close

ठडिँदै भक्तपुरका सम्पदा (भिडियाे खबर)

ठडिँदै भक्तपुरका सम्पदा (भिडियाे खबर)

ADVERTISEMENT

भक्तपुर- भक्तपुर आफैँमा प्राचीन वस्ती बसेको ठाउँका रूपमा परिचित छ । त्यसमाथि पनि पुराना घर र लोभलाग्दो आकृति भक्तपुरको सौन्दर्य मानिन्छ । तर, त्यही सौन्दर्यको रङ २०७२ सालको भूकम्पले लग्यो । 


घर भत्किए, सम्पदा अवशेष बन्न पुगे । पुरातत्त्व विभागले ७३ वटा सम्पदामा क्षति पुगेको भने पनि २१३ वटा संरचना पुनर्निर्माणका चरणमा छन् । भूकम्पले निजी संरचना मात्र होइन, सार्वजनिक स्थल तथा सम्पदासमेत तहसनहस बनायो । 


संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्त्व विभाग भक्तपुरका अनुसार भक्तपुरमा करिब ७३ वटा सम्पदाहरू भूकम्पबाट क्षति भएको थियो ।

 

तीमध्ये २० वटा पूर्ण क्षति, १० वटा आंशिक र ४३ वटा सामान्य क्षति भएको छ । सम्पदा पुनर्निर्माणका लागि सरकारले ५ वर्षको लक्ष्य लिएको थियो । उक्त समय सकिएको अवस्थामा ६० प्रतिशत कार्य सम्पन्न भएको छ । ४० प्रतिशत काम अझै बाँकी छ । 


कुन नगरपालिकामा कति संरचना पुनर्निर्माण हुँदै छन् ?


१. भक्तपुर नगरपालिका


प्रभावित : १४५ संरचना
पुनर्निर्माण सम्पन्न: ८८ संरचना
पुनर्निर्माण जारी: ७ संरचना
पुनर्निर्माणको प्रक्रियामा: ९ संरचना

 

२. मध्यपुर थिमि नगरपालिका


भूकम्प प्रभावित: २३ संरचना
पुनर्निर्माण सम्पन्न: ५ संरचना
पुनर्निर्माण जारी: ९ संरचना
पुनर्निर्माणको प्रक्रियामा: ९ संरचना


३. चाँगुनारायण नगरपालिका


भूकम्प प्रभावित: १६ संरचना
पुनर्निर्माण सम्पन्न: ९ संरचना
पुनर्निर्माण जारी: १ संरचना
पुनर्निर्माणको प्रक्रियामा: ४ संरचना


४. सूर्य विनायक नगरपालिका


भूकम्प प्रभावित: २९ संरचना
पुनर्निर्माण सम्पन्न: ७ संरचना
पुनर्निर्माणको प्रक्रियामा: २२ संरचना


यता, भक्तपुर नगरपालिकाले सम्पदा क्षेत्रमा मात्र होइन, पुराना बजार र सम्पदा क्षेत्र वरिपरिका निजी आवास निर्माणलाई समेत अनुदान दिँदै आएको छ । मौलिक शैलीमा निजी भवन बनाउनलाई पालिकाले घरको मोहडाको आधारमा ३५ प्रतिशत अनुदान दिने गरेको छ । 


नगरपालिकाले उपभोक्ता समितिबाट काम गर्दैै आएको छ । यसका साथै निजी आवासका लागि पनि अनुदानको व्यवस्था गरेको छ । निजी आवास पनि सम्पदाअन्तर्गत पर्ने भएकाले अनुदानको व्यवस्था गरिएको  छ ।

 

उता, विश्वसम्पदामा सूचीकृत दरबार क्षेत्रको निर्माणका लागि स्थानीयबाट सहयोग आउन थालेको छ भने मौलिक शैलीमा पुनर्निर्माण हुँदा स्थानीय पनि खुसी छन् । 


मौलिक शैलीमा पुनर्निर्माण गनुपर्ने तर आवश्यक कच्चा पदार्थको अभाव भएकाले निर्माण कार्यमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएका छन् । आवश्यक सामग्री आएकाले अब पुनर्निर्माण छिट्टै हुने विश्वास लिइएको छ । 


खासमा विभागसँग सम्पदाको पुराना तस्बीर छैनन् । कुन मोहडा र शैलीमा तत्कालीन समयमा सम्पदा निर्माण भएका थिए भन्ने रेकर्ड पनि नहुँदा पुनर्निर्माण कुन ढंगमा गर्ने भन्ने अन्योल कायमै छ । स्थानीयको सल्लाह र विदेशीबाट प्राप्त फोटोको आधारमा पुनर्निर्माण भइरहेको छ ।