close

बागलुङ नगरको फोहोरलाई कालीगण्डकी र काठेखोलाको भर

बागलुङ नगरको फोहोरलाई कालीगण्डकी र काठेखोलाको भर

Trulli
ADVERTISEMENT

बागलुङ– सदरमुकाम बागलुङ बजारमा ढल निकास गर्न बनाइएको डीपीआर २ पटक सच्याइए पनि अझै ठेक्का लागेको छैन । झन्डै २ वर्षअघि बनाएको डीपीआर अझै कार्यान्वयनमा नआएको हो ।


व्यवस्थित ढल निकासका लागि बनाइएको डीपीआरको काम सुरु हुन नसक्दा बागलुङको सरसफाइ अभियान प्रभावित भएको छ । सहकारीमार्फत फोहोर उठाउने काम गरिरहेको बागलुङ नगरपालिकाले व्यवस्थित ढल निकास बनाएर अर्गानिक मलसमेत बनाउने लक्ष्य राखेको थियो ।


‘डीपीआरअनुसारको ठेक्का प्रक्रियामा जाने तयारी छ । छिट्टै काम सुरु हुनेछ,’ इन्जिनियर गौरव शर्माले भने, ‘भूगोलअनुसारको डिजाइ्न र लागत स्टिमेटमा सुधारपछि मात्रै यो कामले गति लिएको हो ।’ 


झन्डै १ अर्ब रुपैयाँमा बागलुङको ढल निकास बन्ने उनले बताए । व्यवस्थित ढल निकास अभावमा नगरपालिकाले संकलन गर्ने फोहोर कालीगण्डकी र काठेखोला छेउमा अव्यवस्थित रूपमा विसर्जन गर्दै आएको छ । 


यसरी फालिएको फोहोरले कालीगण्डकी करिडोर, मध्यपहाडी लोकमार्ग र कालीगण्डकी नदीसमेत प्रदूषणमा परेको छ । दैनिक सयौँ यात्रीले दुर्गन्ध बेहोर्न बाध्य छन् भने नदी प्रदूषणले जलचरलाई समस्यामा पारेको अधिवक्ता राम शर्माले बताए ।

 
घरघरमा बनाइएका सेफ्टी ट्यांकीबाट निस्कने फोहोरलाई सफाइको नाममा खोला, नदी र सार्वजनिक स्थानमा फाल्ने बागलुङमा बढी छन् । सेफ्टी ट्यांकी सफाइ भन्दै एक ट्रिप ट्रयाक्टरको २० देखि २५ हजार रुपैयाँ उपभोक्ताबाट लिएर सफाइ कम्पनीले खोलाछेउमा लगेर फाल्ने गरिरहेका छन् ।


उक्त समस्याबारे पटक–पटक आवाज उठेपछि नगरपालिकाले ३ वर्षअघि ढल निकासको योजना बनाएको थियो । तर, गुरुयोजनालाई अझै कार्यान्वयनमा नल्याएको हो । 


मानवजन्य फोहोर व्यवस्थापन गर्न नसक्दा मानव स्वास्थ्यमा गम्भीर असर परेको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए । ‘फोहोरलाई दुर्गन्धकै रूपमा छाडियो भने रोगको संक्रमण बढी हुन्छ,’ गुरौले भने, ‘ढल निकासमार्फत अर्गानिक मल उत्पादन भयो भने रोग लाग्ने र सर्ने खतरा कम हुन्छ ।’ 


संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत ढल व्यवस्थापनको काम गर्ने भनेको नगरपालिकाले समन्वय र सहकार्य भने गर्न सकेको छैन । उक्त व्यवस्थाअनुसारको काम भए सार्वजनिक स्थानमा ढल विर्सजन रोकिने थियो । 


काठमाडौंको एसडी इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत डीपीआर निर्माण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरको मुख्य बजार रहेको वडा नम्बर १, २, ३ र ४ मा ढल निकासको काम गरिने उनले बताए ।


ढल निकासका लागि व्यवस्थित ट्रिटमेन्ट प्लान्ट बनाइने पौडेलको दाबी छ । ‘ढललाई कम्तीमा ५ वटा ट्रिटमेन्ट प्लान्टमार्फत जैविक मलको रूपमा उत्पादन गरिनेछ,’ उनले भने, ‘खोला र नदीमा फोहोर बग्ने क्रम रोकेर जैविक मल बनाउँदा उत्पादनमै लगाउन सकिन्छ ।’ 


जैविक मल बनाउँदा फस्फोरसको मात्रा बढाउन सकिने इन्जिनियरबाटै सुझाव आएकाले लगानी खोजी भइरहेको उनको भनाइ छ । संशोधित स्टिमेटअनुसार ढल निर्माण गर्दा बजारका सबै सडकको कालोपत्रेसमेत गर्ने गरी लागत राखिएको छ ।


अध्ययनअनुसार नगर क्षेत्रको ३५ हजार जनसंख्यालाई लक्षित गरेर पहिलो चरणको ढल निकास गरिन लागिएको हो । त्यसका लागि २ किमि मुख्य ढल र ८ किमि शाखा ढल निर्माणको सर्भे गरिसकिएको छ । 


डीपीआरको प्रारम्भिक प्रतिवेदनमा सरोकारवालाले छलफल गरेसँगै पुनः विस्तृत सर्भेक्षण गरेर डीपीआर बुझाउन सुझाव दिएअनुसारको संशोधन भएपछि टेन्डर प्रक्रियामा जान लागेको नगरपालिकाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताए ।