close

तिलोत्तमाको मणिग्राममा अटिजम भवन शिलान्यास

तिलोत्तमाको मणिग्राममा अटिजम भवन शिलान्यास

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा अटिजम भवनको शिलान्यास गरिएको छ ।

 

अटिजम भएका बालबालिकाको हेरचाह, अध्ययन र दैनिक जीवनको सहजताका लागि निर्माण गर्न लागिएको भवनको लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गरे ।


लुम्बिनी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा ६ कोठे भवन निर्माण हुन लागेको हो । दीर्घकालीन रूपमा छात्रावाससहित आवश्यकताअनुसार अभिभावक पनि बस्न मिल्ने गरी थप भवन निर्माण गरिनेछ । 


विद्यालयको व्यवस्थापन तथा अटिजम केयर सोसाइटी लुम्बिनीको प्राविधिक सहयोगमा कक्षा सञ्चालन गरिनेछन् । 


कार्यक्रममा मन्त्री बरालले कुनै पनि बालबालिका शारीरिक तथा मानसिक अवस्थाका कारण शिक्षाबाट बञ्चित हुन् नपरोस् भनेर राज्यले शिक्षामा लगानी बढाएको बताए । अटिजम भएका बालबालिकालाई विशिष्ट क्षमता भएका व्यक्तिका रूपमा विकसित गर्न सबैको उत्तरदायित्व भएको उनको भनाइ छ ।


कार्यक्रममा तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले विविध क्षेत्रमा भूमिका खेल्दै आएको शान्ति नमुनाले सामान्य तथा प्राविधिक शिक्षा र भिन्न क्षमता भएका बालबालिकाको विकासका लागि गरेको योगदान प्रंशनीय रहेको बताए ।  उनले नगरपालिकाको तर्फबाट समेत अटिजम कक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 

कार्यक्रममा अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा. सतिश रुपाखेतीले अटिजम कुनै रोग नभई व्यक्ति कुनै एक ठाउँ वा काममा केन्द्रित हुने अवस्था भएकाले यसलाई समान रूपमा बुझ्नुपर्ने बताए ।


विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले विद्यालयलाई सबै खाले विद्यार्थीको साझा फूलबारी बनाउँदै सबैको अपनत्व महसुस हुने गरी काम भइरहेको जानकारी दिए । 

 

सबैका लागि शिक्षा नारालाई सार्थकता दिन अटिजम, श्रवणदृष्टिविहीनलगायत फरक क्षमता भएका बालबालिकाका लागि कक्षा सञ्चाल गरिएको बताए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक किशोर कुमार खनालले गरेका थिए ।