close

एक हजार घरधुरी छुने बरंजाको नमूना सडक

एक हजार घरधुरी छुने बरंजाको नमूना सडक

Trulli
ADVERTISEMENT

म्याग्दी–म्याग्दीको मंगला गाउँपालिकाको वडा नं. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको छ ।


२०७५ सालमा गाउँपालिकाले ट्याक खोलेको पोक–सातबिसे–ज्यामिरे–तोरीडाँडा–खस्रुपानी वडा कार्यालय हुदै ४ नम्बर वडाको कार्यालय रहेको बुकेनी जोड्ने सडकको पोक देखि ज्यामिरे हुदै पहिरो खोरियासम्मको पहिलो खण्डको स्तरोन्नति भइसकेको छ ।


राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा २ करोड ९९ लाख लागत अनुमान गरिएको आयोजनाको प्रदिप–जुम्ली जेभीले भ्याट सहित १ करोड ८३ लाख ३ हजार ५ सय २४ रुपैयाँमा ७ चैत, २०७६ मा ठेक्का सम्झौता गरेको थियो ।


सम्झौता लगत्तै लकडाउन भएका कारण म्याद थप भएको आयोजना पुस अन्तिम साता सकिएको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिइन् । ‘गत आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य भएपनि कोरोना र लकडाउनले प्रभावित बनायो,’ उनले भनिन् ‘थप गरिएको छ महिनाको म्याद भित्रै ठेकेदारले काम सकेका छन् ।’


आयोजना मार्फत पोक, सातबिसे, ज्यामिरे र पहिरो खोरिया खण्डमा सडक विस्तार, सोलिङ, पर्खाल र नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । बाह्ै महिना नियमित यातायात सञ्चालन गर्ने लक्ष्यसहित ग्रामिण क्षेत्रको नमुना सडक बनाएको उपाध्यक्ष केसीको दावी छ ।  


सातबिसेमा २ सय मिटर डाइभर्सन सडक निर्माण गरिनुका साथै यसअघि तीनदेखि चार मिटर चौडा भएको सडकलाई विस्तार गरेर सात मिटर फराकिलो बनाइएको गाउँपालिकाका इञ्जिनियर सुजन पौडेलले बताए ।  


मापदण्ड अनुसारको मोड र ग्रेड बनाइएको छ । विभिन्न ठाउँमा साढे दुई सय मिटर पक्की नाली र २०० मिटर दुरीमा मेसिनरी पर्खाल निर्माण भएको छ । ९५.५३ घनमिटर सोलिङ, ६०.९६ घनमिटर पिसिसी ढलान, २ सय २४ घनमिटर पक्की मेसिनरी पर्खाल र नाली, एक हजार ३ सय ४४ घनमिटर ग्याबिन जालीको पर्खाल लगाइएको छ ।


विस्तारका लागि सात हजार ८ सय ८१ घनमिटर माटो कटिङ र स्टक्चरको फाउण्डेशनका लागि एक हजार २ सय ६ घनमिटर कटिङ गरेको छ । सम्झौतामा नभएपनि ब्याक फिलिङको काम ठेकेदार आफैले गरेको छ ।

 

साबिक बरंजा गाविसमा पर्ने ३ र ४ नम्बर वडाका बासिन्दाको गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसँग सहज पहुँच स्थापित गराउन यो सडकलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । यो सडकबाट एक हजार भन्दा बढी घरधुरी लाभान्वित हुने भएका छन् ।

 

बाहै महिना नियमित बस सञ्चालन गर्ने लक्ष्यसहित सडक स्तरोन्नतिको आयोजनालाई निरन्तरता दिएको अध्यक्ष रोकाले बताए । उनले माटेबगर र अर्मनको सिमाना तथा फापरखेत र पखेर जोड्ने म्याग्दी नदीमाथि मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको बताए ।

 

यी दुई वटा पुल बनेमा बरंजा र अर्मन बाबियाचौरसँग सिधा सडक सञ्जालमा जोडिने छन् । बरंजा जोड्ने सडक आयोजनालाई यस वर्ष पनि निरन्तरता दिएको छ । यो गाउँपालिकाको गौरवको आयोजना हो । पोकदेखि बुकेनी सम्मको दुरी ६ किलोमिटर छ ।

 

योजना आयोग र गाउँपालिकाको साझेदारीमा यस वर्षपनि तीन करोड ३४ लाख रुपैयाँको लागत अनुमान गरिएको ठेक्का मूल्याङकनको क्रममा रहेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताए । पहिरो र भुक्षय रोकथामका लागि विस्तार गरिएको सडक छेउछाउमा अम्रिसो, राइखन्यु लगायत घाँसका बिरुवा रोप्ने योजना छ ।