close

१५ माघबाट विद्यालय खुलाउँदै सीमकोट

१५ माघबाट विद्यालय खुलाउँदै सीमकोट

Trulli
ADVERTISEMENT

हुम्ला- कोरोना महामारीले बन्द रहेका हुम्लाको सीमकोट गाउँपालिकाभित्रका विद्यालय आउँदो १५ माघबाट सञ्चालनमा आउने भएका छन् । कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

 

पालिकामा सामुदायिक २३ र निजी ५ गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सीमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

 

गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउनेछ भने मास्क भने विद्यार्थीले आफैंले लगाउनुपर्नेछ । 

 

यसअघि गाउँपालिकाले गत १९ कात्तिकबाट विद्यालय सञ्चालन गरेर एक सातासम्म पठनपाठन गराए पनि उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि बन्द गरिएको थियो ।


जिल्लामाा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र सुरु भई मंसिरमा वार्षिक परीक्षा भएर हिउँदे ३ महिना बिदा हुने गथ्र्यो । विद्यार्थीको पढाइमा बाधा पुगेपछि १५ दिनअघि नै विद्यालय सञ्चालन गरिने भएको उनले जानकारी दिए ।

 

जिल्लाका अन्य गाउँपालिकाका विद्यालय कोरोना त्रासले बन्द छन् । हुम्लामा हालसम्म ९१ जनामा कोरोना संक्रमण देखिएको छ भने तीमध्ये ९० जना निको भएर घर फिर्ता भइसकेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले बताए ।