close

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

५ शैयाको अस्पताल बनाउँदै ताराखोला गाउँपालिका

Trulli
ADVERTISEMENT

बाग्लुङ - ताराखोला गाउँपालिकाले ५ शैयाको अस्पताल निर्माणको काम अगाडि बढाएको छ । ताराखोलाले गाउँपालिकाकै स्रोत-साधनबाट अस्पताल निर्माण र सञ्चालन तयारी गरेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक स्थानीय पालिकामा कोभिड–१९ विरुद्धका क्रियाकलाप गर्न पहल थाल्ने निर्णय गरेलगत्तै ताराखोलाले स्थानीय स्वास्थ्य चौकीलाई अस्पतालको स्वरुप दिन लागेको हो । ताराखोला गाउँपालिका वडा नम्बर ३ को साँधीस्थित स्वास्थ्य चौकीमा ५ शैयाको अस्थायी अस्पताल बनाउन पूर्वाधार तयार गरिरहेको अध्यक्ष प्रकाश घर्तीले बताए ।


गाउँपालिकाले उक्त स्वास्थ्य चौकीमा आइसोलेसनसमेत बनाएर कोराना संक्रमितलाई राख्ने तयारी गरेको थियो । कम्तीमा १ डाक्टरसहितको टिमले निगरानी गर्ने अवस्था नभए राख्न नमिल्ने कार्यविधिका कारण धौलागिरि अस्पताल पठाएको थियो । 


कोभिड-१९ अस्पताल सञ्चालनसम्बन्धी मार्गदर्शन, २०७७ को प्रावधानमा रहेर तयारी भइरहेको गाउँपालिका अध्यक्ष घर्तीले जानकारी दिए । ‘त्यसका लागि कम्तीमा १ डाक्टर, २  नर्स तथा १ सहयोगीको दरबन्दी राख्न सहमतिसमेत भइसकेको छ । गाउँपालिकाले विज्ञापनमार्फत दरबन्दी पूरा गर्ने तयारी थालेका छौं’, घर्तीले भने । अस्पतालका लागि चाहिने सामग्री, उपकरण र औषधी खरिदको तयारी पनि भएको छ । ‘भएकै पूर्वाधारमा उपकरण र औषधी खरिदपछि सञ्चालन हुनेछ,’ घर्तीले भने, ‘स्वास्थ्य मन्त्रालयले दरबन्दीका डाक्टर र नर्सको व्यवस्थापन गरेको हो ।’


गाउँपालिकाले छनोट प्रक्रियाबाट भर्ना गरे पनि उनीहरुको खर्च पालिकाले तिर्नु पर्दैन । त्यसबाहेक मन्त्रालयले थप १० लाख रुपैयाँ दिनेछ । उक्त रकममध्ये ५ लाख रुपैयाँको बेड, अक्सिजन र उपकरणमा खर्च हुनेछ भने तत्काल ५० हजारको औषधी खरिदको काम थालिसकिएको हो । 


साँधीस्थित स्वास्थ्य चौकीमा ठाउँ अभाव भए  निर्माणाधीन बहुउद्देश्यीय भवन प्रयोग गर्न सकिने गरी तयारी भइरहेको घर्तीले बताए । एक महिनामा उक्त भवन पनि निर्माण सम्पन्न हुनेछ । उक्त भवनमा कम्तीमा ५ सय जना राखेर कार्यक्रम गर्न सकिन्छ । कोरोना संक्रमणपछि जिल्ला र पालिका तहमा कोभिड–१९ विरुद्धका गतिविधि सामान्य रुपमा चलेका थिए । ताराखोलाले भने अस्पतालकै स्वरुप दिएर काम गर्ने भएको हो । 

 

ताराखोलाले चालू वर्षको कार्यक्रमबाटै प्रशासकीय भवन निर्माण थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले जानकारी दिए । ‘काम गर्ने भनेपछि थालिहाल्यौं, काम हुँदै गर्छ, खर्चको बाटो पनि खुल्दै गर्छ’ शर्माले भने, ‘शून्यबाट थालेकाले भवन आवश्यक थियो । चालू वर्षभित्र सम्पन्न गर्छौं ।’