close

सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणमा जुट्यो मझुवागढी

सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणमा जुट्यो मझुवागढी

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणमा जुटेको छ । 

 

मासिक ५ देखि ६ लाख रुपैयाँ राजस्व शुल्क उठाउने स्रोतका रूपमा विकास गर्ने गरी नगरपालिकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलको रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण तयारी थालेको हो ।


तल्लो तलामा २३ कोठा र माथिल्लो तलामा २३ कोठा हुने सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणका लागि नगरपालिकाले पर्यटन मन्त्रालयसँग सम्झौता गरेको छ । 

 

आगामी २०७९ फागुन मसान्तसम्म ३ करोड ९६ लाख रुपैयाँमा पूरा गर्ने गरी सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माण प्रक्रिया सुरु भएको हो ।

 

योजनामा मन्त्रालयको २ करोड ५७ लाख र नगरपालिकाको १ करोड ३९ लाख रुपैयाँ खर्च हुने सम्झौतामा उल्लेख छ । तल्लो सटरमा कोसेली घर, नगरपालिकाको तरकारी, कृषि उपज संकलन केन्द्रलगायतका स्टल राखेर अन्य कोठा भाडामा दिने लक्ष्य रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरप्रमुख दीपनारायण रिजालले बताए ।

 

माथिल्लो तलाका सटरमा मःम, कफी सप, रेस्टुराँजस्ता २३ वटै स्टल सञ्चालन गरिनेछ । सपिङ कम्प्लेक्सको बीचमा भने केटाकेटी खेल्ने आकर्षक पार्क निर्माण गर्ने डिजाइन गरिएको नगरप्रमुख राईले जानकारी दिए ।

 

सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क निर्माणका लागि हालको प्रहरी बुथलगायत संरचना हटाउनुपर्नेछ । ‘सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क २ तले हुनेछ । दुवै तलामा २३÷२३ वटा सटर हुनेछन्,’ नगरप्रमुख रिजालले भने, ‘केही सटरमा नगरपालिकाकै कोसेली घर, कृषि उपज संकलन केन्द्रजस्ता स्टल सञ्चालन गरिनेछ । बाँकी रहेका कोठा भाडामा दिनेछौँ ।’

 

भाडाबापत मासिक ५ देखि ६ लाख रुपैयाँ राजस्व संकलन गर्ने दिगो माध्यमको रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्कलाई विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ । 

 

नगरपालिका र पर्यटन मन्त्रालयबीचमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम गर्ने, पालिकाले खरिद प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौता भएपछि रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रक्रयामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि उक्त रकम मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत प्रथम किस्ताबापत सम्बन्धित पालिकामा पठाउने सम्झौता भएको छ । 

 

मन्त्रालयको गत २ भदौमा सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि २९ माघको मन्त्रीस्तरीय निर्णयअनुसार साझेदारी आयोजनाका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको हो ।