close

सडक मर्मतमा जुट्यो गाउँपालिका

सडक मर्मतमा जुट्यो गाउँपालिका

Trulli
ADVERTISEMENT

खोटाङ - खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले सडकको खाल्डाखुल्डीमा रोडा भर्ने तयारी गरेको छ । गाउँपालिकाले पालिकाभित्र रहेका २१ ट्याक्टर व्यवसायीको सहकार्यमा सडक पुनः मर्मत थालेको हो ।


गाउँपालिकाका अनुसार  व्यवसायी वर्षाका कारण सडकमा बनेका खाल्डाखुल्डीमा रोडा भर्न र मर्मतसम्भारका लागि निःशुल्क ट्याक्टर उपलव्ध गराउन तयार भएका हुन् । वर्षाका कारण अधिकांश सडकमा खाल्डाखुल्डी बनेपछि सवारी  आउजाउमा समस्या भइरहेको थियो । 


गाउँपालिका प्रतिनिधि र व्यवसायीबीच मंगलबार बसेको बैठकले सडक मर्मतस्वरुप खाल्डाखुल्डीमा भर्ने रोडा ओसार्न ट्याक्टर व्यवसायीले तीन÷तीन दिन ट्याक्टर उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए । 


दसैं–तिहार नजिकिँदै गरेको अवस्थामा गाउँपालिका र ट्याक्टर व्यवसायीको सहकार्यमा गाउँपालिकाभित्रका मुख्य–मुख्य सडक मर्मत तयारी गरिएको हो । गाउँपालिकाभित्रका प्रमुख सडकका रुपमा रहेको रमाइलो–छितापोखरी, टुवाखोला–तावाखोला, याम्खा–खानीडाँडा र रेग्मीटार–पञ्चमी सडकका खाल्डाखुल्डीमा रोडा भर्ने तयारी थालिएको छ । 


बुधबारदेखि नै रोडा ओसार्ने र सडकको खाल्डाखुल्डीमा हालेर मर्मतको काम सुरु गरिने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । सडकको खाल्डोमा थुपारिएको रोडालाई जेसिभी लगाएर सम्याउने तयारी गरिएको अध्यक्ष राईको भनाइ छ ।


‘वर्षाका कारण सडकमा जताततै खाल्डाखुल्डी बनेका छन् । तिनलाई पुरेर सडकलाई सुचारु गराउन ट्याक्टर व्यवसायीलाई आग्रह गरेका हौं’,  गाउँपालिका अध्यक्ष राईले भने, ‘सडकको खाल्डोमा हाल्ने रोडा ओसार्ने चालक, सहचालक तथा लोडअनलोडमा खटिने व्यक्तिलाई गाउँपालिकाले खाना खुवाउने निर्णय भएको छ ।’