close

बुटवल, तिलोत्तमा, सिद्धार्थनगर गाभेर महानगर बनाउने तयारी  

बुटवल, तिलोत्तमा, सिद्धार्थनगर गाभेर महानगर बनाउने तयारी  

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको आधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरे । ७ माघ २०७४ मा तत्कालीन प्रतिनिधिसभा सदस्यको रूपमा शिलन्यास भएको भवनको अर्थमन्त्रीको रूपमा उनले उद्घाटन गरेका हुन् ।

 

८ बिघा १४ कठ्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरको ४ तले भवन निर्माण भएको हो । भवनमा करिब १ सय २० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन् । 

 

अपांगतामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ । ८ करोड ७९ लाख रुपैयाँ लागत अनुमानको भवन निर्माण सम्झौता ६ करोड ४२ लाख रुपैयाँको थियो । 

 

अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्ने गरी तिलोत्तमा नगरपालिकाले ‘प्राइमलोकेसन’ मा भवन निर्माण गरेको उल्लेख गरे । तिलोत्तमा रूपन्देहीकै केन्द्र भागमा रहेकाले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायत पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने अर्थमन्त्री पौडेलले जानकारी दिए ।

 

अर्को स्थानीय तहको निर्वाचनसम्म यो क्षेत्र महानगरको रूपमा विकास हुने उनको भनाइ छ । तिलोत्तमाले जनताको हित र विकासलाई ध्यान दिएर काम गरेको भन्दै नगरप्रमुख, उप–प्रमुखलगायत जनप्रतिनिधिको उनले प्रशंसा गरे ।

 

तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायत पूर्वाधारले यहाँको विकासमा महत्त्वपूर्ण टेवा पु¥याउने विश्वास उनको छ ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री छविलाल विश्वकर्मा, प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरी, प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, रमा अर्याल, बुटवल उपमहानगरका उप–प्रमुख गोमादेवी आचार्य, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधव भण्डारीलगायतले बोलेका थिए । 

 

नगर प्रमुख वासुदेव घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा उप–प्रमुख जगेश्वरदेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेललगायत उपस्थित थिए । त्यस अवसरमा अर्थमन्त्री पौडेलले नगरपालिकाले सञ्चालनमा ल्याएको डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरे ।