सेनाको जागिर छाडेर दूधवाला बनेका तन्नेरी

भैँसीपानबाटै मासिक ९० हजार कमाउँदै भूपु सैनिक


  • change font
  • change font
  • change font

गोरखा- कोरानो महामारी नियन्त्रण गर्न सरकारले गत चैत १० देखि मुलुकभर लकडाउन गर्‍यो । लकडाउनका कारण अत्यावश्यकबाहेकका सबै काम ठप्प भए । काम नभएपछि आर्थिक मन्दीले देशभरका अधिकांश पेसाकर्मी समस्याको भुमरीमा जेलिए । 

 

तर, गोरखा नगरपालिका वडा नम्बर ३ देउरालीमा रहेको बिन्ध्यावासिनी भैँसी फार्मका सञ्चालक शिवजी खड्कालाई भने कोरोना डरले मात्रै हैन, आर्थिक मन्दीले पनि कहिल्यै छोएन । उनी हरेक दिन निर्धक्क भएर भैँसी फार्ममा रमाए । निरन्तर कर्मको कामगरिरहे । पैसा कमाइरहे ।

 
‘म आर्मीको जागिर छाडेर भैँसीपालनमा लागेको हुँ । सँगै जागिर खाएका साथीहरू लकडाउन भएको समय घर आउन पाइएन भन्दै डर पालेर ड्युटी गरिरहेका हुन्थे । अरू जागिर खानेहरू पनि काम नहुँदा पैसा छैन भन्दै दुुखेसो पोख्थे’, उनी भन्छन्, ‘तर, मलाई आनन्दै थियो । काम पनि छाड्नुपरेन । आफ्नै घर बसेर कमाइ गरिरहेँ ।’ 

 

पछिल्लो समय सानैदेखि गोरखाका हरेक समुदायका युवा लाहुरे हुने सपना बोक्छन् । लाहुरेमध्ये पनि पहिलो रोजाइ ब्रिटिस, दोस्रो इन्डियन आर्मी अनि नेपाल आर्मी हुने गर्छ । छोरीचेलीको बिहे गर्न बाआमाले पनि ‘लाहुरे’ कुटुम्ब खोज्ने नेपाली परम्परै हो । युवतीले पनि लाहुरे श्रीमान्को सपना सजाउँछन् ।


२०७४ साउनमा सैनिक बनेका उनले नुवाकोटको त्रिशूली तालिम केन्द्रबाट २०७५ वैशाख मसान्तमा ९ महिने रिक्रुट तालिम सके अनि एक साता छुट्टीमा घर फर्किए । बिदा सकिएलगत्तै अजयदल गण इटहरीमा उनको पोस्टिङ भयो । ‘त्यहाँबाट करिब ५ महिना देशको सेवा गरे ।

 

२०७५ को दसैँ नजिकिँदै थियो । उनले एक्कासि नयाँ सोच अगाडि ल्याए । सानैदेखि रहर गरेको लाहुरे हुने सपनालाई चटक्कै बिर्सिए सेनाको जागिर छाडेर घर फर्किए ।

 

नेपाली सेनाको जागिर । जागिर सुरु गर्ने बेलैमा कसम खानैपर्छ, ‘भोक, निद्रा, तिर्खा केही भन्दिनँ । मेरो घर भनेकै देश हो अनि परिवार भनेकै नेपाली । म मेरो व्यक्तिगत स्वार्थबाट माथि उठेर २४ सै घन्टा देश र जनताका निम्ति ड्युटी गरिहन्छु ।’

 

खाएको कसमलाई सार्थक तुल्याउन खड्का पनि करिब ५ महिना नेपाली सेनाकै जागिरमा रमाए । ‘सानैदेखि लाहुरे हुने सपना, आर्मीको बर्दी लगाएर ड्युटी गर्दा साँच्चै म देश र जनताको रक्षक हुँजस्तो महसुस हुन्थ्यो’, खड्का भन्छन्, ‘ड्युटीमा हुँदा, भित्र काम गर्दा सधैँ खुसी नै हुन्थेँ । जब महिना दिनको तलब बैंक खातामा १८ हजार ६ सय ३० रुपैयाँ आउँथ्यो, घरको ऋण, बाआमाको आशा अनि आफ्नो भविष्य सम्झन्थेँ ।’


देशमा हरेक वर्ष चुलिँदै गरेको बजारभाउ अनि सैनिक जवानको तलब । खड्कालाई लाग्यो, ‘आफूले सानैदेखि देखेको लाहुरेको सपनाले उमेर ढल्कँदै गरेका बाआमाको आशा अनि भावी सन्ततिका रहर पूरा गर्न सक्दिनँ ।’ अन्ततः उनले लाहुरेको सपना बिर्सिएर आफ्नै गाउँमा भैँसीपालन गरी ‘दूध’ बेचेर पैसा कमाउने लक्ष्य लिए ।

 

जागिर छाडेपछिको पल


जेठा ताराबहादुर, माइला सविन अनि कान्छा शिवजी । । उनीहरू तीनै जनालाई बाआमादेखि हजुरबा-हजुरआमासम्मले ‘लाहुरे’ या ‘लोकसेवा’ मा जागिर खुवाउने सपना बुनेका थिए ।

 

तर, जेठा यातायात व्यवसायी बने । माइला कपडा व्यापारी र कान्छाले नेपाली सेनामा प्रवेश गरेको डेढ वर्ष नपुग्दै जागिर छाडे । 

 

‘घरमा दिदीबहिनी छैनन् । हामी ३ भाइ मात्रै हो । घरका बाआमाले तीनै जनालाई लोकसेवामा जागिर खुवाउने या सेनामा भर्ती गर्ने भन्नुहुन्थ्यो । दाइहरूले आ–आफ्नै पेसा गर्न थाल्नुभयो । म सेनामा प्रवेश गरेकोे केही महिनामै जागिर छाडेँ । घरका सबै जना दुःखी हुनुभयो’, शिवजीले भने ।

 

नयाँ सपना साकार बनाएपछि


जागिर छाड्ने बेलामै भैँसी पालेर ‘दूध’ बेच्छु भन्ने सोच राखेका उनले करिब २१ लाख रुपैयाँ लागतमा अहिले गोरखा नगरपालिका वडा नम्बर ३ देउरालीमा बिन्ध्यावासिनी भैँसीफार्म सञ्चालन गरिरहेका छन् । 

 

उनको फार्ममा हाल ७ वटा उन्नत जातका भैँसी छन् । ‘मैले भैँसी पालेर दूध बेच्न थालेको झन्डै दुई साता हुन लाग्यो । प्रतिमाना ७५ रुपैयाँका दरले दिनकै १ सय माना दूध बेच्छु’, उनी भन्छन्, ‘दिनमा ७ हजार ५ सय आम्दानीले महिनामा झन्डै २ लाख २५ हजार रुपैयाँ आम्दानी हुन्छ । सबै खर्च कटाउँदा मासिक ८०/९० हजार रुपैयाँ कमाइ हुन्छ ।’

 

७ सात वटा भैँसी पाल्दा मासिक ८०/९० हजार रुपैयाँ कमाइ हुन थालेकाले पहिले भैँसी किनेको ऋण तिरेर थप भैँसी खरिद गर्ने योजना रहेको उनले सुनाए ।

 

सेनाकोे जागिर छाडेर भैँसीपालन सुरु गरेका उनले अहिले २ जनालाई रोजगारी दिएका छन् । ‘अहिले मेरो फार्ममा २ जनालाई जागिर दिएको छु’, उनले भने, ‘मैले जागिर छाडेपछि सबैले बुद्धि बिगारिस्, खत्तम भइस् भन्थे । अहिले अहो ! हामीलाई पनि जागिर देन भन्छन् । त्यतिबेला खुसी लाग्छ ।’