close

१३ वर्षपछि बल्ल ब्युँतियो धौलीगाड खानेपानी आयोजना

१३ वर्षपछि बल्ल ब्युँतियो धौलीगाड खानेपानी आयोजना

Trulli
ADVERTISEMENT

जुम्ला- तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जुम्लाले आर्थिक वर्ष २०६६/६७ देखि धौलीगाड खानेपानी योजना सुरु गर्‍यो । २०६६ मा सुरु गरिएको धौलीगाड बृहत् खानेपानी आयोजना अधुरो बनेपछि अहिले पुनः ब्युँताइएको हो ।


कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले पहिलो संविधानसभा २०६४ मा सभासद् हुँदा उक्त खानेपानी आयोजनाका लागि तत्कालीन सरकारसँग पहल गरी सुरु गरेका थिए । अहिले पनि उनकै पहिलमा निर्माण सुरु गर्ने तयारी छ । 


मन्त्री भण्डारी जुम्ला आएका बेला बुधबार बैठक राखेर आयोजना पुनः निर्माण गर्ने घोषणा भएको हो । संघीय खानेपानी आयोजना कार्यालयले हेर्दै आएको उक्त आयोजना निर्माण गर्न बैठकमा छलफल भएको मन्त्री भण्डारीले बताए । 


धौलीगाड बृहत् खानेपानी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) १ अर्ब ४७ करोड रुपैयाँको बनेको छ । यस आयोजनामा लाभान्वित गाउँ तथा नगरपालिकाले १ प्रतिशत रकम जम्मा गर्नुपर्ने र ९ प्रतिशत श्रमदान गर्नुपर्ने व्यवस्था रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

 

कुल लागत बजेटको १ प्रतिशत १ करोड ४७ लाख रुपैयाँ लाभान्वित गाउँ तथा नगरपालिकाले रकम जम्मा गरे आयोजना टेन्डरमा जानेछ । 

 

आयोजनाबाट चन्दननाथभित्रका ८ वडा, तातोपानीका ६ वडा र गुठीचौर गाउँपालिकाभित्रका ३ वडाका नागरिक लाभान्वित हुनेछन् । अध्यक्ष न्यौपानेले भने, ‘लाभान्वित वडाका हिसाबमा नगरपालिकाले ६७ लाख, तातोपानीले ५३ लाख र गुठीचौर गाउँपालिकाले २६ लाख ५० हजार रुपैयाँ जम्मा गर्नुपर्नेछ ।’

 
लाभान्वित गाउँ तथा नगरभित्रबाट एउटा मूल समिति र ३ वटा उपसमिति गठन गर्नुपर्ने व्यवस्था रहेकाले माघ दोस्रो साताभित्र समिति गठन गरी रकम जम्मा गर्ने तयारी छ । 


नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतका अनुसार सुरु भएको १३ वर्षसम्म निर्माण नसकिएको आयोजना बनाउन सकिए ३ वटा पालिकाभरि छ्यालब्याल पानी पु¥याउन सकिनेछ । ‘उहीले नै निर्माण सम्पन्न भएर स्थानीयले छेलेखेलो पानी प्रयोग गरिसक्नुपर्ने हो, तर बनेन ।’


सदरमुकाम बजारभित्र खानेपानी हाहाकार छ तैपनि जनप्रतिनिधि यो आयोजनाप्रति उदासीन रहेको उनको बुझाइ छ । यसअघि मुहानमा ८ लाख रुपैयाँमा इन्टेक, ५ लाखमा पानी संकलन च्याम्बर र सात लाख रुपैयाँमा पर्खाल घेराबार भइसकेको छ  ।


हरेक वर्ष उक्त आयोजनाका लागि बजेट आए पनि खर्च नभएर फ्रिज जाने गरेको छ । सरोकारवाला तथा उपभोक्ता समितिले चासो नदिँदा बर्सेनि आयोजनाको नाममा आउने लाखौँ रकम फ्रिज हुने गरेको हो । 

 

आयोजनाका लागि १ हजार ३ सय मिटर जीआई पाइप प्राप्त भए पनि प्रयोग नगर्दा खानेपानी कार्यालयको खुला चौरमा खिया लागेर नष्ट हुने अवस्थामा पुगेको छ । तत्कालीन खानेपानीमन्त्री प्रेमबहादुर सिंहले जुम्लामै आएर आयोजना निर्माण गर्ने प्रतिबद्धता जनाए पनि निर्माण हुन सकेको थिएन ।