close

सिदिङ्वाद्वारा विद्यालयको तलबभत्ता र अनुदान रकम रोक्का

सिदिङ्वाद्वारा विद्यालयको तलबभत्ता र अनुदान रकम रोक्का

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आवश्यक प्रक्रिया र सर्त पूरा नगरेका पालिकाभित्रका ११ वटा विद्यालयको दोस्रो चौमासिक तलबभत्ता तथा ससर्त अनुदान रकम रोक्का गरेको छ । 

 

निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश ठाकुरका अनुसार अघिल्लो आवको लेखा परीक्षण गराउन बाँकी, आईईएमआईएस अद्यावधिक गराउन बाँकी र शिक्षा क्षेत्रको भौतिक पूर्वाधारअन्तर्गतको योजना प्राप्त गरी हालसम्म फस्र्योट गर्न बाँकी विद्यालयको निकासा रोक्का गरिएको हो ।

 

उनका अनुसार भञ्ज्याङ मावि लिम्बूदिनको लेखा परीक्षण प्रतिवेदन नभएको, आईईएमआईएसमा कक्षा ११ र १२ को तथ्यांक अद्यावधिक नगरेपछि निकासा रोकिएको छ । सरस्वती मावि साब्लाखु एवं आङ्गेपा आधारभूत विद्यालय र बुङ्रुङ आधारभूत विद्यालय आङखोपको लेखा परीक्षण प्रतिवेदन र योजना फस्र्र्योट बाँकी रहेकाले रकम निकासा रोकिएको छ ।

 

सिदिङ्वा आधारभूत विद्यालय कालीखोला र जगतकाली आधारभूत विद्यालय लिम्बूदिनको लेखा परीक्षण अभावमा निकासा रोकिएको गाउँपालिकाले जनाएको छ । 

 

यस्तै, सिंहेश्वरी मावि सादेवा र अम्बिका मावि लिम्बूदिनको योजना फस्र्र्योट बाँकी रहँदा निकासा रोकिएको छ । इन्द्रावती आधारभुत विद्यालय सादेवाको समयमा माग फाराम नआउँदा र जगतकाली आधारभूत विद्यालय लिम्बूदिनको लेखा परीक्षण प्रतिवेदन नआएपछि गाउँपालिकाले निकासा रोकेको जनाएको छ ।

 

जालपा आधारभूत विद्यालय कालीखोलाको आईईएमआईएस अद्यावधिक गराउन बाँकी र समयमा माग फाराम नआउँदा तथा नवज्योति आधारभूत विद्यालयको लेखा परीक्षण प्रतिवेदनका साथ आईईएमआईएस अद्यावधिक गराउन बाँकी रहेकाले दोस्रो चौमासिक तलबभत्ता तथा ससर्त अनुदान रकम रोक्का गरिएको गाउँपालिकाले बताएको छ । प्रक्रिया र सर्त पूरा गरेपछि चौमासिक तलबभत्ता तथा ससर्त अनुदान रकम फुकुवा गरिनेछ ।