close

ढोरपाटनका पहिरोपीडित चिसोको लपेटामा, गृहमन्त्रीको गफ मात्रै 

ढोरपाटनका पहिरोपीडित चिसोको लपेटामा, गृहमन्त्रीको गफ मात्रै 

Trulli
ADVERTISEMENT

बागलुङ- गत १७ भदौको बाढीपहिरोले सिंगो बस्ती बगाएपछि उद्धार र राहतको निरीक्षणमा पुगेका गृहमन्त्री रामबहादुर थापासहितका मन्त्री र नेताहरूले ढोरपाटनको बस्ती बसालिने घोषणा गरे ।

 

कतिपयले एकीकृत बस्तीको कुरा गरे भने कतिपयले पीडितको जग्गा जता छ, त्यतै बसाल्ने योजनासमेत सुनाउन भ्याए । 

 

तर, त्यो घोषणाको ६ महिना पुगे पनि ढोरपाटनका पीडित भने चिसो भुइँमै बस्न बाध्य छन् । घर बनाउने ठेगान नभएपछि छाप्रो बनाएर बस्न बाध्य छन् । 


ढोरपाटन नगरपालिका वडा नम्बर ९ स्थित भुजीखोलाको बाढीपहिरोले घरखेत र परिवारका सदस्य बगाएपछि उनीहरूको विचल्ली भएको हो । आश्वासन दिएकाहरूले भने अझै घर बनाउन सहयोग गरेका छैनन् ।

 

पहिरोलगत्तै धेरै दाता र सहयोगीबाट खाद्यान्न र लत्ता कपडा सहयोग पाएका उनीहरूले दिगो बसाइका लागि भने अनुदान पाउन सकेका छैनन् ।

 

पटक-पटक पीडित भेट्न गएका संघीय तथा प्रदेश मन्त्रीहरूले बस्ती बसाल्ने घोषणा गरेका थिए । तर, अहिलेसम्म बस्ती बसाल्ने विषयमा पहल नभएको स्थानीयको गुनासो छ ।


‘सहयोग धेरैले गर्ने सुनाए । अहिलेसम्म सहयोग गर्ने गरी कोही आएको छैन । सरकारी तहको सहयोग पनि अझै आइसकेको छैन,’ वडाध्यक्ष हरिबहादुर घर्ती मगरले भने, ‘अहिलेको चिसोमा सुरक्षित स्थानमा बस्न नपाएकाले धेरैलाई विश्वास छैन ।’ पीडितहरू अहिले पनि जाडो खेपेर छाप्रोमा बस्न बाध्य भएको उनले सुनाए ।


पहिरोपीडितलाई सहयोग गर्न जिल्लाबाटै निर्वाचित सांसदले समेत मुख नदेखाएको गुनासो उनीहरूको छ । 

 

पहिरो खसेको १–२ दिनमै नगरप्रमुख देवकुमार नेपालीले घर बनाइदिने घोषणा गरेका थिए । गृहमन्त्री थापासँगै पुगेका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीसमेतले एकीकृत बस्तीको बखान गरेका थिए ।

 

नगरप्रमुख नेपाली भने नगरको मात्र सहयोगले केही नहुने र संघ एवं प्रदेशबाट आउने सहयोग नपाउँदा काम गर्न नसकिएको दाबी गर्छन् । ‘माथिको बजेट नआउँदा दिगो घर बनाउने योजना सुरु गर्न सकिएको छैन,’ नेपालीले भने, ‘यो वर्ष काम थालेर पीडितलाई बस्ने व्यवस्थापन गर्छाैं ।’


भुजीखोलाको बाढीपहिरोले किनारका १ सय २६ घर बगाएको थियो । घटनामा २२ जनाको मृत्यु भएको थियो भने अझै १५ जना हराएका छन् । 

 

कतिपयले आंशिक क्षति भएका घर मर्मत गरेर बसेका छन् । मर्मत गरे पनि बर्खामा फेरि जोखिम हुने खतरा उत्तिकै छ । पूर्ण क्षति भएका पीडित भने कता बस्ने भन्ने यकिन गर्न सकेका छैनन् । आफ्नै जमिन भएकाले घर बनाउने योजना बनाएका छन् ।

 

कतिपयको जमिन छैन । त्यसैले अर्काको बारीमा छाप्रो बनाएर बसेका छन् । दिगो बस्तीका लागि के गर्ने भन्ने अन्योलै भएको पीडित हुमबहादुर विक सुनाउँछन् ।

 

पहिरोले बस्तीस“गै ढोरपाटन जाने सडक पनि बगाएको थियो । उक्त सडकको सामान्य रूपमा ट्रयाक खुलाइएको छ । सालझन्डी–ढोरपाटन सडक आयोजनाले यो बाटो बनाउनुपर्ने भए पनि अहिलेसम्म कामै थालेको छैन ।

 

पहिरोले दर्जनौँ स्थान बगाएकाले हिउ“दमा सामान्य देखिए पनि बर्खामा पुनः दुर्घटना हुने अवस्था रहेको वडा नम्बर ८ का वडाध्यक्ष नन्दे सुनारले बताए ।


‘चिसो भुइँमा बस्दा कतिपय पहिरोपीडितका बालबालिका र बूढाबूढी बिरामी पनि परेका छन्’, स्थानीय शिक्षक रामबहादुर घर्तीले भने, ‘बाढीपहिरो आएको १ महिनासम्म चामल, नुन, तेल, लत्ताकपडा बोकेर राहतका लागि पुगेकाहरूले अहिले सबै बिर्सिए ।’

 

पहिरोपीडितका लागि धेरै पालिका, दाता र सहयोगीले नगरपालिकालाई नगदै रकम हस्तान्तरणसमेत गरेका थिए । यो रकम कता प्रयोग भएको छ भन्ने अहिलेसम्म सार्वजनिक नगरिएको स्थानीय सुनाउँछन् ।