close

किर्ते अभियोगमा वडाध्यक्ष र सचिव प्रहरी हिरासतमा 

किर्ते अभियोगमा वडाध्यक्ष र सचिव प्रहरी हिरासतमा 

Trulli
ADVERTISEMENT

म्याग्दी– झुटो विवरण पेस गरेर नाबालक परिचयपत्र बनाउन खोज्नेलाई सघाएको आरोप लागेका म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ३ मुनाका वडाध्यक्ष पुर्म पुन र सचिव शिलु आले मगरले प्रहरीमा आत्मसर्मपण गरेका छन् । 


नक्कली छोरीको जन्मदर्ता गरेकी सचिव आले र सिफारिस गरेका वडाध्यक्ष पुनविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । बुधबार आफंै प्रहरी कार्यालयमा आएका पुन र आलेलाई बिहीबार म्याग्दी जिल्ला अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए । 


उनका अनुसार दुवै जना प्रहरी हिरासतमा छन् । अर्कैको छोरीलाई आफ्नो छोरी भएको नक्कली कागजात बनाएर नाबालक परिचयपत्र बनाउन खोज्ने धवलागिरि गाउँपालिका वडा नम्बर ३ का ५५ वर्षीय रेशमबहादुर भण्डारीलाई ९ फागुन २०७७ मा प्रहरीले पक्राउ गरेको थियो । 


दीपककी १५ वर्षीया छोरी दिवा भण्डारीलाई आफ्नो छोरी भएको दाबी गर्दै नाबालक परिचयपत्र बनाउन रेशमबहादुरले प्रशासनमा पेस गरेको जन्मदर्तामा सचिव आले र सिफारिसमा अध्यक्ष पुनको हस्ताक्षर थियो ।

 

भण्डारीविरुद्ध झुटा विवरण पेस गरेर लिखतसम्बन्धी कसुर गरेको अभियोगमा छानबिन गर्ने क्रममा वडाध्यक्ष र सचिव अनुसन्धानमा परेका हुन् । रेशमबहादुरले दिवालाई विदेश (जापान) पठाउन नाबालक परिचयपत्र बनाउन लागेको बताएका छन् । १६ वर्षभन्दा कम उमेरका व्यक्ति विदेश जान नाबालक परिचयपत्र बनाउनुपर्छ । 

 

रेशमले दिवाको नाबालक परिचयपत्र बनाउन ८ फागुनमा प्रशासनमा कागजात पेस गरेका थिए । रेशमले पेस गरेका कागजात शंकास्पद देखिएपछि अनुसन्धानका लागि प्रशासनले प्रहरीमा पठाएको थियो ।