close

सीमसारको राजधानी बनाउन जुट्यो बेलबारी 

सीमसारको राजधानी बनाउन जुट्यो बेलबारी 

Trulli
ADVERTISEMENT

मोरङ- संरक्षण अभावमा मोरङमा धेरै सीममार ओझेल परिरहेका छन् । कतिपय अतिक्रमणको चपेटामा समेत छन् । 

 

तर, मोरङको एक स्थानीय तहले भने आफ्नो नगरलाई सीमसारको नगरका रूपमा चिनाउने अभियानमा जुटिरहेको छ ।

 

बेलबारी नगरपालिकाले सीमसारको राजधानी बनाउने योजना पनि अघि बढाएको छ । बेलबारीमा मात्रै २१ वटा सीमसार क्षेत्र छन् । बेतना सीमसार बेलबारीको मात्रै नभई प्रदेश १ कै गहनाको रूपमा परिचित छ ।

 

यहाँ विभिन्न प्रकारका चराचुरुंगी, वन्यजन्तु, घस्रने जनावर पाइन्छन् भने कछुवाको प्रजन्न केन्द्रका रूपमा समेत विकसित भएको छ । 

 

बेतना सीमसारमा दैनिक ५ सय बढी आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । शनिबार तथा बिदाको समय २ हजार बढी पर्यटक आउने गरेको बेतना सीमसारका कोषाध्यक्ष कमल कोइरालाले बताए ।

 

इलाम, धरान, विराटनगर, इटहरी, काठमाडौं, पोखराबाट समेत यहाँ घुम्न  आउने गरेका छन् । विभिन्न चराचुरुंगी र कछुवाको अध्यन गर्न आउने गरेको बेताना सीमसारका कोषाध्यक्ष कोइरालाको भनाइ छ । 

 

सीमसारबाटै पर्यटक भित्र्याउने लक्ष्य लिएर नगरपालिकाले योजनाबद्ध रूपमा बजेट विनियोजन गरिरहेको बेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदीले जाकारी दिए । ‘सीमसार अध्ययन कार्यदल गठन गरी उसको सुझावअनुसार सीमसार संरक्षण तथा निर्माणको काम भइरहेको छ’, उनले भने ।

 

अध्ययन कार्यदलले नगरभित्र पर्यटकिय सम्भावना बोकेका २१ वटा सीमसार रहेको प्रतिवेदन नगरपालिकालाई दिएको थियो । 

 

पर्यटन प्रवद्र्धनका लागि अमना सिसौली सीमसारको डीपीआर निर्माण गरी सोहीअनुसारको बहुवर्षे परियोजनाअनुरूप नगरपालिकाले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

 

बेलबारीका धेरैजसो सीमसारको विशेषता पृथक रहेको पाइएको अध्ययन कार्यदलका सदस्य तथा उपप्राध्यापक तथा वातावरण विज्ञ रामचन्द्र अधिकारीले बताए । 

 

हात्ती, जंगल, घोडा-टाँगा सफारी, गोरुगाडा, ऊँटलगायत साधनमार्फत सबै सीमसार घुम्ने किसिमको रुट बनाएर जातीय पहिचान खुल्ने आकर्षण तयार गरी सांस्कृतिक पर्यटनलाई प्रोत्साहित गर्न सके नेपालकै नमुनाका रूपमा बेलबारीलाई चिनाउन सकिने अधिकारीको बुझाइ छ ।


 
पर्यटकीयसँगै नगर क्षेत्रभित्र बाँझै रहेका खेतीयोग्य जमिनमा सिँचाइ व्यवस्थापनको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले जानकारी दिए ।

 

बेलबारी क्षेत्रभित्र बेतना, अमना, सिसौली, धनपालथान, धनपालगढी, झलझलीबाँध, हाँडीदह, झलझली महाराजथानभव, जाल्पादेवीभव, कुइरीखोला, मखनपोखरी, गयलपोखरीलगायतका सीमसार छन् ।