घरले अनुदानका लागि सम्झौता गरेका छन् । पहिलो किस्ताको २ हजार २ सय ६६, दोस्रो किस्ताको रकम १ हजार ७ सय २३ र तेस्रो किस्ताको १ हजार ४ सय ५६ घरले मात्रै लिएका छन् । 

 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भूकम्पीय जोखिम कम गर्न संरचना निर्माणमै ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याए ।


भूकम्पको डेमो प्रदर्शनी

 

बाग्लुङमा भूकम्प दिवस अवसरमा डेमो प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा भूकम्पमा परेर केही मानिस घाइते भए । घाइते र उनीहरूको परिवारले गुहार मागे । 


तत्काल स्थानीय मानिस आइपुगे । उनीहरूले प्रहरीमा खबर गरे । प्रहरीले उपचार सामग्रीसहितको उद्धार टोली घटनास्थल ल्याई पु¥यायो । प्राथमिक उपचारपछि घाइतेलाई अस्पताल पठायो ।


भूकम्पले भत्केको घरभित्र १ जना वृद्ध पुरिएको भन्दै उनका छोराले बिलौना गरिरहेका थिए । त्यसपछि प्रहरीको उद्धार टोलीले ड्रिल मेसिन लगाए पर्खाल भत्कायो अनि पुरिएका मानिसको उद्धार गर्‍यो ।

 

उद्धारका लागि प्रहरीले सचेतनापूर्वक काम गरेको थियो । पर्खाल खोलेपछि भित्रको काठको ढोका काटेर छिरेको प्रहरीले अचेत अवस्थामा हरेका घाइतेलाई उद्धार गरेर बाहिर ल्यायो । उनलाई पनि तत्काल अस्पताल लगियो । 

 

यो घटना वास्तविक नभएर कृत्रिम थियो । धौलागिरि बहुमुखी क्याम्पसको चौरमा आयोजित कृत्रिम घटना अभ्यासमा नेपाल प्रहरीको विपद् व्यवस्थापन गुल्मबाट आएका प्रहरी अधिकृत र जवानहरू खटिएका थिए ।

 

अभ्यासमार्फत भूकम्प, आगलागीलगायत दैवीप्रकोपको समय कसरी घाइते तथा मृतकको उद्धार गर्ने भन्ने अभ्यास देखाइएको थियो । 

 

भूकम्प दिवस अवसर पारेर प्रहरीले नेपाल रेडक्रस, बागलुङ उद्योग वाणिज्य संघलगायतको सहकार्यमा कृत्रिम घटना अभ्यास गरेको हो । घटनामा घाइते भएकालाई अस्पतालमा लगेर उपचार गर्न पनि प्रहरी खटिएका थिए ।

वास्तविकताजस्तै लाग्ने अभ्यासले जुनसुकै बेला हुने घटनामा कसरी कुशलतापूर्वक उद्धार गर्नुपर्छ भन्ने कुरा सिकाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए । 


प्रहरीले घटनामा आपतकालीन झोला तयार गरेर राख्न पनि सुझाएको थियो । आपतकालीन झोलामा घरपरिवारलाई कम्तीमा १-२ दिन पुग्ने सुक्खा खाना, पानी, टर्च लाइट र परिचयपत्रजस्ता सामान राख्नुपर्ने सुझाव दिइएको थियो । 

 

भूकम्प गएको अवस्थामा खुला चौरमा भए त्यही सुरक्षित हुने र घरभित्र भए टेबुल, कुर्सीलगायत सामानमुनि टाउको लुकाएर बस्नुपर्ने सिकाइएको थियो ।