close

वडाध्यक्षको नेतृत्वमा नानीबाबुलाई बाँडियो कम्बल

वडाध्यक्षको नेतृत्वमा नानीबाबुलाई बाँडियो कम्बल

Trulli
ADVERTISEMENT

धनुषा– घन्टीको सुईले बिहानको १० दस बजाउँदै थियो । विद्यार्थीहरू आफ्ना कक्षाकोठामा डेस्क, बेन्च पुछ्दै बस्न ठिक्क परेका थिए । शिक्षक कति बेला आउलान् र हाजिरी खोलेर नाम बोलाउन् भनेर पर्खिबसेका थिए, विद्यालयका नानीबाबुहरू ।

 

विद्यार्थीहरूको कोलाहलले जनकपुरस्थित रामजानकी आधारभूत विद्यालय गुन्जिएको थियो । त्यतिबेलै शिक्षकसँगै केही व्यक्तिहरू हातमा प्लास्टिकको पोको बोकेर कक्षामा प्रवेश गर्दा नानीबाबुहरू अक्क न बक्क भए ।

 

प्रदेश २ का सुरक्षा सल्लाहकार पूर्वएआईजी विजयलाल कायस्थको सहयोग, मिथिला फाउन्डेसनको आयोजना तथा जनकपुरधाम उपमहानगर वडा नम्बर ७ वडाध्यक्ष जानकीराम साहको समन्वयमा रामजानकी आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकालाई कम्बल वितरण गर्न आएको प्राध्यानाध्यक लट्टु साहले सुनाए । कक्षाकोठाका उपस्थित विद्यार्थीले ताली ठोके ।


मिथिलाका चित्रकार सुनैना ठाकुरले तिमीहरूलाई हामीले ओढ्ने कोसेली लिएर आएका छौँ भन्नासाथ नानीबाबुहरूको अनुहारमा चमक देखियो । मिथिला फाउन्डेसनका संस्थापक अमित झा ९ वर्षदेखि सहयोगस्वरूप यस्तो काम गरिँदै आएको र यसमा सहयोगी हातको साथ रहेको सुनाउँछन् ।

 

रामजानकी आधारभूत विद्यालयमा आर्थिक रूपमा कमजोर, विपन्न, गरिब र असहाय घरपरिवारका बच्चाबच्चीले पढ्ने गरेको प्रधानाध्याक लट्टु साहले जानकारी दिए । उनले भने, ‘यो कार्यले विद्यार्थीको मनोबल बढाउनुका साथै निरन्तर विद्यालय जानुपर्छ भन्ने मनोविज्ञान सिर्जना गरेको छ ।’


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाअध्यक्ष जानकीराम साहले विद्यालयमा अध्ययनरत छात्रछात्राहरूलाई चिसोबाट बचाउन ओढ्ने दिइएको बताए । गरिब परिवारका बालबालिकालाई पढाइप्रति लगाव बढाएर विद्यालय जानुपर्छ भने भावना जगाउने उद्देश्यले कम्बल बाँडिएको उनले जानकारी दिए ।

 

रामजानकी आधारभूत विद्यालयमा धेरैजसो मुसहर, डुम, चमार समुदायका छात्रछात्राहरूले अध्ययन गर्छन् । सुरु– सुरुमा विद्यालय आउने विद्यार्थीको संख्या न्यून भए पनि विद्यालयको स्तरोन्नति र कक्षाकोठा बढेपछि अहिले संख्या ह्वात्तै बढेको छ ।

 

अहिले विद्यालयमा करिब ३ सय ५० बढी विद्यार्थीले पढ्दै छन् । विद्यालयमा छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय र खानेपानी व्यवस्थापन गरिएको छ ।

 

धनुषाका अन्य सामुदायिक विद्यालयभन्दा राम्रो अवस्थामा रहेको यो विद्यालयमा विद्यार्थीको क्रियाकलाप र सुरक्षालाई ध्यान दिएर सिसिटीभी क्यामेरासमेत जडान गरिएको छ ।