कालीकोट– मौलिकता जोगाउदै आएको कालीकोटको शान्नि त्रिवेणी गाउँपालिकाको मुुम्रागाउँको पहिचान गुम्ने भएको छ । प्रायः एकै शैलीका शिला पत्थरले छाएका घरमा गाउँपालिकाले खरमुक्त अभियानको बहानामा जस्तापाताले छाइने भएपछि मौलिकताको नामेटै हुने भएको हो ।
यसले गर्दा धेरै गाउँघरबा प्राचीन बस्तीको मौलिकता नासिइने अवस्थामा पुगेका छन् । सरकारले जनता आवास कार्यक्रमअन्तर्गत देशैभर सुरु गरेको यो कार्यक्रममा स्थानीय निकायले पनि भरथेग गरेपछि खरको छानामुक्त अभियान चलिरहेको छ । यही अभियानका कारण कालीकोटका प्राचीन रीतिरिवाज, धार्मिक, सांस्कृतिक र मौलिकता जोगाउँदै आइरहेका बस्ती उजाड बनेका छन् ।
आफ्नै शैली र स्थानीय शिला पत्थरले सजिएका मुम्रागाउँ, पारिवन, तिलागुफा वडा नम्बर ४ का काठले छाएका एकै शैलीका बस्ती, रास्कोटका सिप्टी विशालीका सुन्दर बस्ती उजाडिँदै छन् ।
‘ग्रामीण क्षेत्रमा खरको छानो हुँदा आगलागी हुने खतरा रहेकाले स्थानीय सरकारले खरमुक्त अभियान सञ्चालन गरे पनि खरले छाएका घरमा मात्र जस्तापाता लगाउनुपर्ने हो’, स्थानीय वृद्ध पदमनाथ योगीले भने, पत्थरले छाएका घरमा भूकम्पको डर भए पनि यसका फाइदा धेरै छन् ।’
पत्थर पुस्तौँसम्म रहने र गर्मीयाममा शितल दिने, मौलिकतालाई बचाउन काम गरेको उनको दाबी छ । पत्थरको प्रयोग भएको ठाउँमा जस्तापाता हालिँदा प्राचीन मौलिकता हराउने आशंका बढेको योगी सुनाउँछन् ।
पत्थरले छाएका एकै शैलीको सुन्दर मुम्रा
गाउँको शिरमै पश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक स्थल बडिमालिका मन्दिरको शिर, त्रिवेणी पाटन, उपिँयाडाँडा, घना जंगल र गाउँको फेदीमा शान्ति घाटको नदी बीचमा पर्ने मुम्रा गाउँ हेर्दा सुन्दर र चिटिक्क परेको छ । यो गाउँ परम्परागत शैलीमा पत्थरले छाएका घरले अझ लोभलाग्दो छ ।
कालीकोटका अधिकांश स्थानीय सरकारले खरको छानामुक्त अभियान सञ्चालन गरेपछि पुराना एकै शैलीका शिला पत्थरले छाएका घरले गर्दा कर्णालीको पुरानो प्राचीन कालको मौलिकता जोगाएको छ ।
पत्थरको खानीका रूपमा चिनिएको मुम्रागाउँ शान्नि त्रिवेणी गाउँपालिकाको वडा नम्बर ८ र ९ मा पर्छ । यहाँबाट जिल्लाका विभिन्न स्थानका मानिसले पत्थर किनेर लैजाने गर्छन् ।
नयाँ पिँढीले मौलिकता जोगाउन दिएन
नयाँ युवा पिँढीका कारण यहाँका धार्मिक, सांस्कृतिक र मौलिक परम्परा जोगाउन नसकिएको वडा सरकारले जनाएको छ । वडाध्यक्ष दुर्गबहादुर केसीका अनुसार खरको छानामुक्त अभियान सरकारले निःशुल्क सञ्चालन गर्छ भनेपछि स्थानीयको लोभका कारण मुम्राको मौलिकता जोगाउन नसकिएको हो ।
उनले भने, ‘अनुदान भनेपछि अहिले मान्छेले सबै बिर्सिन्छन् । निःशुल्क जस्तापाता पाउने भएपछि प्राचीनकालदेखि घरमा छाइँदै आएको पत्थर हटाएर जस्तापाताले राख्न थालेका छन् ।’
खरको छानामुक्त अभियान गाउँपालिकामा सञ्चालनमा भए पनि यो बस्तीमा नराख्नेबारे छलफल भएको थिएको थियो । तर, स्थानीयको विरोधपछि जस्तापाता दिनुपरेको हो ।