close

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानः सरकारको तोक्यो कार्यक्षेत्र

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानः सरकारको तोक्यो कार्यक्षेत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- सरकारले व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको नयाँ कार्यक्षेत्र तोकेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै चालू आर्थिक वर्षको हकमा कार्यक्रम सञ्चालन भइरहेको भए साविकबमोजिम कार्यान्वयन गर्ने गरी व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यक्षेत्र निर्धारण गरेको हो ।

 

मन्त्रालयले नेपालको संवैधानिक व्यवस्थाअनुसार संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा साविकका व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान संघ र प्रदेशमा हस्तान्तरण गर्ने प्रक्रियाअनुरूप कार्यक्षेत्र निर्धारण गरिएको जनाएको छ । 

 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव देवराज कार्कीका अनुसार ३ वटा व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यक्षेत्र निर्धारण गरिएको छ । जसअनुसार प्रदेश १ को इटहरी सुनसरीमा रहेको व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यक्षेत्र अब प्रदेश १ अन्तर्गतका सबै १४ जिल्ला र प्रदेश २ का सप्तरी र सिराहासमेत पर्नेछन् ।

 

यस्तै, लुम्बिनी प्रदेशस्थित रूपन्देहीको बुटवलस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यक्षेत्र लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशअन्तर्गतका सबै जिल्लामा रहनेछन् ।


ललितपुरको भैँसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको कार्यक्षेत्रमा बागमती र गण्डकी प्रदेशअन्तर्गतका सबै जिल्ला र प्रदेश २ का धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट गरी ६ जिल्ला कायम गरिएको मन्त्रालयले जनाएको छ ।