close

पुनर्जीवन पाएको थिमिको निगु पुखुः

पुनर्जीवन पाएको थिमिको निगु पुखुः

Trulli
ADVERTISEMENT

भक्तपुर- अस्तव्यस्त इँटासँगै निर्माण सामग्रीको थुप्रो । कोही पर्खाल लगाउने कार्यमा व्यस्त त कोही निर्माण सामग्री ओसार्न । कोही कसले के काम गर्दै छ भनी निरीक्षण गरिरहेका हुन्छन् ।

 

यो दृश्य मध्यपुर थिमिस्थित निगु पोखरी अर्थात् दुई पोखरीको हो । मल्लकालमा निर्मित यो पोखरीको आफ्नै महत्त्व छ । कुनै समय स्थानीयको पानीको स्रोत यही पोखरीको पानी प्रयोग हुन्थ्यो ।

 

स्थानीयको घरघरका धारामा पानी ल्याउन होस् या त बाली सपार्न सिँचाइ नै । सोही पोखरीको माध्यमबाट पानी आउने गर्दथ्यो । 

 

नेपाल भाषामा निगु भन्नाले दुई र पुखु भन्नाले पोखरी हो । यसर्थ निगु पुखुः भनेको दुई पोखरी हो । क्षेत्रफलको आधारमा एउटा पोखरी सानो र अर्को ठूलो छ ।

 

तर, ऐतिहासिक रूपमा दुवै पोखरीको महत्त्व उस्तै छ । स्थानीयका अनुसार दुवै पोखरी उस्तै-उस्तै भएकाले यसलाई जुम्ल्याहा दिदीबहिनी पनि भनिन्छ । 

 

त्यसैले भक्तपुरलगायत बनेपाका कृषकले पोखरीको पानीको आधारमा धान रोप्न हुन्छ/हुँदैन भनी आकलनसमेत लगाउने गर्थे । 

 

दुवै पोखरीमा पानी समान भए सबैतिर समान धान रोपाइँ हुने र पानी घटबढ भए धान रोपाइँ असमान हुने जनविश्वास थियो । तर, २०१५ मा दुवै पोखरीको पानी सुक्यो । 

 

‘त्यस समय भक्तपुर महोत्सव थियो । राजा महेन्द्र कार्यक्रममा सहभागी हुने कुरा थियो,’ स्थानीय सरु श्रेष्ठले भनिन्, ‘ठाउँ ठूलो भएकाले पोखरीको सबै पानी सुकाउन लगायो । त्यसपछि पोखरीमा पानी सञ्चित हुन छाड्यो ।’ 

 

पोखरीमा पानी नबसेकाले वरिपरिका घरमा पनि पानी आएन । सबैमा पानीको हाहाकार मच्चिएको उनले सुनाए ।

 

भक्तपुर महोत्सवसँगै बढ्दो अव्यवस्थित बस्तीका कारणसमेत पोखरीमा पानी सुकेको स्थानीयको गुनासो छ । पानी नभएपछि पोखरी घाँसे मैदानको रूपमा परिणत भयो । अनि, स्थानीय बच्चाका लागि खेलमैदान बन्यो । 

 

कसरी हुँदै छ पुनर्निर्माण ?


निगु पुखुः पुनर्निर्माण मौलिक शैलीबाट हुँदै आएको छ । उपभोक्ता समितिमार्फत निर्माण गरिँदै आएको पोखरी परीक्षणको रूपमा एउटा पोखरी निर्माण सम्पन्न भइसकेको छ भने अर्को पुनर्निर्माण जारी छ ।

 

काम भइरहेको पोखरीमा आगामी नयाँ वर्ष अर्थात् बिस्का जात्रामा पानी भर्ने योजना नगरपालिकाको छ ।

 

पुनर्निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरेको छ भने अर्को आर्थिक वर्षमा आवश्यक रकम विनियोजन गर्ने योजना नगरपालिकाको छ । 

 

पोखरी निर्माणका लागि कालीमाटी, पाँगो माटो तथा इँटा प्रयोग गरिएको छ । पोखरीमा पानी सञ्चित गर्न सुरुमा कालीमाटी अनि पाँगो माटो र पुर्न कालीमाटी प्रयोग गरिएको छ । 

 

त्यसले पानी सञ्चित हुनुका साथै वरिपरिको पानीका मुहानमा समेत पानी रसाउने विश्वास उपभोक्ता समितिका अध्यक्ष निरञ्जन श्रेष्ठको छ । 

 

गत वर्ष निर्माण सम्पन्न भएको पोखरी वरिपरि घरको धारामा पानी आइसकेको छ । अब यो पोखरीबाट थप पानी आउनेछ । यसले पानीको हाहाकारको समेत अन्त्य हुनेछ । 

 

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार निगु पुखुःको पुनर्निर्माणसँगै थिमिमा पर्यटक विकासमा थप टेवा पुग्नेछ । पोखरी पुनर्निर्माणका लागि थप बजेट नगरले विनियोजन गर्नेछ ।