close

सडक निर्माणमा नगरप्रमुख–वडाध्यक्ष जुहारी

सडक निर्माणमा नगरप्रमुख–वडाध्यक्ष जुहारी

Trulli
ADVERTISEMENT

धनुषा– सडक विस्तारका क्रममा गैरकानुनी तवरले स्थानीयको जग्गा अतिक्रमण गर्न खोजेपछि धनुषाको विदेह नगरप्रमुख बेचन दासको विरोध भएको छ ।

 

हुलाकी राजमार्ग आयोजनाको निर्माणाधीन वीरेन्द्र बजार–महिनाथपुर सडक खण्डअन्तर्गत विदेह नगरपालिकाकाको वडा नम्बर ६ स्थित तिनकौरियामा नगरप्रमुख दासले अदालतको आदेशविपरीत काम गराउन खोजेपछि त्यसको विरोध भएको हो ।

 

नगरप्रमुखले पदीय दायित्वविपरीत काम गर्न खोजेकाले प्रतिकारमा उत्रिन बाध्य भएको स्थानीय राजकुमार मण्डलले बताए । उनले भने, ‘निर्माण कम्पनीले बाटो बनाइरहँदा नगरप्रमुख, विद्यालयका प्रधानाध्यापकलगायतका केही व्यक्तिले नक्साविपरीत काम गर्न दबाव दिएपछि काम बन्द भयो । त्यसपछि उनीहरू आफैंले सहमति गरेर पर्खाल लगाए । पछि नगरप्रमुखको दलबलले जबर्जस्ती त्यो पर्खाल पनि भत्काइएपछि विरोधमा उत्रिनुपरेको हो ।’

 

अदालतको आदेशविपरीत स्थानीयको जग्गा नै अतिक्रमण गर्न लागेपछि विरोध सुरु भएको मण्डल सुनाउँछन् । एक दर्जन बढी स्थानीयको जग्गा अतिक्रमण हुने गरी नक्साविपरीत बांगो सडक बनाउन थालिएपछि विवाद उत्पन्न भएको स्थानीय मनोजकुमार गुप्ताले जानकारी दिए ।

 

उनले भने, ‘३२ किलोमिटर निर्माण हुने भनिएको सडक खण्डमा सम्पूर्ण निर्माण पूरा भइसकेको छ तर नगरप्रमुखको दादागिरीका कारण तिनकौरियामा करिब ४ सय मिटर सडकको काम सम्पन्न हुन सकेन । विद्यालय र एक वडाध्यक्षको जग्गा बचाउन उनीहरूले जबर्जस्ती स्थानीयको जग्गामा पर्खाल सार्ने प्रयास गर्दै आएका छन् । नगरप्रमुखजस्तो पदमा बसेका व्यक्तिले अदालतको आदेश अवहेलना गर्नु दुःखद विषय हो ।’

 

स्थानीयले विरोध गरिरहँदा सम्बन्धित वडाका वडाध्यक्ष पनि नगरप्रमुख दासले कानुन मिच्न नपाउने जिकिर गर्छन्् । वडाध्यक्ष जयराम मण्डलले भने, ‘मापदण्डविपरीतको कार्य हुनु गलत हो । अदालतको आदेश र मापदण्डअनुसार काम हुनुपर्छ । जबर्जस्ती कार्य अघि बढाइए त्यो काम बन्द गराउँछु ।’

 

मापदण्डअनुसार ३० मिटर चौडा सडक निर्माण गर्न २०६६ मा मुआब्जासमेत कायम भइसकेको अवस्थामा १६ मिटर चौडा सडक निर्माणका लागि ठेक्का स्वीकृत भई काम भइरहेको छ । जसअनुसार मूल सडकको केन्द्रलाई आधार मानी दुवैतर्फ ८–८ मिटर जग्गा अधिग्रहण गर्नुपर्नेमा नगरप्रमुखलगायतका व्यक्तिले एकतर्फी स्थानीयको जग्गा अधिग्रहण गर्न÷गराउन खोज्दा स्थानीयले उच्च अदालतमा मुद्दा दर्ता गराएका थिए ।
 
स्थानीयले हुलाकी राजमार्ग योजना कार्यालय, ठेकेदार पप्पु जेभी, नगरप्रमुख बेचन दास, वडा नम्बर ६ को कार्यालय, वडाध्यक्ष जयराम मण्डलसहित १० जनालाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा दायर गरेको मुद्दामा न्यायाधीशद्वय बालकृष्ण उप्रेती र ध्रुवराज नन्दको संयुक्त इजलासले पुनः मापदण्डअनुसार सडक निर्माण गर्न÷गराउन विपक्षीहरूको नाममा १४ जेठ २०७६ मा अन्तरिम आदेश जारी गरेको थियो ।

 

आदेशमा भनिएको छ, ‘हुलाकी राजमार्ग सडक निर्माण विस्तारको आयोजना सम्पन्न गर्ने प्रयोजनार्थ जग्गा प्राप्तिका लागि प्रकाशित भएको सूचना, सडकको लगत स्टिमेट, प्रस्तावित सडकको नापनक्सासमेतका प्रमाणका आधारमा अधिग्रहणमा परेका जग्गामा मात्र सडक निर्माण विस्तार गर्नु, हुलाकी सडक आयोजनाले सडक निर्माण विस्तार गर्नुपूर्व सम्बन्धित जग्गाधनीको नाममा जारी गरेको जग्गा प्राप्तिको सूचनालाई आधार मानी सोही सूचनामा उल्लिखित प्रक्रियाको आधारमा मात्र सडक निर्माण विस्तारको कार्य गर्नु÷गराउनु, उल्लिखित आयोजना सञ्चालन कार्यान्वयनमा कुनै पनि प्रकारको अवरोध र विलम्ब नगरी तोकिएकै समय सडक निर्माण विस्तारको कार्य सम्पन्न गर्नु भनी विपक्षीहरूको नाममा परमादेशको आदेश जारी हुने ठहर्छ ।’


अदालतले स्पष्ट रूपमा कुनै प्रकारको अवरोध नगर्न भनिरहँदा केही सातापूर्व मात्र नगरप्रमुख दासलगायतका व्यक्तिहरूले बल प्रयोग गरी डोजर लगाएर निर्माणाधीन पर्खाल भत्काइदिएका थिए ।

 

नक्साअनुसार काम गरिरहँदा जनप्रतिनिधिले नै पर्खाल भत्काउन लगाएपछि थप आर्थिक भारको कारण देखाउँदै निर्माण कम्पनीले काम रोकेको छ भने स्थानीयले अदालतको अवहेलना भएको भन्दै थप कानुनी उपचारतर्फ केन्द्रित भएका छन् ।

 

यसैबीच नगरप्रमुख दासले सडक निर्माणमा देखिएका विवाद छिट्टै समाधान गरी निर्माण तीव्र बनाइने प्रतिक्रिया दिए । दासले भने, ‘ममाथि लगाइएको आरोप गलत हो । अदालतको आदेश र मापदण्डअनुसार नै काम गर्ने पक्षमा छु ।’