close

स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय खोल्नू : काठमाडाैं महानगर

स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय खोल्नू : काठमाडाैं महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय खोल्न नगरभित्रका सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएका छ । आइतबारको महानगर शिक्षा समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।


बैठकमा कोभिड-१९ महामारीपछि विद्यालय सञ्चालन गर्ने प्रस्तावमा छलफल गर्दै शिक्षा र स्वास्थ्य मन्त्रालयबाट जारी मापदण्डका आधारमा विद्यालय सञ्चालन कार्यढाँचा तयार गरी कक्षा सञ्चालन व्यवस्था मिलाउन सबै विद्यालयलाई सूचित गर्ने निर्णय गरेको हो । 


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय जारी गरेको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका, २०७७ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड विद्यालय व्यवस्थापन समिति र अभिभावक संघको अनुगमन तथा रेखदेखमा विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरिएको समितिका अध्यक्ष एवं महानगर प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए ।


सरोकारवालाको रेखदेख, विद्यालयको भौतिक पूर्वाधारको उपलब्धता, विद्यार्थीको संख्या र जनशक्ति व्यवस्थापनका आधारमा विद्यालयले कार्यढाँचा तयार पारेर विद्यालय सञ्चालन गर्ने गरी निर्णय गरिएको हो । 

 

शुल्क निर्धारण समिति गठन 

 

शैक्षिक संस्थाले आफूखुसी शुल्क असुलेको गुनासोपछि महानगरले शुल्क निर्धारण समिति गठन गरेको छ । महामारीका बेला धेरैजसो आर्थिक गतिविधि ठप्प थिए । यसबेला विद्यालयले लिने शैक्षिक तथा अन्य शुल्कका विषयमा अध्ययन गर्न समिति गठन गरिएको हो । समितिले ३ दिनमा प्रतिवेदन दिनेछ । 


महानगरका प्रवक्ता एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा गठित समितिमा वडा नम्बर ५ का अध्यक्ष रमेश डंगोल र कार्यपालिका सदस्य रश्मी खड्का सदस्य छन् ।


समितिका अन्य सदस्यमा प्याब्सन काठमाडौंका प्रतिनिधि मुरारीप्रकाश सञ्जेल, गुठी/धार्मिक र सहकारी विद्यालयबाट रुपक राजवंशी, अभिभावक प्रतिनिधि होमनारायण शर्मा, सामुदायिक विद्यालयबाट राजेश्वरमान श्रेष्ठ र समितिको सदस्यसचिवका रूपमा शिक्षा अधिकृत मोती खनाल रहेका छन् । 


गत वर्ष वैशाख र जेठमा सबै विद्यालयले शुल्क मिनाहा गर्नुपर्ने निर्णय महानगरले गरेको थियो । समितिलाई वैकल्पिक कक्षा सञ्चालन भएका बेला र विद्यालय सञ्चालन भएका बेला लिने शैक्षिक र अन्य शीर्षकका शुल्कको विवरणसहित लिनुपर्ने-नपर्ने गरी सिफारिस गर्ने जिम्मेवारी दिएको छ ।