close

किन काटियो जुम्लीका उच्चशिक्षा छात्रवृत्ति कोटा ?

किन काटियो जुम्लीका उच्चशिक्षा छात्रवृत्ति कोटा ?

Trulli
ADVERTISEMENT

जुम्ला- कर्णाली प्रदेश सरकारको चालु आव २०७७/०७८ मा उच्च शिक्षा छात्रवृत्ति कार्यक्रमका विषयमा जुम्ला जिल्लालाई उपेक्षा गरेको छ । यस वर्ष जुम्लालाई उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमबाट छुटाएर उपेक्षा गरेको हो । 


कर्णाली सरकारको सामाजिक विकास मन्त्रालयले बर्सेनि प्रदेशका १० जिल्लामा उच्च शिक्षा अध्ययन गरिरहेका छोरी-बुहारी, दलित, अपांगता भएका व्यक्ति र प्रदेश प्राप्तिको आन्दोलनमा सहिद भएका सन्ततिलाई उच्च शिक्षा छात्रवृत्ति प्रदान गर्दै आएको थियो । 


प्रदेशका ९ जिल्लामा उच्च शिक्षाका लागि छात्रवृत्ति पठाइए पनि जुम्लामा भने अहिलेसम्म बजेट नगएको सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बलवीर सुनारले बताए ।

 

उनले भने, ‘मैले गत १६ असोजमै सामाजिक विकास मन्त्रालयअन्तर्गतको जिल्लागत बजेट खर्चमा सामाजिक विकास कार्यालय जुम्लाको छात्रवृत्तितर्फको बजेट विनियोजन नभएको बेहोरा जानकारी गराएको थिएँ । बजेटको व्यवस्था गरी प्रादेशिक मन्त्रालयगत बजेट सूचना प्रणालीमा प्रविष्ट गराउन मन्त्रालयलाई सम्बोधनको पत्राचार गरिसकेको छु । बेलाबेला मौखिक रूपमा कार्यक्रमका लागि अनुरोध गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन ।’

 

उनका अनुसार अन्य ९ जिल्लामा बजेट निकासा गइसकेको छ तर चालू आर्थिक वर्षको दोस्रो चौमासिक फागुन दोस्रो सातासम्म जुम्लाका लागि मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय कर्णाली प्रदेशलाई अनुरोध गरिएको भन्ने जवाफ मात्र पाइएको छ । 

 

सबै जिल्लाले छात्रवृत्तिका लागि १ महिने अवधि राखेर सूचना गरिसकेको जनाउँदै जुम्लाले छात्रवृत्ति बजेटको बेलैमा निकासा नपाउँदा समस्या भएको उनले बताए ।

 

छात्रवृत्ति रकम नगएपछि जुम्लामा उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरू सो सेवाबाट वञ्चित हुने अवस्था छ । सामाजिक विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जुम्लाको छात्रवृत्तिका लागि रकमान्तरको फाइल आर्थिक मामिला मन्त्रालयले दिँदा पनि उक्त फाइल ‘च्यापिराखेको’ बताए । 

 

सामाजिक विकास मन्त्रालयले भन्दा पनि आर्थिक मामिला मन्त्रालयले सुनुवाइ नगरेको उनको भनाइ छ ।

 

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक दीपा हमालले बजेट अभाव नभएको तर आर्थिक मामिला तथा योजना मन्त्रालयले अड्काइराखेको बताए । 

 

कर्णाली प्रदेश प्राप्तिको आन्दोलनका २ सहिद परिवारलाई २४ हजारका दरले ४८ हजार रुपैयाँ भए पुग्ने र उक्त शीर्षकमा विनियोजित २२ लाख रुपैयाँ बजेट रकमान्तर गरे जुम्लाका लागि पुग्ने उनले जानकारी दिए ।