close

ज्ञानसँगै सीप सिकाउँदै सामुदायिक पुस्तकालय (भिडियाे खबर)

ज्ञानसँगै सीप सिकाउँदै सामुदायिक पुस्तकालय (भिडियाे खबर)

ADVERTISEMENT

दोलखा- दोलखाको भीमेश्वर नगरपालिकामा एउटा सामुदायिक पुस्तकालय छ । २०७६ सालमा सरकारले नै उत्कृष्ट सामुदायिक पुस्तकालयको रूपमा सम्मान गरेको यो पुस्तकालयले अहिले चर्चामा छ । 


गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले दोलखा जिल्लाकै शैक्षिक सामाजिक, आर्थिक, संस्कृतिक विकासमा उत्कृष्ट योग्दान पुर्‍याएको भन्दै तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्मान गरेका थिए । यो पुस्तकालय अपांगमैत्री र विपद् व्यवस्थापन न्यूनीकरणका क्षेत्रमा काम गरेको कारण नै उत्कृष्ट पुस्तकालयका रूपमा छानिएको थियो ।


अध्ययन, अनुसन्धान गर्नका लागि चरिकोटमा रहेको यो पुस्तकालय विद्यार्थी तथा अन्यको रोजाइको केन्द्र बन्दै गएको छ । भीमेश्वर नगरपालिकाभित्र गौरीशंकर पुस्तकालयले ज्ञान, सीप, प्रविधि र सामुदायिक विकासका लागि अभियान नै संचालन गर्दै आएको छ । 


बढीभन्दा बढी पुस्तक अध्ययन गराउनलाई ग्रामीण भेगमा भएर जीविकोपार्जनसम्बन्धी तालिम एवं प्रशिक्षण दिएर टोलवस्तीका सबै नागरिकमा पुस्तकालयसम्बन्धी ज्ञान दिलाउन नगरपालिका लागिपरेको छ । 


२०६० सालमा स्थापना भएको पुस्तकालयले सीप सिकाइ र व्यावसायिकतातर्फ नागरिकलाई उद्यत गराएर पुस्तक अध्ययन गर्न बानी बसाल्न अभिप्रेरित गरेको पुस्तकालयका अध्यक्ष कृष्णबहादुर बस्नेतको दाबी छ । 


गौरीशंकर सामुदायिक पुस्तकालयले टोलवस्तीहरूमा पुगेर विभिन्न गतिविधि पनि गर्दै आएको छ । राउत गाउँ, बस्नेत टोल, तल्लो खैदाल, पाखाटोल, सहर्पा, विष्णुटोल, भिरमुनी, डाँडागाउँ, बाहुन गाउँ, खबतरी टोल, खड्का टोल, खहरे टोल, बर्षे टोल, माथिल्लो बस्नेत टोलमा सिलाइ, बुनाइ, हस्तकलाका सामग्री निर्माण, पार्लर, जुत्ता-चप्पल निर्माणका तालिमहरू संचालन गर्दै आएको छ । 


जनचेतनामूलक तालिम र कार्यक्रम संचालन गरे पनि त्यो थोरै भइरहेको सहभागीको भनाइ छ ।


हालसम्म पुस्तकालयमा आजीवन सदस्य संख्या १९२ पुगेको छ भने पाठक सदस्यता ५२४ जना र कार्यसमिति १६ जना छन् । पुस्तकालयले सांकेतिक भाषा पनि सिकाउने गरेको छ ।