close

पालिकाका २० खबरः कोरोनाको खोप आयो, दुर्घटनाले ज्यान खायो (भिडियो खबर)

पालिकाका २० खबरः कोरोनाको खोप आयो, दुर्घटनाले ज्यान खायो (भिडियो खबर)

ADVERTISEMENT

देशभरका पालिकामा के भए ? कुन जनप्रतिनिधिले के काम गरे ? कसले कहाँ अनियमितता गर्‍यो ? कहाँ कसले कस्ता गतिविधि गरे ? दिनभरका खबर


१) दस वर्षअघि धनुषामा एक जनाको गोली हानी हत्या गर्ने व्यक्ति सिरहाबाट पक्राउ, पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-२का ३४ वर्षीय जागेश्वर यादव ।

 

२) पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ मा ना ५ ख ४४८८ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यु, १७ जना घाइते, मृतक दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ की राजकुमारी चौधरी र रीता चौधरी ।

 

३) कोरोनाविरुद्धको खोपको १० लाख डोज भारतबाट काठमाडौं आइपुग्यो, अब प्रत्येक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइने ।

 

४) गण्डकी प्रदेश सरकारले कोरोनाका कारण प्रभावित भएका उद्यमी व्यवसायीलाई बिनाब्याज ऋण उपलब्ध गराउने, २१ माघदेखि २० फागुनसम्म कागजातसहित निवेदन पेस गर्न सकिने ।

 

५) सिन्धुपाल्चोकको तातोपानी नाका २० दिनका लागि बन्द, अब सीमामा रहेको मितेरी पुल पुनर्निर्माण गरिने ।

 

६) प्रधानमन्त्री केपी ओलीको कदमको विरोधमा उत्रिएका राजविराज नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रेम यादवसहित ६ जना दाहाल-नेपाल समूहमा आबद्ध कार्यकर्र्ता सप्तरी प्रहरीको नियन्त्रणमा, ओली समूहद्वारा र्‍यालीसहितका कार्यक्रम सम्पन्न ।

 

७) निर्वाचन आयोगद्वारा आगामी निर्वाचनसम्बन्धी तोकिएका कार्यमा सहयोग र समन्वय गर्न सबै प्रदेश र स्थानीय तहमा एक/एक जना सम्पर्क व्यक्ति तोक्ने निर्णय, जिल्ला जिल्लामा निर्वाचनको तयारी ।

 

८) झापाको भद्रपुर नगरपालिका बालमैत्री घोषणा भएको खुसियालीमा ७ नम्बर वडा समितिद्वारा सहयोगी संघ-संस्थालाई कदरपत्र, नगरप्रमुख जीवनकुमार श्रेष्ठद्वारा कदरपत्र हस्तान्तरण ।

 

९) परीक्षा केन्द्रभन्दा बाहिर होटलमा विद्यार्थीको परीक्षा लिएको आरोपमा पोखरा महानगरपालिका वडा नम्बर १ को राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित ३ शिक्षक पक्राउ, पक्राउ पर्नेमा सूर्य तिवारी, घनश्याम रेग्मी र शिरीषकुमार बस्ताकोटी ।

 

१०) बाग्लुङको ढोरपाटन नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सूचनामार्फत गर्‍यो पदमुक्त, पुनमाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा यसअघि नै जिल्ला अदालतमा मुद्दा दर्ता ।


 
११) राजनीतिको अखडा बन्दै धनुषाका सामुदायिक विद्यालय, पुस्तकालय व्यवस्थापन एवं किताब खरिद गर्न अनुदानस्वरूप ३० विद्यालयको खातामा आएको १ करोड ८८ लाख ५० हजार रुपैयाँ कामै नगरी झ्वाम

१२) रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन राडीबजारमा लगाइएको निषेधाज्ञा हट्यो, अवस्था सामान्य ।

 

१३) स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकका खेतबारीको माटो परीक्षण गर्न थाल्यो, ११ माघसम्म परीक्षण चल्न ।

 

१४) हावाहुरीका कारण हुम्लाको सीमकोटलगायत क्षेत्रको जनजीवन प्रभावित, हवाई सेवासमेत अवरुद्घ ।

 

१५) सप्तरीको खड्क नगरपालिका क्षेत्रमा जंगली हात्तीको आतंक, स्थानीयको घरमा क्षति, कल्याणपुर क्षेत्रका नागरिक रातभर जाग्राम ।

 

१६) बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० मा भन्सार छलेर ल्याएको भारतीय नम्बर प्लेटको बोलेरो गाडी बेवारिसे अवस्थामा फेला, आवश्यक कारबाहीका लागि गाडी भन्सार कार्यालय वीरगञ्जमा बुझाइयो ।


 
१७) इलाम नगरपालिकाद्वारा नगरका माध्यमिक विद्यालयलाई टेबलटेनिस बोर्ड वितरण, अब विद्यार्थीले टेनिस खेल्न पाउने ।

 

१८) सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय भोजपुरको सक्रियता, मतदान स्थल परिवर्तन र केन्द्र थपघट ।

 

१९) सामाजिक सञ्जालमार्फत ठगी गर्ने गिरोहमा संलग्नमध्येका १ जना बाराबाट पक्राउ, पक्राउ पर्नेमा प्रसौनी गाउँपालिकाका २७ वर्षीय भोला महतो ।

 

२०)  ताप्लेजुङको फुङ्लिङस्थित ल्याङ्वा क्षेत्रमा मे१त २४१२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा २ जना घाइते, ट्रयाक्टर जलेर नष्ट ।