close

बुटवल-चिडिया खोला सडक खण्डको शिलान्यास 

बुटवल-चिडिया खोला सडक खण्डको शिलान्यास 

Trulli
ADVERTISEMENT

रूपन्देही- बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरण बढिरहेका बेला बुटवल-बेलहिया ६ लेन सडक विस्तार भए पनि रूपन्देहीबासीका लागि व्यवस्थित सहरीकरणको नमुना मार्ग बन्ने भएको छ ।

 

स्थानीयको विरोधले रोकिएको बुटवल चौराहादेखि चिडिया खोलासम्मको ३ किलोमिटर खण्ड ६ लेनमा विस्तारको काम अदालतको आदेशपछि सुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बुटवल-चिडिया खोला सडक खण्डको शिलान्यास गरे ।

 

कार्यक्रममा अर्थमन्त्री पौडेलले मुलुक विकासको गतिमा अगाडि बढिसकेको दाबी गर्दै अबका केही वर्षमा बुटवल विश्वकै सुन्दर सहर बन्ने दाबी गरे ।


उनले ४-५ साताभित्रै सिद्धबाबा सुरुङ मार्गको टेन्डर खुल्ने जानकारी दिए । बुटवल-नारायणगढ, बुटवल-धानखोला र बुटवल-पोखरा आधुनिक सडक सञ्जालमा छिट्टै जोडिने अर्थमन्त्री पौडेलको भनाइ छ ।


बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि २०७३ मा ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भए पनि कतिपय घरधनीले सडक खाली नगरेर अदालती प्रक्रियामा गएपछि ठेकेदार कम्पनीले काम नगरी म्याद थप्दै आएको थियो ।

 

अदालती मुद्दाका कारण सडक विस्तारको काम रोकिएको थियो । ४ लेन सडकअन्तर्गत दुवैतर्फ ५-५ मिटरको सर्भिस लेनसहितको सडक २०७९ वैशाख मसान्तसम्म सम्पन्न गर्न ठेकेदार कम्पनीलाई म्याद दिइएको छ । 


व्यापारिक मार्ग विस्तार आयोजना, मणिग्राम रूपन्देहीका प्रमुख जयलाल मरासिनीले अहिले सडक छेउका घर हटाउने क्रम जारी रहेको र अब केही दिनमै यो काम तीव्र गतिमा अघि बढ्ने बताए ।  नेपालकै पहिलो व्यापारिक मार्ग बेलहिया-बुटवल ६ लेन सडक खण्ड गौतम बुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवा यही सडकमा पर्छ । 

 


नेपालको दोस्रो व्यापारिक नाका सुनौली तथा भैरहवादेखि महेन्द्र राजमार्गसँग जोड्ने एक मात्र मार्ग भएकाले पनि यो सडकलाई नेपालकै गौरव मानिने गरेको छ ।

 

बढ्दो जनसंख्या र अव्यवस्थित सहरीकरण बढिरहेको अवस्थामा यो मार्ग व्यवस्थित सहरीकरणको नमुना भएको रूपन्देही उद्योग संघका पूर्वअध्यक्ष गणेश अधिकारीको धारणा छ । यो सडक सम्पन्न भए बुटबल-बेलहिया १७ मिनेटमा पुग्न सकिनेछ ।

 

मंगलापुर-कान्छीबजार सडक पनि स्तरोन्नति हुने

 

तिलोत्तमा नगरपालिकाको बीच भागमा रहेको मंगलापुर-कान्छीबजार सडक स्तरोन्नति हुने भएको छ । खाल्डाखुल्डी र साँघुरो सडकका कारण यात्रुले हिउँदमा धुलो र बर्खामा हिलोको सास्ती बेहार्नुपर्ने समस्या हट्नेछ । 


संघीय सरकार र विश्व बैंकबीच भएको सम्झौताअनुसार मंगलापुर-कान्छीबजार सडक स्तरोन्नतिको काम अघि बढाउने गरी तिलोत्तमामा पूर्वाधार आयोजनाको प्रोजेक्ट सुरु भएको छ । सम्झौताअनुसार तिलोत्तमासहित मुलुकका ३३ नगरपालिकामा यो प्रोजेक्ट लन्च भएको हो ।

 

अनलाइन माध्यमबाट गरिएको प्रोजेक्ट लन्च कार्यक्रममा संघीय सरकार, विश्व बैंक तथा स्थानीय सरकारका प्रतिनिधिले सहभागिता जनाएका थिए । 


यो आयोजनाले पहिलो चरणमा मंगलापुर-कान्छीबजार सडकलाई नमुनाको रूपमा स्तरोन्नतिको गरिनेछ । स्थानीय जनप्रतिनिधिको विशेष सक्रियतामा राइट अफ वे ४३ फुट कायम गरिएको यो सडकको लम्बाइ ८ दशमलव ६ किलोमिटर छ ।


परियोजनाअनुसार विश्व बैंकले पहिलो चरणमा ९२ करोड रुपैयाँ खर्चिनेछ । परियोजनाअन्तर्गत विश्व बैंकले यो सडकपछि प्राथमिकताका आधारमा अन्य सडकमा पनि लगानी गर्नेछ । 


अनलाइन माध्यमबाट गरिएको प्रोजेक्ट लन्च कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरे, उप-प्रमुख जागेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, प्रवक्ता सुरेन्द्र श्रीलगायतको सहभागिता थियो ।