close

हलेसी तुवाचुङ नगरपालिकाको हिउँदे नगरसभा 

अधुरो योजना पूरा गर्न नगरलाई साढे ५ करोड बढी आर्थिक दायित्व 

हलेसी तुवाचुङ नगरपालिकाको हिउँदे नगरसभा 

अधुरो योजना पूरा गर्न नगरलाई साढे ५ करोड बढी आर्थिक दायित्व 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक दायित्व साढे ५ करोड रुपैयाँ बढी देखिएको छ । शुक्रबार सम्पन्न हिउँदे नगरसभामा उपप्रमुख विमला राईले गत आर्थिक वर्ष राजस्व बाँडफाँडतर्फको तोकिएको बजेट नआउँदा अधुरा रहेका योजना पूरा गर्न चालु आर्थिक वर्षको ५ करोड ५९ लाख ८९ हजार रुपैयाँ विनियोजन गर्नुपरेको बताएकी हुन् ।

 

विनियोजित रकममध्ये ३ करोड ७६ लाख १७ हजार भुक्तानी भइसकेको र १ करोड ८३ लाख ७२ हजारमध्ये पुरानो भुक्तानी बाँकी रकम नगर समपुरक कोषमा थप गरी खर्च गर्ने नगरपालिकाले जनाएको छ ।
 
नगरको आठौं हिउँदे नगरसभामा उपप्रमुख राईले चालु आर्थिक वर्षको वित्तीय तथा भौतिक प्रगति विवरण प्रस्तुत गरेकी थिइन् । उनले संघ र प्रदेश सरकारले राजस्व बाँडफाँड तर्फको रकम नपठाउँदा चालू आर्थिक वर्षको बजेट अपूरा रहेका योजनामा खर्च गर्नुपरेको बताएकी छन् ।

 

कोभिड-१९ को कारण देखाउँदै संघ र प्रदेशबाट सिलिङ अनुसारको बजेट नआउँदा आर्थिक वर्ष २०७६/७७ को अधुरा योजना सम्पन्न गर्ने गरी आर्थिक दायित्व निर्वाह गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना भएको नगरसभामा जानकारी दिइएको छ । 

 

बजेट अभावमा अलपत्र र अधुरो रहेका गत वर्षको योजनालाई पूरा गर्नका लागि यस वर्ष प्राथमिकतामा राखिएको मेयर इवन राईले बताए । ‘हामीलाई प्राप्त भएको सिलिङअनुसार बजेट निर्माण गर्‍यौँँ, योजना बनायौँ र सम्झौता गरेर काम अघि बढायौँ,’ मेयर राईले भने, ‘तर तोकिएको बजेट नआएपछि धेरै योजना अधुरो रहन पुगे । त्यही अधुरो योजना पूरा गर्न चालु आर्थिक वर्षको बजेटबाट रकम व्यवस्था गरेर काम अघि बढाएका थियौँ ।’ 

 

चालु आर्थिक वर्षको ३७ प्रतिशत वित्तीय प्रगति 


नगरपालिकाले चालु आर्थिक वर्ष ३७ प्रतिशत वित्तीय प्रगति गरेको छ । नगरसभाले आर्थिक वर्ष २०७७र०७८ का लागि ५२ करोड ९९ लाख १३ हजार ६५२ रुपैयाँ रकम स्विकृत गरेकामा चालुतर्फ विनियोजन भएको ५ करोड ४२ लाख ५३ हजार ६६० मध्ये २ करोड ९० लाख ६६ हजार ८२२ रुपैयाँ खर्च भएको छ । साथै पुँजीगततर्फ १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन भएकामा ५ करोड ६३ लाख ४३ हजार ७४८ रुपैयाँ खर्च भएको छ । 

 

गत साउन १ गतेदेखि माघ मसान्तसम्मको अवधिमा चालुतर्फ ५३.४७ प्रतिशत र पुँजीगततर्फ ३१.६२ प्रतिशत वित्तीय प्रगति भएको उपप्रमुख राईले जानकारी दिएकी छन् । 

 

शिक्षा शाखाका लागि १९ करोड ९५ लाख विनियोजन भएकामा ७ करोड ९६ लाख ७६ हजार ८६२ खर्च भएको, महिला तथा बालबालिका शाखाका लागि ५२ लाख विनियोजन भएकामा १ लाख ४० हजार ५२० खर्च भएको, स्वास्थ्य शाखाका लागि ५ करोड ७१ लाख विनियोजन भएकामा २ करोड ७४ लाख ६५ हजार ५४० खर्च भएको उपप्रमुख राईले जानकारी दिइन् ।

 

उपप्रमुख राईका अनुसार योजना शाखाका लागि १७ करोड ८१ लाख ६० हजार ९९० रुपैयाँ विनियोजन गरिएकामा ५ करोड ६३ लाख ४३ हजार ७४८ खर्च भएको तथा युवा तथा खेलकुदका लागि विनियोजन गरिएको २० लाख रुपैयाँमध्ये ५ लाख ९४ हजार ६९० रुपैयाँ खर्च भएको छ ।


नगरसभामा नगरप्रमुख राईले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव र उपप्रमुख राईले प्रस्तुत गरेको नगरपालिकाको विषयगत शाखा तथा समग्र कार्यक्रमको वित्तीय र भौतिक प्रगति प्रतिवेदनलाई पारित गरेको छ ।