close

जुम्लामा सुरक्षाः प्रहरी छैनन्, थुनुवा भागिरहन्छन्

भाडाको जीर्ण घरमा प्रहरीको बास, नयाँ बन्नेमा छैन आश

जुम्लामा सुरक्षाः प्रहरी छैनन्, थुनुवा भागिरहन्छन्

भाडाको जीर्ण घरमा प्रहरीको बास, नयाँ बन्नेमा छैन आश

Trulli
ADVERTISEMENT

जुम्ला– गत शनिबार राती जिल्ला प्रहरी कार्यालय जुम्लाकै हिरासतबाटै ३ जना थुनुवा भागे । हिरासतबाटै भागेका ३ जना थुनुवालाई आइतबार बिहानै प्रहरीले चन्दननाथ नगरपालिकाको वडा नम्बर ९ बाट पक्राउ गर्‍यो ।


हिरासतबाटै फरार भएर पक्राउ पर्नेमा सवारी ज्यान मुद्दाका थुनुवा नितेश शाही, कर्तव्य ज्यान मुद्दाका थुनुवा यज्ञ सार्की र खगेन्द्र सुनार हुन् ।


जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत भवन जीर्ण छ । नयाँ भवन निर्माणका लागि भएका भवन भत्काइयो । बाँकी रहेका केही जीर्ण भवनमा प्रशासन फाँट, मुद्दा फाँट र हिरासत कक्ष  छ ।


प्रहरीको नियन्त्रणमा रहेका थुनुवा भाग्नुको मुख्य कारण भनेकै जीर्ण भवन हिरासत हुनु र दरबन्दीअनुसार प्रहरी नहुनु नै हो । नयाँ भवन २९ जेठ २०७६ मा निर्माण थालिएको थियो । तर, भवन निर्माण सम्पन्न मिति गुज्रिसक्दा पनि जगभन्दा माथि उठ्न सकेको छैन । सम्झौताअनुसार २८ जेठ २०७७ मा भवन बनिसक्नुपर्ने हो ।


भवन निर्धारित समयमा नबन्दा सुरक्षाकर्मीहरू एकै कोठा बस्न बाध्य छन् । तत्कालीन प्रहरी नायब उपरीक्षक सीताराम रिजालले २८ जेठ २०७७ मा भवन निर्माण सम्पन्न हुने गरी सम्झौता गरेका थिए । तर, भवन निर्माण सम्पन्न गर्नुपर्ने मिति गुज्रिँदासम्म १० प्रतिशत काम पनि भएको छैन ।


१ सय ५ जना प्रहरी दरबन्दी रिक्त

 

दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठूलो सहर जुम्लामा बढ्दो सहरीकरण, बढिरहेका हिंसात्मक गतिविधिबीच दरबन्दीअनुसार प्रहरी जनशक्ति नहुँदा सुरक्षा चुनौती बढ्दै गएको हो । जुम्लाको कठ्यांग्रिँदो चिसोमा १ जना प्रहरीले दैनिक १८ घन्टासम्म ड्युटी गर्नुपर्ने बाध्यता छ ।


थोरै संख्यामा रहेका प्रहरीले ओभर टाइम ड्युटी गरेरै पनि जिल्लामा शान्ति–सुरक्षा थेगिरहेका छन् । स्वयं आफैं असुरक्षित भएर दैनिक १८ घन्टा ड्युटी गरेर नागरिकको सुरक्षामा खटिइरहेको डीएसपी माधवप्रसाद काफ्लले बताए ।

 

उनले भने, ‘जुम्लामा प्रहरीको जम्मा दरबन्दी ३ सय ५० जनाको हो तर हाल कार्यरत २ सय ४५ जना मात्रै छन् । १ सय ५ जना सुरक्षाकर्मीको दरबन्दी वर्षौंदेखि रिक्त छ । सोही कारण पर्याप्त सुरक्षाकर्मी खटाउन सकिएको छैन ।’


कार्यरत २ सय ४५ जनामध्ये १ सय ६५ जना सुरक्षाकर्मी जिल्लाभरिका २७ वटा प्रहरी चौकीमा कार्यरत छन् । जिल्ला प्रहरी कार्यालयमा ८० जनाले मात्रै समग्र सदरमुकामको शान्ति–सुरक्षा गरिरहेका छन् ।

 

डीएसपी काफ्ले भन्छन्, ‘हजाराैंको संख्यामा हुने आन्दोलन, प्रदर्शनलाई नियन्त्रण गर्न एक–डेढ सय सुरक्षाकर्मी खटाउनुपर्छ । तर, २०÷३० जना पठाएर भीड नियन्त्रण गर्नु, शान्ति–सुरक्षा कायम गर्न निकै सकस हुन्छ ।’


चौकीमा पनि उस्तै

 

१८ जनाको दरबन्दी रहेको हाँडसिंजा इलाका प्रहरी कार्यालयमा ९ जना मात्रै कार्यरत छन् । १० जनाको दरबन्दी रहेका जिल्लाका सबै अस्थायी प्रहरी चौकीमा ५-६ जना मात्रै कार्यरत छन् ।


गाउँमा आगलागी, झैझगडा भए पनि सुरक्षा दिन सक्ने जनशक्ति नहुँदा समस्या भएको हाडसिंजा इलाका प्रहरी कार्यालयका प्रमुख बालकृष्ण विकले बताए ।


जिल्लाको जनघनत्व र दैनिक हत्या, हिंसाका घटना बढ्दै जाँदा प्रतिकूल अवस्थामा पनि सीमित स्रोत–साधनका बीच शान्ति–सुरक्षालाई मजबुत पारिएको डीएसपी काफ्लेले बताए । रिक्त दरबन्दी पूर्तिका लागि माग गरे पनि प्रक्रियागत जटिलताले दरबन्दी पदपूर्ति नभएको उनको भनाइ छ ।
जिल्लाको सुरक्षा दिने प्रहरी नै असुरक्षित छ । न प्रहरीको राम्रो आभास छ, न त पर्याप्त जनशक्ति ।


अधिकांश चौकी भाडाकै घरमा

 

जुम्लाका अधिकांश प्रहरी चौकी भाडाकै घरमा छन् । जिल्लामा रहेका २७ वटा प्रहरी चौकीमध्ये ११ वटा मात्रै आफ्नै भौतिक संरचना भवनमा छन् । ६ वटा विभिन्न कार्यालयसँग सम्बन्धित छन् । १३ वटा चौकी भाडाकै घरमा बसेका छन् ।


ताम्ती, गोठिज्यूला, उर्थुलगायत ९ वटा चौकी तत्कालीन रूपमा स्थानीय सरकार, बजार व्यवस्थापन समितिबाट सञ्चालन भए पनि आधिकारिक रूपमा प्रहरीको आफ्नै भवन छैन । सुरक्षा जोखिम बढ्दै जाँदा विभिन्न निकायले तत्कालका लागि सहयोग गरेर चौकी बसे पनि आफ्नै भवन नभएको डीएसपी काफ्लेले जानकारी दिए ।

 

हाल भाडामै बसिरहेका जिल्ला ट्राफिक कार्यालय, हाँकु, मणिसाँघु र चौथा प्रहरी चौकीको घरभाडाबापत मासिक ६२ हजारका दरले वार्षिक ७ लाख ४४ हजार रुपैयाँ भाडा तिर्ने गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाको लेखा शाखाले जनाएको छ ।


प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले वर्षांैदेखि भाडाकै घरमा बसेर पनि शान्ति–सुरक्षामा खटिएका चौकीको आफ्नै भवन बनाउन आवश्यक पहल गर्ने बताए । उनले भने, ‘एकातर्फ जिल्लाको सुरक्षा जनशक्ति कम, अर्कोतर्फ भाडाकै घरमा बस्नुपर्ने बाध्यतामा पनि अधिकतम रूपमा सुरक्षाकर्मी परिचालन गरी शान्ति–सुरक्षा मजबुत बनाएका छौँ ।’


चिसोमा पर्याप्त पोसाक नपाउने, न्यानो नपाउने, न्यून जनशक्तिका कारण ओभर टाइम ड्युटी गर्नुपर्ने, प्रोत्साहन भत्ता नपाउने समस्याका बाबजुद हिमाली जिल्लाका प्रहरीले शान्ति–सुरक्षालाई प्रभावकारी बनाएका छन् ।


बनेन जिप्रका भवन


जिल्ला प्रहरी कार्यालय जुम्लाको निर्माणाधीन पक्की भवन १ वर्षदेखि अलपत्र छ । माओवादी सशस्त्र द्वन्द्वका वेला क्षतिग्रस्त जिल्ला प्रहरी कार्यालयको भवन निर्माण १ वर्षमा सक्ने गरी सम्झौता भएको थियो ।

 

तर, बजेट अभावको बहानमा अलपत्र परेको छ । यो भवन २९ जेठ ०७६ मा निर्माण थालिएको थियो । तर, भवन निर्माण सम्पन्न मिति गुज्रिसक्दा पनि जगभन्दा माथि उठ्न सकेको छैन । सम्झौताअनुसार २८ जेठ ०७७ मा भवन बनिसक्नुपर्ने हो ।


भवन निर्धारित समयमा नबन्दा सुरक्षाकर्मी एकै कोठामा बस्न बाध्य भएका छन् । तत्कालीन प्रहरी नायव उपरीक्षक सीताराम रिजालले २८ जेठ २०७७ भवन निर्माण सम्पन्न हुने गरी सम्झौता गरेका थिए । तर, भवन निर्माण सम्पन्न गर्नुपर्ने मितिभन्दा ३ महिना बढी गुज्रिसक्दा १० प्रतिशत पनि काम भएको छैन ।


कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको पहलमा भवन निर्माण थालिएको हो । भवनमा कार्यालय, ब्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुख निवास, मेस, शौचालय तथा खानेपानी ट्यांकी, खेलमैदानलगायत पूर्वाधार निर्माण हुने स्टिमेटमा उल्लेख छ ।
कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ५ करोड ४५ लाख ९१ हजार रुपैयाँमा भवन निर्माणको ठेक्का लागेकोे हो । नयाँ बन्ने भवन अदालतमा मुद्दामामिला भएकाले रोकिएको छ ।


कर्णाली प्रदेशका माथिल्लो कर्णालीतिरका भवन निर्माणाधीन अवस्थामा छन् । भवन निर्माणको आवश्यक बजेट कर्णाली प्रदेश सरकारले विनियोजन गर्छ ।

 

जीर्ण भवनमा प्रहरीको बास

 

२४ सै घन्टा सुरक्षामा खटिनुपर्ने प्रहरी भवन अभावमा जीर्ण भवन र त्रिपालमुनि बस्नुपर्ने बाध्यतामा छन् । जिल्ला प्रहरी कार्यालयमा जुम्ला कार्यरत ८० जना प्रहरी अहिले साँघुरो कोठा र त्रिपालमा बसिरहेका हुन् ।


प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘नयाँ भवन निर्माण हुने आशमा पुराना सबै भवन भत्कायौँ । अहिले सुरक्षाकर्मी बस्ने ठाउँ छैन । खान पकाउने भान्सा छैन । बन्दीलाई राख्न हिरासतसमेत छैन ।’

 

महिला र पुरुष गरी २ कोठाको बढीमा १२–१५ जना क्षमताको हिरासत कक्ष छ । त्यही पनि जीर्ण अवस्थामा रहेकाले बस्नै समस्या भएको उनले बताए ।


प्रहरी नायब उपरीक्षक काफ्लेले थपे, ‘१० जना सुत्ने कोठामा २० जना, २० जनाको ठाउँमा ४० जना, कोही भान्सामा, कोही शौचालयको छेउमा रात कटाइरहेका छौँ ।’